२४ जेठ २०८३, आइतबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

गलत डिजाइन स्वीकार गरेर निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयतामै प्रश्न​​

कात्तिक ३, २०८२
काठमाडौं
गलत डिजाइन स्वीकार गरेर निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयतामै प्रश्न​​
पोखरा विमानस्थलको ‘मिस्ड एप्रोच पाथ’ : रातो घेरा अहिलेको गलत डिजाइन र हरियो घेरा समितिले औल्याएको हुनुपर्ने डिजाइन

तामझाम साथ उद्घाटन भएको ३ वर्ष पुग्नै लाग्दा समेत सञ्चालनमा आउन नसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन नै गलत भएको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले निष्कर्ष निकालेको छ ।

‘मिस्ड एप्रोच पाथ’ र धावन मार्गको लम्बाइ सीमित भएका कारण उडान/अवतरणमा तौल प्रतिबन्ध तथा बर्ड स्ट्राइकको जोखिमलगायत कयौं प्राविधिक कमजोरी औंल्याइएको छ ।

‘मिस्ड एप्रोच पाथ’को डिजाइन नै गलत रहेका कारण अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सक्नेमा समितिले आशंका व्यक्त गरेको छ ।

मिस्ड एप्रोच पाथ भन्नाले सुरक्षित तवरबाट वायुयान निस्कन सक्ने मार्ग भन्ने जनाउँछ । यस्तो मार्गको डिजाइन अवतरण गर्नुपर्ने विमानस्थलको अबस्थिती अनुरुप उडान सुरक्षाको हिसाबले सबै भन्दा सुरक्षित र व्यबहारिक रूपमा छनौट गरिएको हुन्छ ।

विमानस्थलको रनवे ‘३०’ एप्रोचको आसपास क्षेत्रमा चराचुरुङ्गीको गतिविधि रहेकाले बर्ड स्ट्राइकका घटना हुन सक्ने खतरा प्रतिवेदनले औंल्याएको छ ।

null

अन्तर्राष्ट्रिय स्तरको कम्पनीबाट जडान गरिएको भएता पनि पोखराको भौगोलिक स्वरूपले ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’को उपयोगितामा प्रश्‍न खडा भएको प्रतिवेदनले औंल्याएको छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट ल्यान्डिङको सहजताका लागि जडित आईएलएस उपयोगिताको हिसाबले सीमित रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

भीएनआरपी विमानस्थलको रनवे ३० का लागि ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’को ग्लाइड पाथ करिब ३ नटिकल माइल अन्तिम आगमन खण्डसम्म विश्वसनीय नदेखिने, बारम्बार अव्यवस्थित हुने र उतारचढाव हुने प्रवृत्ति देखिएको छ, जसको सम्भावित कारण अन्तिम आगमन मार्ग अन्तर्गत रहेको उच्च भू–भागबाट हस्तक्षेप हुन सक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

null

सर्वोच्च अदालतका पूर्वन्यायाधीश (हालका कानूनमन्त्री) अनिलकुमार सिंन्हा संयोजकत्वको समितिले तयार गरेर हालै सरकारलाई हस्तान्तरण गरेको प्रतिवेदनले गलत डिजाइन स्वीकार गरेर विमानस्थल बनाइएको निष्कर्ष निकालेको हो ।

प्रतिवेदनमा ‘मिस्ड एप्रोच मार्गसँग सम्बन्धित जोखिमका कारण पाइलटले अवतरण गराउन लागेको विमान तुरुन्तै बायाँ मोड लिने प्रतिक्रिया ढिलो भएमा उडान मार्ग सिधै विमानस्थलको दक्षिण पश्चिमी क्षेत्रतर्फ रहेको उच्च भू–भागतर्फ उन्मुख हुन सक्ने सम्भावना उच्च रहने र त्यसले सुरक्षा जोखिम बढाउने,’ प्रतिवेदनमा उल्लेख छ ।

चिनियाँ ऋण सहयोगमा बनेको विमानस्थलमा केही चार्टर फ्लाइटबाहेक ठूला जहाजबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । २०७९ सालको चुनावलगत्तै बनेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १७ गते विमानस्थल उद्घाटन गरेका थिए ।

उच्चस्तरीय सुझाव समितिले विमानस्थल निर्माणका कयौं विषयमा प्रश्न उठाएको छ ।

‘हाल प्रकाशित मिस्ड एप्रोच मार्गअनुसार, भीएनपीआर विमानस्थलबाट रनवे ३० मा अवतरणको प्रयास असफल भएमा तुरुन्तै बायाँ मोडिनुपर्ने मार्ग निर्दिष्ट गरिएको छ, जुन मार्गले विमानलाई विमानस्थलसँग अत्यन्तै नजिकको दक्षिणी क्षेत्रमा रहेको उच्च भूभाग माथिबाट अवरोध पार गर्नुपर्ने हुन्छ । यहाँको अवरोधको उचाई समुद्री सतहबाट करिब ४००० फिट माथिसम्म रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तुरुन्तै बायाँ मोडिनुपर्ने आवश्यकता रहेको उक्त मार्ग संरचनाका कारण मिस्ड एप्रोच मार्गले ५ प्रतिशतको चढाई (क्लाइम्ब रेट)को माग गर्दछ । अन्तराष्ट्रिय उड्डयन प्रचलन अनुसार यस्तो क्लाईम्ब रेट २ दशमलव ५ प्रतिशत भन्दा बढी देखिएमा स्वीकार्य हुँदैन । यस्तो ठाँडो चढाईको आवस्यकताले विमानको तौल वहान क्षमतालाई प्रत्यक्ष प्रभावित पार्दछ । यसले सँगसँगै विमानलाई कुनै एक इञ्जिन असफल भएको अवस्थामा पनि आवश्यक चढाइ क्षमताको सुनिश्चितता प्रदान गर्नका लागि अवतरण तौलमा प्रतिबन्ध लगाउने आवश्यकता उत्पन्न गरेको देखिन्छ, जसले विशेष गरी मध्यम दूरीका उच्च क्षमताका जेट विमानहरूमा ४ टनदेखि ६ टनसम्मको तौल प्रतिबन्ध सिर्जना गर्न सक्ने देखिएको छ ।’

गत असोज १२ गते सुझाव समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्की

मिस्ड एप्रोच पाथ गलत हुँदा लामो दूरीका विमानले जहाजमा पर्याप्त इन्धन राख्नुपर्ने भएकाले उनीहरूले नाफा हुने भार कटौती गर्नुपर्ने र उडान भर्न विमान कम्पनीहरू आकर्षित नहुने समितिको निष्कर्ष छ ।

गलत डिजाइन स्वीकार गरेकै दिनदेखि गडबड

पोखरा विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमितता भएको भन्दै विघटित प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन गरेको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले विमानस्थल निर्माण गर्दा व्यापक आर्थिक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन समितिमा पेश गरेको थियो ।

पूर्वन्यायाधीश सिन्हा संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले भने आर्थिक पाटोभन्दा डिजाइन नै गलत भएको निष्कर्ष निकालेको छ ।

‘आर्थिक लागत र अनियमितताको पाटो हेर्ने हाम्रो कार्यादेश थिएन, तर प्राविधिकरूपमा कयौं कमजोरी देखिएका छन्,’ समितिका एक सदस्यले लोकान्तरसँग भने, ‘कसको इन्ट्रेस्टमा किन यो विमानस्थल बनाइयो भन्ने विषयमा हामी कन्भिन्स हुन सकेनौं ।’

पोखरा विमानस्थलको जोजना तर्जुमा हुँदा रतिशचन्द्रलाल सुमन नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक थिए ।

‘त्यो बेला क्यानको नेतृत्वले यो विमानस्थल नेपालको आवश्यकता हो कि होइन ? डिजाइन मिलेको छ कि छैन भन्ने विषय विचार गरेको देखिँदैन,’ समिति स्रोतले भन्यो ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि निर्माण गरिएको भए पनि हालको अवस्था हेर्दा पर्याप्त अध्ययन, योजना र प्राविधिक समन्वयको अभाव स्पष्ट देखिन्छ । यदि नेभिगेसन प्रणाली, सुरक्षा, पूर्वाधार र सेवा सुविधामा छिटो सुधार गरिएन भने यो विमानस्थलले अपेक्षित रूपमा काम गर्न सक्ने अवस्था देखिँदैन,’ समितिले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘हालको अवस्थाले अन्तर्राष्ट्रिय स्तरको सञ्चालनका लागि आवश्यक व्यावसायिकता र पूर्वाधारको कमी प्रस्ट देखाउँछ । सुधारका तात्कालिक कदमहरू अत्यावश्यक छन् ।’

null

विमानस्थलको लोकेसन र त्यसमा गरिएको डिजाइन प्यारामिटर सीमित रहेका कारण पूर्णकालीन अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालन गर्न सक्ने अवस्था नदेखिएको समितिको निष्कर्ष छ ।

समितिका सदस्य इन्जिनीयर भेषराज सुवेदी आफूहरूले प्राविधिक पक्ष केलाएकाले निर्माणमा भएका अन्य बेथिति राज्यले खोज्नुपर्ने बताउँछन् ।

‘यो विमानस्थलको उड्डयन डिजाइन प्यारामिटरलाई स्वीकार कसरी गरियो भन्ने मुख्य चासो हुनुपर्छ, किनभने यो विमानस्थल सञ्चालनका लागि सबैभन्दा ठूलो अड्चन पोखराको भूगोल र त्यसअनुसार विमानस्थललाई डिजाइन नगरिनु देखिन्छ,’ सदस्य सुवेदीले लोकान्तरसँग भने, ‘विमानस्थललाई आशातीत रूपमा पूर्ण सञ्चालन गर्न यसका नेभिगेसन डिजाइनमा केही परिवर्तन गर्न सकिए पनि त्यसबाट पूर्ण प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त हुने आधार पाइएन ।’

यति धेरै लगानी भइरहेको विमानस्थल पूर्णरूपमा सञ्चालन हुनुपर्नेमा चल्नै नसक्ने अवस्था देखिएकाले यसमा थप छानबिन गर्नुपर्ने समितिका सदस्यहरू बताउँछन् ।

पोखरा विमानस्थल सञ्चालनका लागि समितिले सुझाएका उपाय

समितिले विमानस्थल नियमित सञ्चालनमा आएर लगानी उठाउन सम्भव नभएका कारण व्यापारिक प्रबर्द्धनका लागि समिति बनाएर काम गर्न सुझाव दिएको छ । विभिन्न एयरलाइन्स, ट्राभल एजेन्सी लगायतसँग छलफल गरेर चार्टर विमानमार्फत पर्यटक भित्र्याएर मात्र विमानस्थललाई चलायमान बनाउन सकिने समितिको सुझाव छ ।

समितिका संयोजक मन्त्री सिन्हाले आफूहरूको अध्ययनले पोखरा विमानस्थल राजस्व शुल्कबाट चल्न सम्भव नदेखिएको बताए ।

‘ओभर एक्सपेन्डिचरको कारणले गर्दा त्यसबाट उठ्ने रेभिन्युबाट चलाउन बढा गाह्रो हुन्छ । तथापि त्यसलाई व्यावसायिक ढंगले चलाउन हामीले सुझाव दिएका छौं’, सिन्हाले लोकान्तरसँग भने, ‘कमसेकम चलायमान हुनुपर्‍यो र चल्न सक्ने आधार देखिँदैन । ठूला विमानहरू ल्याउने आधार कम छ । लो पेनाल्टी पनि कसरी गर्न सकिन्छ भन्ने सुझाव दिएका छौं ।’

समितिले पोखरा विमानस्थल पूर्ण व्यावसायिक क्षमता अनुरूप सञ्चालन गर्नका लागि नेभिगेसन डिजाइनमा  रहेका कमी कमजोरीहरूको तुरुन्त निराकरण गर्नु पर्ने सुझाव दिएको छ ।

नियामक निकायको रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण एक्लैको अनुभव र क्षमतामा विमानस्थलको मार्केटिङ र व्यावसायिक सञ्चालनको योग्यता नपुग्ने भएकाले एउटा विशेष समिति बनाएर मार्केटिङ गर्न समितिले सुझाव दिएको छ ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हेतु विशेषगरी पोखराका सरोकारवाला संघ–संस्थाहरू सम्मिलित एक विशेष अन्तर्राष्ट्रिय प्रवर्द्धन समिति निर्माण गरी निश्चित योजनासहित निरन्तर प्रदर्शनी, अन्तरक्रिया र व्यापारिक प्रवर्द्धनमा जुट्नु आवश्यक देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यस्तो समितिले कम्तीमा एसिया प्रशान्त महासागरको क्षेत्रमा सञ्चालित वायु सेवा कम्पनीहरू, ट्राभल एजेन्सीहरू, सरकारी गैर–सरकारी पर्यटन प्रबर्द्धनका संस्थाहरूसँग निरन्तर सम्वाद एवं अन्तरक्रिया गर्नु प्रासंगिक देखिन्छ ।’

पढ्नुहोस्, यो पनि:​

हवाई सुरक्षा चुनौतीपूर्ण, एक वर्षमै त्रिभुवन विमानस्थलमा ‘बर्ड स्ट्राइक’का ४५ घटना

salt training

कमेन्ट गर्नुहोस्