२७ जेठ २०८३, बुधबार

आगामी निर्वाचनलाई अवसरको रूपमा लिन राजनीतिक दललाई जेनजी अगुवाको आग्रह

असोज २५, २०८२
काठमाडौं
आगामी निर्वाचनलाई अवसरको रूपमा लिन राजनीतिक दललाई जेनजी अगुवाको आग्रह

जेनजी अगुवा रक्षा बमले आगामी निर्वाचनलाई प्रतिस्पर्धा र अवसरको रूपमा लिन आग्रह गरेकी छिन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत आफ्ना विचार, दृष्टि र कार्यनीतिका माध्यमबाट जनतासमक्ष आउन राजनीतिक दललाई आग्रह गरेकी हुन् ।

'लोकतन्त्र निरन्तर सुधार र पुनर्जीवनको प्रक्रिया हो । जनताको असन्तोष, युवापुस्ताको विद्रोह र परिवर्तनको मागलाई संस्थागत रूप दिन सक्नु लोकतन्त्रकै सफलता हो । त्यसैले, हामी सम्पूर्ण राजनीतिक दलहरूलाई आगामी निर्वाचनलाई प्रतिस्पर्धा र अवसरको रूपमा लिन आग्रह गर्दछौं । आफ्ना विचार, दृष्टि र कार्यनीतिहरूका माध्यमबाट जनतासमक्ष आउनुहोस् । निर्वाचन जनताको निर्णायक मञ्च हो । निर्वाचनबाटै पुराना गल्तीहरूको आत्मसमीक्षा र नयाँ प्रतिबद्धताको प्रस्तुति सम्भव हुन्छ,' उनले भनेकी छिन् ।​​

जेनजी विद्रोहले कुनै दललाई अस्वीकार नगरेको पनि उनले स्पष्ट पारेकी छिन् ।

'जेनजी विद्रोहले कुनै दललाई अस्वीकार गरेको होइन, छैन । यस विद्रोहले दलभित्र विकसित भइरहेको जनताको आवाज बेवास्ता गर्ने प्रवृत्तिलाई अस्वीकार गरेको हो । हामी राजनीतिक दलहरूलाई वैचारिक प्रतिस्पर्धा र जनसेवामूलक प्रतिस्पर्धाको बाटोमा फर्किन आग्रह गर्दछौं । निर्वाचन केवल सत्ता हस्तान्तरणको प्रक्रिया होइन । राजनीतिक दलका लागि यो नयाँ पुस्तासँग सम्झौता गर्ने अवसर हो । जनताको विश्वास पुनः प्राप्त गर्ने माध्यम हो । साथै, देशको राजनीतिक दिशा पुनर्संरचना गर्ने क्षण पनि हो,' उनले भनेकी छिन् ।

जेनजीहरू बहुदलीय लोकतान्त्रिक व्यवस्थाका पक्षधर भएकाले विभिन्न राजनीतिक दलहरूले निर्वाचनमार्फत सार्वभौम जनताबाट म्यान्डेट लिनु प्रणालीको सुन्दर पक्ष रहेको उनले भनेकी छिन् ।

'हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थाका पक्षधर हौं। विभिन्न राजनीतिक दलहरूले निर्वाचनमार्फत सार्वभौम जनताबाट म्यान्डेट लिनु हाम्रो प्रणालीको सुन्दर पक्ष हो । यही नै लोकतन्त्रको आत्मा हो । तर, विगतका संसद् र सरकारहरूले जनताको आस्था गुमाए,' उनले भनेकी छिन् ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्