
रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादसहित दुई जना घुससहित पक्राउ परेका छन् ।
शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विरगंज महानगरपालिका-१३ स्थित होटलबाट उनीहरूलाई साढे चार लाख घुससहित पक्राउ गरेको हो ।
आयोगका अनुसार शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा टंगालस्थित आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रधानाध्यापक प्रसादले बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत सो घुस रकम लिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।