२८ जेठ २०८३, बिहीबार
नीतिगत परिमार्जन

राष्ट्र बैंकको शेयर बजारमैत्री नीति– दीर्घकालमा कस्तो पर्ला प्रभाव ?

असोज २३, २०८२
काठमाडौं
राष्ट्र बैंकको शेयर बजारमैत्री नीति– दीर्घकालमा कस्तो पर्ला प्रभाव ?

नेपाल राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तनको प्रभाव शेयर बजारमा देखिएको छ ।

राष्ट्र बैंकले बुधबार गरेको नीतिगत परिवर्तनको प्रभावस्वरूप बिहीबार ३ मिनेटमै नेप्सेमा सकारात्मक सर्किट लाग्ने अवस्था आएको हो । ११ बजेर ३ मिनेट जाँदा बजार ४ प्रतिशतले बढेर २० मिनेटका लागि सकारात्मक सर्किट लागेको थियो ।

यद्यपि, त्यो हिसाबको वृद्धि दिनभर टिक्न भने सकेन । कारोबार बन्द हुँदा वृद्धिको अंक २२ दशमलव ५९ मा सीमित भयो । यसक्रममा ५ अर्ब २७ करोड बराबरको शेयर किनबेच भयो ।

बुधबार राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमालाई खारेज गरिदिएको थियो । जसअनुसार अब व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरूबाट जति पनि शेयर धितो राखेर कर्जा लिन सक्नेछन् ।

यसअघि यस्तो शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोड कायम गरिएको थियो । 

शेयर धितो राखेर जति पनि कर्जा लिन पाउने भएपछि लगानीकर्ताहरू निकै उत्साहित भएका छन्, जसको प्रभाव शेयर बजारमा देखिइरहेको छ । 

लामो समयदेखि शेयर बजारका लगानीकर्ताहरूले शेयर धितो कर्जाको सीमा हटाउनका लागि लबिङ गरिरहेका थिए, जुन बुधबार राष्ट्र बैंकले खारेज गरिदिएपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिने शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन् । राष्ट्र बैंकले शेयर बजारलाई चलायमान बनाउने प्रयास गरेको उनको भनाइ छ । 

शेयर धितो कर्जाको सीमा हटेपछि बैंकहरूमा यस्तो कर्जाको माग बढ्ने एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन् । कुनै पनि सीमा नरहेपछि जोखिम बहन गर्न सक्ने क्षमता हेरेर बैंकले लगानी गर्नुपर्ने उनको भनाइ छ । 

‘अहिलेसम्मको शेयर धितो कर्जाको प्रवाह अब अझै बढ्ने देखिन्छ । कुनै पनि सीमा नरहेपछि बैंकहरूमा यस्तो कर्जाको माग बढ्छ’, उनले भने, ‘शेयर धितो कर्जाको लगानी छोटो अवधिको र रिकभरीमा पनि समस्या कम हुन्छ । तर, यो भन्दैमा जति पनि लगानी गर्ने कुरा हुँदैन । बैंकहरूले आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता हेरेर लगानी गर्नुपर्छ ।’ 

क्षणिक समयका लागि बजारलाई हराभरा देखाउन मात्रै शेयर बजारमा लगानी केन्द्रित गरिएको अर्थशास्त्री डा. डिल्लीराज खनाल बताउँछन् । उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्नुको साटो शेयर बजारका सीमित खेलाडीहरूलाई फाइदा पुग्ने नीति ल्याइएको उनको आरोप छ ।

‘अहिलेको अर्थतन्त्रको अवस्था हेरेर चाल्नुपर्ने कदम चालिएको छैन । राष्ट्र बैंकले शेयर बजारका सीमित खेलाडीहरूलाई फाइदा पुग्ने गरी नीति ल्याइदिएको छ’, डा. खनालले भने, ‘शेयर बजारकेन्द्रित लगानी गरेर क्षणिकका लागि फाइदा भएपछि दीर्घकालीन रूपमा यसले डुबाउँछ ।’

शेयर धितो कर्जाको सीमाका साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर कारोबार गर्न सहजीकरण गरिदिएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले १ वर्ष वा सोभन्दा बढी अवधिका लागि मात्रै शेयर वा ऋणपत्रमा लगानी गर्न पाइरहेका थिए ।

अब ६ महिना वा सोभन्दा बढी अवधिका लागि शेयर र ऋणपत्रको दोस्रो बजारमा पनि लगानी गर्न सक्ने भएका छन् । यसका साथै यस्तो लगानीमा बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिक पुँजीको २० प्रतिशत मात्रै बेच्न पाउने व्यवस्था समेत हटेको छ । अब यसरी गरेको लगानी ६ महिना भएपछि एकसाथ जति पनि बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।

अर्थात्, बैंक तथा वित्तीय संस्थाहरूले गरेको लगानी ६ महिनापछि शत प्रतिशत पनि बिक्री गर्न पाउनेछन् । अहिलेसम्म बैंकहरूले १ वर्ष पुगेपछि प्राथमिक पुँजीको २० प्रतिशत मात्रै बेच्न पाइरहेका थिए । 

बैंकहरूले शेयर वा डिबेञ्चर खरिद गर्न पाएपछि बिक्री गर्न पनि पाउनुपर्ने भएकाले राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तन सकारात्मक रहेको पूर्व बैंकर भुवन दाहाल बताउँछन् । राष्ट्र बैंकले गरेका ३ संशोधनले बैंकहरूको नाफालाई बढाउने उनको भनाइ छ । 

‘बैंकहरूले किन्न पाएपछि बिक्री पनि गर्न पाउनुपर्छ । यसमा यति प्रतिशत मात्रै भन्ने हुनु हुँदैन । यो विषय बैंकहरूमा नै छोडिदिनुपर्छ जस्तो लाग्छ । बैंकहरूको लगानी उत्पादनशील क्षेत्रमा भएन भनिरहेका छौं । बैंकहरूले लङटर्म लगानी गर्नुपर्छ’, उनले भने, ‘अहिले राष्ट्र बैंकले गरेको संशोधनले बैंकहरूको लगानी बढाउनुका साथै नाफालाई पनि बढाउनमा ठूलो भूमिका खेल्छ ।’

salt training

कमेन्ट गर्नुहोस्