
जलवायु परिवर्तनका कारण उत्पन्न तातो हावाको लहरले फ्रान्समा अत्याधिक बढेको गर्मीले पौडी खेल्ने क्रममा डुबेर ४० जनाको मृत्यु भएको छ । भीषण गर्मीबाट बच्न स्थानीय नदी, खोला, ताल, समुन्द्र तथा स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा दुर्घटनामा परेर डुबेर ४० जनाको मृत्यु भएको बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
गएको बुधबारदेखि फैलिएको तातो हावाको लहर फ्रान्स, बेलायत हुँदै युरोपभर फैलिएको छ । तातो हावाको लहरले फ्रान्सका केही ठाउँमा तापक्रम बढेर ४३ डिग्री सेल्सियससम्म पुगेको छ । फ्रान्सको बोर्दोमा ४१ दशमलव ९ डिग्री सेल्सियस, सेन्टेसमा ४२ डिग्री र शातोमेयाँमा ४३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
तातो हावाको तीव्र रूपमा फैलिएका कारण तापक्रम अझै बढ्ने सक्ने मौसमविद्ले चेतावनी दिएका छन् ।
तापक्रम बढ्दै गएपछि फ्रान्सका ५४ विभागमा रेर्ड अलर्ट जारी गरिएको छ । गर्मी अत्याधिक बढेपछि विद्यालयलगायत शैक्षिक संस्था बन्द गरिएका छन् भने सार्वजनिक रेल सेवा प्रभावित भएको छ ।
गर्मी धेरै बढेका कारण रेल निर्धारित समयभन्दा ढिलो सुचारु हुने र गति पनि घटाइएको फ्रान्सको रेल विभागले जनाएको छ । जसले गर्दा लाखौँ यात्रु प्रभावित भएका छन् । गर्मी अत्याधिक बढिरहँदा सन् २००३ को घटना दोहोरिन सक्ने चिन्ता बढेको छ । तातो हावाले लहरका कारण अत्याधिक गर्मी बढ्दा सन् २००३ मा फ्रान्समा मात्रै झण्डै १५ हजार मानिसको ज्यान गएको थियो ।
दक्षिण–पश्चिम फ्रान्सस्थित गोल्फेच आणविक ऊर्जा केन्द्रमा पनि अत्यधिक गर्मीको प्रत्यक्ष असर परेको छ। नदीमा पानीको तापक्रम कानुनी सीमाभन्दा माथि जाने जोखिम बढेपछि केन्द्रको दोस्रो रियाक्टर सोमबार राति बन्द गरिएको छ।
यसअघि पहिलो रियाक्टर मर्मतका लागि बन्द रहेकाले अहिले १ दशमलव ३ गिगावाट क्षमताका दुवै रियाक्टर बन्द भएसँगै ऊर्जा केन्द्र पूर्ण रूपमा ठप्प भएको छ।
फ्रान्सका धेरै ठाउँमा रेड अलर्ट कायम रहुञ्जेल दिउँसो १ बजेदेखि राति १० बजेसम्म खुला स्थानमा हुने निर्माण कार्य स्थगित गरिएको छ । श्रमिकहरूको सुरक्षाका लागि बिहान ५ बजेदेखि काम सुरु गर्न अनुमति दिइएको छ।
कृषि, सडक निर्माण, ढुवानी तथा अन्य बाहिरी क्षेत्रमा काम गर्ने कामदारहरूलाई पर्याप्त पानी पिउन, नियमित विश्राम लिन र प्रत्यक्ष घामबाट जोगिन निर्देशन दिइएको छ।
गर्मीको प्रभाव विद्यालयमा मात्र सीमित छैन। केही स्थानीय प्रशासनिक कार्यालयहरूले सेवा समय छोट्याएका छन् भने वृद्धाश्रम, अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कतामा राखिएको छ।
धेरै नगरपालिकाले ‘कुलिङ सेन्टर’ सञ्चालन गरेका छन्, जहाँ नागरिकहरूले अत्यधिक गर्मीबाट राहत पाउन सक्छन्। खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा बाहिरी सार्वजनिक गतिविधिहरू पनि स्थगित वा रद्द गरिएका छन्।
फ्रान्सको खेलकुद तथा युवा मन्त्री मारिना फेरारीका अनुसार गर्मीबाट राहत खोज्दै मानिसहरू सुरक्षाकर्मी नभएका नदी, ताल तथा जलाशयहरूमा पौडी खेल्न जाँदा दुर्घटनाहरू बढेका छन् । सरकारले असुरक्षित स्थानमा पौडी नखेल्न सर्वसाधारणलाई आग्रह गरे पनि पौडी खेल्न सकिने क्षेत्रहरुमा मानिसहरुको चाप बढेको छ । जसले गर्दा मानिसहरुको डुब्ने खतरा तथा जोखिमसँगै मृत्युदर बढाएको छ ।
तातो हावाको लहर फैलिएको एक हप्तापछि प्रधानमन्त्री सेबास्तियन लेकोर्नुले विभिन्न मन्त्रालयका प्रतिनिधिहरूसँग आपतकालीन बैठक आह्वान गरेका छन् । स्वास्थ्य, शिक्षा, ऊर्जा, यातायात तथा आन्तरिक मन्त्रालयका अधिकारीहरूलाई उच्च सतर्कतामा राखिएको छ भने स्थानीय प्रशासनलाई नागरिक सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गर्न निर्देशन दिइएको छ।
पश्चिमी युरोपका अधिकांश देशहरू अहिले गर्मीको मारमा छन् । विशेषज्ञहरूले सन् २०५० सम्म फ्रान्सको औसत तापक्रम करिब २।७ डिग्री सेल्सियसले बढ्न सक्ने चेतावनी दिएका छन्।
मौसम विभागले हालैको गर्मीको लहर कहिलेसम्म जारी रहने भन्ने निश्चित नभएको बताउँदै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
फ्रान्समा तातो हावाको लहरले उत्पन्न अत्याधिक गर्मीका कारण वर्षेनी झण्डै पाँच हजार चार सय जनाको मृत्यु हुने गरेको छ । गत वर्ष मात्रै अत्याधिक गर्मीका कारण पाँच हजार सात सय २२ जनाको मृत्यु भएको थियो ।