२५ जेठ २०८३, सोमबार

डेंगुको सङ्क्रमणबाट जोगिन महानगरको आग्रह

असोज १५, २०८२
काठमाडौं
डेंगुको सङ्क्रमणबाट जोगिन महानगरको आग्रह
फाइल फोटो

काठमाडौं महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन आग्रह गरेको छ ।

डेंगु रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट गरेको छ ।

महानगरपालिकाले मातहतका सबै वडा र समुदायस्तरमा सञ्चालित लामखुट्टे तथा लार्भा नष्ट गर्ने काममा सम्बद्ध स्वास्थ्यकर्मी र महिला स्वयमसेविकासहित स्थानीयसवासीको समेत सहभागिता रहेको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिए ।

उनका अनुसार गत वर्षहरूका सङ्क्रमणको विश्लेषणका आधारमा डेंगुको सङ्क्रमण दर घटबढ हुने गरेको अवस्थालाई दृष्टिगत गरी नगरवासीको मृत्युदर न्यूनीकरण तथा नियन्त्रणका पक्षमा अधिकतम प्रयास भइरहेको ।

महानगरमा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एक जना महिलामा यो सङ्क्रमण देखिएको थियो । सामान्यतया बर्खा याममा देखिने यो रोगको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको कामनपाले जनाएको छ ।

डेंगु सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । नेपालमा २०६१ सालदेखि डेंगुको समस्या देखिन थालेको हो । कामनपाभित्र सन् २०२२ मा दुई हजार नौ सय ७३ जनामा डेंगु सङ्क्रमण देखिएको थियो ।

यस्तै सन् २०२३ मा ६४३ जनामा, २०२४ मा दुई हजार ८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २४८ जनामा डेंगु सङ्क्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

पानी जम्ने सडक तथा सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायतका स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले त्यसतर्फ सावधानी अपनाई डेंगु सङ्क्रमणबाट जोगिन सबैसँग अनुरोध गरिएको छ ।

आम नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि काठमाडौं महानगरपालिकाले ११८० नम्बरको टेलिफोन निःशुल्क रूपमा सञ्चालनमा ल्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्