
जेनजी आन्दोलनको बलमा विघटित प्रतिनिधिसभाका सदस्यहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका छन् । सरकारले फागुन २१ गते तोकेको निर्वाचनलाई लक्ष्य गरेर उनीहरू जनमत बुझ्न निर्वाचन क्षेत्रमा फर्केका हुन् ।
तोकिएकै मितिमा चुनाव हुनेमा उनीहरू आश्वस्त भने छैनन् तर, मोरङका निवर्तमान प्रतिनिधि सभा सदस्यहरू गाउँ–गाउँ पुगेर जनतासँग भेटघाट र चुनावी छलफल गरिरहेका छन् ।
गत निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधिसभा विघटन भएलगत्तै आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । बेलबारी–४ स्थित आफ्नै घरमा बसेर उनले टोल–टोलमा कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गरिरहेका छन् । ‘डाक्टर साबले टोल–टोलमा पुगेर कार्यकर्ता र जनताका समस्या सुनिरहनुभएको छ,’ कांग्रेस बेलबारी–२ का वडा सचिव लोकेन्द्र ढकालले भने, ‘आइतबार यही वडामा दुई/तीन वटा कार्यक्रम रहेका छन् ।’
आफ्ना भेटघाटहरूमा शर्माले स्थानीय तहका जनप्रतिनिधिहरू सेवामुखीभन्दा सुविधाभोगी भएको भन्दै कडा आलोचना गर्ने गरेका छन् । मेयर, उपमेयरले महँगा गाडी चढ्ने गरेको र वडाध्यक्षहरूले समेत सरकारी मोटरसाइकल प्रयोग गरेको भन्दै उनले यस्ता प्रवृत्तिको खबरदारी गर्न जनतालाई आग्रह गरेका छन् ।

तर, जनप्रतिनिधिमाथि उनको यो आलोचनासँगै उनी आफैं पनि सामाजिक सञ्जालमा आलोचित बनेका छन् । शर्मा सञ्चालक रहेको नोबेल मेडिकल कलेजमा नर्सहरूमाथि श्रम शोषण भएको भन्दै सामाजिक सञ्जालमा विरोधका स्वरहरू सुनिन थालेका छन् ।
यसैबीच, शर्माको क्षेत्रमा आगामी चुनाव थप प्रतिस्पर्धात्मक हुने देखिएको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतले ‘गतिशील लोकतान्त्रिक पार्टी’मार्फत् मोरङ–३ बाटै चुनाव लड्ने चर्चाले कांग्रेस वृत्तमा तरंग पैदा गरेको छ । बस्नेत उम्मेदवार बनेमा कांग्रेसकै मत विभाजित हुन सक्ने अनुमान स्थानीय कार्यकर्ताहरूले गरेका छन् । यसले पनि शर्मालाई थप सक्रिय बनाएको कार्यकर्ताहरू बताउँछन् ।
त्यस्तै, मोरङ क्षेत्र नम्बर ४ बाट दुईपटक प्रत्यक्ष र एकपटक समानुपातिक गरी तीनपटक सांसद बनेका माओवादी नेता अमनलाल मोदी पनि गाउँमै सक्रिय छन् । प्रतिनिधिसभा विघटनपछि केही दिन काठमाडौं बसे पनि त्यसयता आफू लगातार जनतासँगै रहेको उनले बताए । ‘म मन्त्री हुँदा होस् वा नहुँदा, सधैँ जनताको बिचमा छु । अहिले पनि भेटघाट र छलफलमै व्यस्त छु,’ मोदीले भने । यद्यपि, उनले यी भेटघाटहरू पूर्ण रूपमा चुनावी छलफल नभएको दाबी गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका योगेन्द्र मण्डल पनि आफ्नो क्षेत्रमा उत्तिकै सक्रिय छन् । उनी पनि गाउँघरमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै जनतासँग सम्पर्कमा छन् । जीवन विकासका सञ्चालकसमेत रहेका उनी संस्थामार्फत् समेत जनतामा जोडिने गरेका छन् ।
भ्रष्टाचार, नातावाद र सरकारले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा भदौ २३ गतेबाट देशव्यापी रूपमा जेनजी (जेनेरेसन जी) पुस्ताको नेतृत्वमा आन्दोलन शुरू भएको आन्दोलन हिंसात्मक बन्दा ७० जनाभन्दा बढीको ज्यान गएको थियो भने सिंहदरबार, संसद् भवनलगायत महत्त्वपूर्ण सरकारी संरचनामा आगजनी भएको थियो । आन्दोलनकै दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै उनको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी २०८२ फागुन २१ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए ।
यही निर्वाचनलाई लक्षित गरी अहिले निवर्तमान सांसदहरू पुन: जनताको घरदैलोमा पुग्न थालेका हुन् । दशैलगतै स्थानीय स्तरमा राजनीतिक सरगर्मी बढेको छ । पुरान अनुहारले चुनावी अभियान थाले पनि नँया अनुहारहरू भने मैदानमा देखिएका छैनन् ।