
सशस्त्र प्रहरी बलमा नेतृत्व फेरिएसँग नयाँ अभ्यासको थालनी हुन लागेको छ ।
विशेषगरी ९ वटा मुख्य नाकामा सशस्त्रका सादा पोशाकका कर्मचारी खटाउने गरी कार्यविधि बनिरहेको हो ।
कार्यविधि तयार हुनेवित्तिकै गृह मन्त्रालयको सहमति लिएर कर्मचारी खटाउने तयारी सशस्त्र प्रहरी मुख्यालयको छ ।
बोर्डर इन्टरयाक्सन टीम (बीआईटी) को नाम दिएर मुख्यालयले सादा पोशाकमा प्रहरी खटाउन लागेको हो ।
झापाको काकडभिट्टा, इलामको पशुपतिनगर, मोरङको रानी–जोगवनी नाका, पर्साको वीरगंज, रुपन्देहीको सुनौली, भैरहवाको बेहलिया, बाँकेको रुपेडिया, कञ्चनपुरको गड्डाचौकी, रसुवाको टिमुरे र मुस्ताङको कोरला नाकामा सादा पोशाकमा सशस्त्र प्रहरी खटाउने तयारी भइरहेको छ । बीआईटी टीममा प्रत्येक नाकामा सई/असईमध्ये जुनियर अधिकृतको कमान्डमा चारदेखि पाँचजना खटाउने गरी कार्यविधि निर्माण भइरहेको मुख्यालयले जनाएको छ ।
नेपाल–भारत खुला सीमामा हुने तस्करी, राजस्व चुहावट, मानव बेचबिखन तथा सीमापार अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन बीआईटी परिचालन गर्ने तयारी गरेको जानकारी सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले दिए ।
सशस्त्र प्रहरी मुख्यालयले बिहीबार आयोजित कार्यक्रममै महानिरीक्षक पौडेलले विशेष टोलीमार्फत सीमा सुरक्षालाई सूचना–आधारित, जनमैत्री र समुदायसँग समन्वयात्मक बनाउने लक्ष्य राखिएको खुलासा गरेका थिए ।
नेपाल–भारत खुला सीमा सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धका दृष्टिले सहज भए पनि तस्करी, अवैध व्यापार, मानव बेचबिखन, लागूऔषध कारोबार तथा अन्य संगठित अपराधका कारण सुरक्षा निकायका लागि चुनौतीपूर्ण बन्दै आएको छ ।
‘परम्परागत गस्ती र चेकपोस्ट केन्द्रित प्रणालीले अपेक्षित परिणाम दिन नसकेको निष्कर्षपछि सशस्त्र प्रहरीले बीआईटी अवधारणा अघि सारेको हो,’ कार्यविधि बनाउँदै गरेका एक उच्च अधिकृतले लोकान्तरसँग, ‘बीआईटीले सीमामा सशस्त्रकै अन्य कर्मचारी र तस्करबीच हुने सेटिङको समेत सूचना राखेर केन्द्रलाई ब्रिफिङ गर्छ ।’
ती अधिकृतका अनुसार सीमामा पोशाकसहित हतियारधारी सशस्त्र प्रहरी खटिँदा तस्करहरू लुक्ने र झडप हुने जोखिम अहिले पनि छ । बीआईटी खटिएपछि तस्करको सूचना स्थानीय तवरबाटै लिने र कारबाहीमा उत्रिँदा माथिल्लो तहमै जानकारी गराउनुपर्ने छ ।
बीआईटीलाई पहिचान खुल्ने विशेष पोशाक र परिचय प्रणालीको व्यवस्था गरिनेछ ।
यो टोलीलाई सीमावर्ती समुदायसँग प्रत्यक्ष सम्पर्क राख्ने, स्थानीय सूचना संकलन गर्ने, शंकास्पद गतिविधिमाथि निगरानी गर्ने तथा भारतीय समकक्षी निकायसँग समन्वय बढाउने जिम्मेवारी दिइनेछ ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार बीआईटीले गस्तीभन्दा पनि स्थानीयसँग सम्बन्ध विस्तारसँगै अवैध क्रियाकलाप एवं गतिविधिका सूचना संकलन गर्नेछन् ।
सशस्त्र प्रहरी बलले पहिलोपटक यो अवधारणाअनुसार काम गर्न थालेपनि छिमेकी मुलुक भारतले पहिल्यैदेखि यसरी नै सादा पोशाकमा समेत टोली खटाउँदै आएको थियो ।
पोशाकमा देखिने गरी सीमा सुरक्षा बल (एसएसबी) परिचालित भएपनि एसएसबीकै सादा पोशाकको टोलीले समुदायकेन्द्रित काम गर्दै आएका छन् ।
‘सीमा क्षेत्रमा हुने अधिकांश तस्करी स्थानीय सूचना र सञ्जालमा आधारित हुने भएकाले समुदायसँग प्रत्यक्ष सम्पर्कले तस्करी, राजस्व चुहावट, मानव बेचबिखन तथा लागूऔषध कारोबार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले भने, ‘सीमामा बीआईटी खटाउँदा सम्बन्धित भन्सार कार्यालय र स्थानीय तहलाई समेत उनीहरूको जिम्मेवारीका सम्बन्धमा जानकारी गराइन्छ ।’
बीआईटीमार्फत सीमावर्ती नागरिकहरूले सुरक्षा, आवतजावत, सीमा विवाद, तस्करी समूहको दबाबलगायतका विषयमा समेत सुक्ष्म निगरानी गरिन्छ ।
बीआईटी परिचालनले सुरक्षा निकाय र स्थानीय समुदायबीचको विश्वास तथा समन्वय बलियो बनाउने विश्वास सशस्त्र प्रहरी मुख्यालयको छ ।
बीआईटीलाई स्थानीयतहसँगको समन्वयमा विपद् व्यवस्थापन, उद्धार र राहत कार्यमा पनि परिचालन गरिने छ । विशेष गरी बाढी तथा डुबानको जोखिम रहेका सीमावर्ती क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी तत्काल सूचना संकलन र उद्धारमा टोलीको भूमिका रहने जानकारी मुख्यायलले दियो ।
बीआईटीको प्रभावकारिता र विश्वसनीयतामा यसको पारिचालन मोडल कस्तो हुन्छ भन्नेले विशेष अर्थ राख्ने देखिन्छ । बीआईटीलाई तालिम, आधुनिक प्रविधि, सूचना व्यवस्थापन प्रणाली र जवाफदेहिताबारे बुझाएर मात्रै खटनपटन गर्ने सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी सञ्जाल, राजनीतिक दबाब तथा स्रोत–साधनको अभाव पनि चुनौतीका रूपमा रहने देखिएको छ ।
योसँगै बीआईटीले नै तस्करका सूचना लिएर ‘मोलमलाई’ गर्ने चुनौती पनि छ । तर, सीमामा खटिने बीआईटी टोलीको नाम र दर्जासमेत सार्वजनिक गरेर परिचालित हुने हुँदा यो जोखिम कम हुने मुख्यालयको दाबी छ ।
बीआईटीको प्रभावकारी कार्यान्वयन हुनसके यसले तस्करी, राजस्व चुहावट, मानव बेचबिखन तथा सीमापार संगठित अपराध नियन्त्रणमा नयाँ उपलब्धि हासिल गर्न सक्ने देखिन्छ ।