
सबैभन्दा ठूलो विद्युतीय सवारी साधन निर्माता चिनियाँ कम्पनी बीवाईडीले १ करोड ४० लाखको आफ्नो ऐतिहासिक उत्पादनको कोशेढुंगा पार गरेको छ ।
चिनियाँ कम्पनी बीवाईडीले आफ्नो उत्पादनको १ करोड ४० लाखाको कोशेढुङ्गा ब्राजिलको कामाकारीमा रहेको कारखानाबाट हासिल गरेको हो ।
सन् २०२४ को नोभेम्बरमा १ करोड ईभीको आँकडा पार गरेको बीवाईडीले एक वर्षभन्दा कम समयमै यो नयाँ रेकर्ड कायम गरेको हो । यसले कम्पनीको विश्वव्यापी माग र प्रतिस्पधी बजारलाई चुनौती दिएको छ ।
बीवाईडीको कोशेढुङ्गाको आँकडा ‘सङ प्रो हाइब्रिड एसयूभी’ बाट भएको हो । सङ प्रो हाइब्रिड एसयूभी जुन दक्षिण अमेरिकी बजारका लागि बीवाईडीले ल्याएको पहिलो ‘सुपर–फ्लेक्सिबल’ हाइब्रिड मोडल हो ।
सीओपी ३० विशेष संस्करण को रूपमा उत्पादित यो गाडीमा बीवाईडीको उन्नत हाइब्रिड प्रविधि समावेश छ ।

इन्धन दक्षता र कार्यक्षमता वृद्धि गर्दै स्थानीय सडक र इन्धनको अवस्थासँग मेल खाने यो मोडल हस्तान्तरणले दक्षिण अमेरिकामा दिगो यातायातको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
सङ प्रो एसयूभीलाई औपचारिक रूपमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा को नाममा दर्ता गरी हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण समारोहमा उपराष्ट्रपति, ब्राजिलस्थित चिनियाँ राजदूत, बाहिया प्रान्तका गभर्नर र बीवाईडीका अध्यक्ष लगायत उच्चस्तरीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
यस हस्तान्तरणले ब्राजिलसँग बीवाईडीको गहिरिँदो सम्बन्ध र ल्याटिन अमेरिकामा स्वच्छ ऊर्जा अपनाउने प्रयासलाई प्रतीकात्मक रूपमा उजागर गरेको कम्पनीले जनाएको छ ।