
नेपाल टेलिकमले मनाङको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी टूजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
करिब ४ हजार ३५० मिटरको उचाइमा रहेको तिलिचो ताल जाने रुटमा टेलिकमले माइक्रो वेभ प्रविधिमार्फत असोज ३१ गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प-बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटल लगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुन सहज हुने भएको छ ।
उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भइहालेमा पनि आपतकालीन उद्धार कार्यका लागि नेपाल टेलिकमको सञ्चार सुविधाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।
यसैगरी दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो-रोल्पा ट्रेकिङ रुटको अन्तिम अनि ठूलो बस्ती नागाउँमा असोज २८ गतेदेखि भि-स्याट प्रविधिमार्फत नेपाल टेलिकमको भ्वाइस सेवा सुचारु भएको छ ।
४ हजार १९० मिटरको उचाइमा रहेको यस साइटबाट च्छो-रोल्पा रुटको बेदिङ-ना रुट, नागाउँ, च्छो-रोल्पा, दूध-कुण्ड, यालुङ बेसक्याम्प, टासी-लेप्चा पास बेसक्याम्पसमेतका भागहरुमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क र आपतकालीन समयमा उद्धार कार्यका लागि उपयोगी हुने कम्पनीको विश्वास छ।