१९ असार २०८३, शुक्रबार
लुटपाट र आगजनी प्रकरण

भदौ २४ को विध्‍वंसमा संलग्नमाथि अघि बढ्यो मुद्दा– ८८ लाख बिगो, १० वर्ष कैद !

असोज २९, २०८२
काठमाडौं
भदौ २४ को विध्‍वंसमा संलग्नमाथि अघि बढ्यो मुद्दा– ८८ लाख बिगो, १० वर्ष कैद !

जेनजी आन्दोलनका क्रममा व्यक्तिको निजी तथा सार्वजनिक सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीसम्बन्धी घटनामा पहिलोपटक मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले दुई फरक घटनामा पक्राउ गरेका प्रतिवादीमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा भएको लुटपाट तथा ललितपुरकै हरिसिद्धि प्रहरी प्रभागमा भएको आगजनी र लुटपाटको कसुरमा मुद्दा दायर गरिएको हो ।

प्रहरी प्रभाग हरिसिद्धि ललितपुरमा लुटपाट, चोरी, आगजनीपश्चात सुरक्षाकर्मीका हातहतियार र गोली गठ्ठा समेत लुटेको आरोपमा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ उदयपुर घर भएका २६ वर्षीय दीपक राईविरुद्ध बुधवार मुद्दा दर्ता भएको छ ।

उनले आपराधिक उपद्रव,  डाँका चोरी तथा एकीकृत कसुर गरेको आरोपमा अभियोग पत्रमा लगाइएको छ ।

राईलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको थियो । उनी बस्ने गरेको कोठा खानतलासी गर्दा पेस्तोल २ थान, सोमा लाग्ने म्यागेजिन २ थान र गोली १३ राउन्ड प्रहरीले बरामद गरेको थियो ।

प्रहरी प्रभाग हरिसिद्धिमा गरिएको आगजनी

प्रहरी प्रतिवेदनका आधारमा उनीविरुद्ध ८८ लाख ४३ हजार २२० रुपैयाँ बराबरको बिगो कायम गरिएको छ ।

प्रहरी भवनलगायत पूर्णरूपमा क्षतिग्रस्त भएको भवनको ७५ लाख, एक थान पल्सर बाइकको २ लाख १० हजार, ह्यान्ड सेट (वाकीटकी) को २ लाख ८० हजार र सुरक्षाकर्मीको थप पोशाक सहितका अन्य जिन्सी सामानहरूको ८ लाख ५२ हजार ४ सय रुपैयाँ बिगो कायम गरिएको छ ।

साथै, १० वर्षभन्दा बढी कैद सजाय समेत माग गरिएको छ ।

राईलाई यसअघि पनि अभद्र व्यवहार मुद्दामा २०७९ माघ २६ गते ललितपुर जिल्ला अदालतले दोषी ठहर गरी २० दिन कैद र २ सय रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला गरेको थियो । त्यसलाई समेत आधार मानेर पटकेअन्तर्गत थप सजाय माग दाबी लिइएको छ ।

घटनासँग सम्बन्धित भिडियो, फोटो, सीसीटिभी फुटेजलगायतलाई प्रमाणको रूपमा पेश गरिएको छ । त्यसैगरी, प्रतिवादीबाट बरामद भएका हतियारलाई पनि प्रमाणको रूपमा पेश गरिएको छ ।

***

त्यसैगरी, नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको घरमा भएको आगजनी तथा लुटपाटको कसुरमा पक्राउ गरिएका अर्का १ प्रतिवादीसहित चारजना विरुद्ध बुधवार अर्को मुद्दा दायर गरिएको छ ।

हितेन्द्रकी श्रीमती करुणा शाक्यले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले गरेको अनुसन्धानबमोजिम जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

भारतको बिहार राज्यको पश्चिमी चम्पारण घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगर स्थित अटो एक्स नामक गाडी ग्यारेजमा काम गर्ने १८ वर्षीय सेराज आलम, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर १ खहरे घर भई बुद्धनगर बस्ने २५ वर्षीय फुर्साङ लामा, बाराको जीतपुर सिमरा उपमहानगरपालिका २३ का २२ वर्षीय सहजाद मिया मन्सुरी र रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ का २८ वर्षीय मनिष सुनारविरुद्ध मुद्दा दायर भएको हो ।

भदौ २४ गते झण्डै डेढ बजेको समयमा जेन जी आन्दोलनकारीहरूको मासमा आएका तीसहित नयाँ व्यक्तिहरूले अनधिकृत रूपमा प्रवेश गरी लुटपाट गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको हो ।

शाक्यको उक्त घरको ग्राउन्ड फ्लोरमा रेस्टलेस नामक एनजीओ सञ्चालनमा थियो ।

दोस्रो तल्लामा हितेन्द्रको परिवार बसोबास गर्दै आएको थियो । काम विशेषले घरबाहिर गएको अवस्थामा अनधिकृत व्यक्तिहरू आई लुटपाट गरेको जाहेरीमा उल्लेख छ ।

झण्डै ५० लाख ९२ हजार रुपैयाँ बमोजिमका विभिन्न सरसामानहरू चोरी तथा लुटपाट गरेको भन्दै कैद सजाय तथा बिगोबमोजिम क्षतिपूर्तिको मागदाबी गरिएको छ ।

असोज ३ गते प्रहरीले शुरूमा चारैजना प्रतिवादीलाई पक्राउ गरे पनि प्रतिवादीहरू फुर्साङ लामा, मनिष सुनार र सहजाद मियाँ मन्सुरीलाई जिम्मा जमानीमा छाडिएको थियो । तर, प्रतिवादी सेराज आलमलाई भने प्रहरी हिरासतमै राखिएको थियो ।

'मेरो छोरा बस्ने कोठाभित्रको सेफमा राखिएको छोरी आरुषा शाक्यले विदेशबाट आउँदा छाडी गएको अमेरिकन डलर १०२, फिलिपिन्स पेसे ५, मेरो श्रीमानले प्राप्त गर्नुभएको दीर्घसेवा पदक तथा अवकाश पदक लुटेर लगेको तथा मेरो ससुराबाले प्राप्त गर्नुभएको शुभ राज्य रोहन पदक चोरी गरिएको छ,' शाक्यले दिएको जाहेरीमा उल्लेख छ ।

हितेन्द्रको घर

त्यसबाहेक १ लाख ९४ हजार मूल्य बराबरको २ थान मोबाइल, २ लाख १३ हजार रुपैयाँको रुबीजडित सुनले बेरिएको १ तोलाको ग्यार्नेट माला, चाँदीको सिक्का, विभिन्न किसिमका पुराना घडीहरू समेत लुटेको जाहेरीमा उल्लेख छ ।

तामाको पैसासहितको सेफ लिई गएको, विभिन्न कोठामा राखिएका सोलार, वासिङ मशिन, सोनी टीभी २ थान, फ्रिज, माइक्रो ओभन, एयर फ्रायर, ओभन, युरोगार्ड, डाइनिङ टेबल र मेच ६ वटा, कार्पेट ५ वटा, सोफा सेट ३ थान, एक्वेरियम, काठको दराज ६ थान, ड्रयर ४ थान, कम्प्युटर दराज र मेच २ सेट, कपडासहितको सुटकेस ८ वटा, कम्प्युटर २ थान, ल्यापटप, ग्यास सिलिन्डर ३, गाडी २ वटा, बेड विस्तरासहितको खाट ४ थान, टिभी क्याबिनेट दराज सबै लुटिएको जाहेरीमा उल्लेख छ ।

दराजभित्र रहेको सुनको सिक्री लकेटसहित ३ तोला, पन्ना र हीराले घेरिएको सुनको औँठी १ थान, रुबी र हिरा भएको औँठी १ थान, सुनमा हिराजडित टप १ थान लुटेको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी, पानस चाँदीको १०० तोलाको १ थान, करुवा ठूलो ३० तोला, करुवा सानो २० तोला, चाँदीको थाल २० तोला, विभिन्न चाँदीको सिक्का ४ थानसहितका सामान लुटिएको अभियोगपत्रमा उल्लेख छ ।

धेरैजसो सामानहरू डाँका चोरी गरी लगेको र अन्य कोठामा रहेका सम्पूर्ण सामानहरू चोरी लगेको, भान्छा कोठामा आगो लगाई सम्पूर्ण सामानहरू नष्‍ट गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रहरीले प्रतिवादी सेराज आलम सुत्ने गरेको खाटपछाडि चेपमा कुच्चिएको अवस्थामा रहेको चाँदीको करुवा १ थान, प्रतिवादी फुर्साङ लामा सुत्ने खाटको सिरानीमुनिबाट बरामद चाँदीको चुरा ३ थान, घडी १ थानसहितलाई दसी प्रमाणका रूपमा पेश गरेको छ ।

बिगो भराई क्षतिपूर्ति समेत दिलाइदिन माग गर्दै प्रतिवादीहरूलाई जरिवानासहित १० वर्ष वा सोभन्दा बढी कैद सजाय मागदाबी गरेर मुद्दा दायर गरिएको हो ।

ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाजंग कार्कीका अनुसार आलम प्रतिवादी रहेको मुद्दामा बुधबार बयान भए पनि बिहीबारबाट मात्र थुनछेक सुनुवाइ हुनेछ ।

त्यसैगरी, दीपक राई प्रतिवादी रहेको मुद्दा बुधवार दायर भए पनि बयान र सुनुवाइ दुवै बिहीवार हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्