२४ जेठ २०८३, आइतबार

सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ प्रदर्शनमा

असोज ३१, २०८२
काठमाडौं
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ प्रदर्शनमा

विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै रहेको छ । यसको कथामा आधारित हलिउड चलचित्र र वृत्तचित्र पहिले नै बनेका छन् । तर सगरमाथासँग प्रत्यक्ष रूपमा जोडिएको कथा लिएर बनेको नेपाली चलचित्र भने अब मात्र तयार भएको छ । सगरमाथा आरोहण र त्यसक्रममा विकसित प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

चलचित्रले नेपालको पर्यटकीयस्थल र प्राकृतिक सुन्दरताको प्रवर्द्धन गर्न मद्दत गर्ने अभिनेता अनमोल केसीले बताए । प्रदर्शनको पहिलो दिन दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुगेका उनले सगरमाथाको विषय नै निर्माणको मुख्य चुनौती रहेको बताए ।

'चलचित्रको कथा तयार गर्दा नै हामीले नेपाली स्रोत र साधन प्रयोग गरेर सगरमाथालाई कसरी चित्रण गर्न सकिन्छ भन्ने विषयमा धेरै छलफल गरेका थियौँ । प्राविधिक रूपमा त्यहाँ छायाङ्कन गर्न सहज थिएन । नेपाली बजारलाई पनि ध्यानमा राख्नुपर्थ्यो । तर सबैको मेहनतले हामी सफल भयौँ,' केसीले भने ।

चलचित्रमा अनमोलले सगरमाथा आरोहण गर्ने युवाको भूमिका निर्वाह गरेका छन् । सगरमाथा आरोहण गर्ने पात्रलाई स्वाभाविक देखाउन उनले र गाइडको भूमिकामा रहेकी अभिनेत्री जसिता गुरुङले एक महिनासम्म प्रशिक्षण लिएका थिए ।

अनमोलले थपे, 'हामीले दृश्य स्वाभाविक देखियोस् भनेर शेर्पा भाइहरूको निगरानीमा काम गरेका थियौँ । चलचित्रमा सगरमाथाको सौन्दर्यसँगै एक पारिवारिक प्रेमकथा पनि समेटिएको छ ।'

चलचित्र ‘जेरी अन टप’ पछि अन्य निर्माताहरू पनि हिमाली कथामा आधारित चलचित्र बनाउन प्रेरित हुने अनमोलको बुझाइ छ । अभिनेत्री जसिता गुरुङले पनि आफ्नो पात्रलाई वास्तविक देखाउन सक्दो मेहनत गरेको बताइन् ।

उनले भनिन्, 'म हिमाली युवतीको भूमिकामा छु । त्यसैले त्यही अनुसार तयारी गरेकी थिएँ । चलचित्रमा नेपालको हिमाली सुन्दरतालाई दर्शकले नजिकबाट अनुभव गर्न पाउनेछन् । प्रचारमा देखिएको भन्दा चलचित्र अझै प्रभावशाली बनेको छ ।'

चलचित्रकी अर्की अभिनेत्री आँचल शर्माले झन्डै ११ वर्षअघि प्रदर्शन भएको ‘जेरी’ ले युवापुस्तालाई आकर्षित गरेको उल्लेख गर्दै ‘जेरी अन टप’ ले पनि नयाँ पुस्तालाई हलसम्म ल्याउने विश्वास व्यक्त गरिन् ।

शर्माले भनिन्, 'जेरी प्रदर्शन हुँदा म चलचित्र क्षेत्रमा थिइनँ । त्यसबेला ‘जेरी’ निकै चर्चामा थियो । अहिले सोही नाम र सोही अभिनेतासँग चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको छ । नयाँ पुस्ताले पनि यो चलचित्र मन पराउनेमा विश्वस्त छु ।'

चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथा र नेपालको सौन्दर्य देखिने स्तरीय चलचित्र बनाउने प्रयास गरेको बताए ।

उनले भने, 'चलचित्रमा नेपालको सौन्दर्य प्रस्तुत गरेका छौँ । मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा हुने घटनाक्रम देखाइएको छ । यसले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरेका छौँ ।'

‘अनन्या फिल्म्स प्रोडक्सन’बाट निर्मित ‘जेरी अन टप’ मा अनमोल केसीसँगै भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गी लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्र सुयोग गुरुङले निर्देशन गरेका हुन् । कथा हेमराज बीसीले लेखेका हुन् भने पटकथा विश्वास तिम्सिनाले र छायाङ्कन दुलिप रेग्मीले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्