
म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिने छन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्नेछन् ।
द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं उच्चस्तरीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष राखिएको छ ।
सीजी हस्पिटालिटी ग्लोबल चौधरी ग्रुपको तीव्र गतिमा विस्तार भइरहेको हस्पिटालिटी विंङ् हो ।
चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो तथा विविध व्यवसायमा संलग्न बहुराष्ट्रिय कम्पनी हो । चौधरी ग्रुपको लगानी हस्पिटालिटी, एफएमसीजी, वित्तीय सेवा, दूरसञ्चार, शिक्षा, पूर्वाधार, सिमेन्ट, विद्युतीय सवारी साधन तथा रियल इस्टेट क्षेत्रमा फैलिएको छ ।
काठमाडौंमा मुख्यालय रहेको चौधरी ग्रुप नेपाललाई विश्वस्तरमा परिचित पर्यटन तथा हस्पिटालिटी गन्तव्यका रूपमा स्थापित गर्दै देशको दीर्घकालीन पर्यटन तथा आर्थिक वृद्धिमा योगदान पुर्याउन प्रतिबद्ध कम्पनी हो ।
चौधरी ग्रुप र म्यारियट इन्टरनेशनलबीच दक्षिण एशियाका विभिन्न हस्पिटालिटी परियोजनामार्फत बलियो सहकार्य रहेको छ, जसले विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । यस सम्झौतापश्चात दुई कम्पनीको व्यावसायिक सम्बन्ध अझ विस्तार हुने छ ।
वेस्टिन काठमाडौं र रिट्ज–कार्लटन काठमाडौं नेपालका अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् ।