२४ जेठ २०८३, आइतबार

राजनीतिक अन्योलता र आर्थिक अनिश्चितताबीच चौधरी ग्रुपले भित्र्यायो ठूलो वैदेशिक लगानी

कात्तिक १२, २०८२
काठमाडौं
राजनीतिक अन्योलता र आर्थिक अनिश्चितताबीच चौधरी ग्रुपले भित्र्यायो ठूलो वैदेशिक लगानी

देशमा राजनीतिक अन्योल, आर्थिक अनिश्चितता र निजी क्षेत्रले खेपिरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्र्याएको छ । 

चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको हो ।

बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन् । समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको समेत उपस्थिति थियो ।

हालैको जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो । सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो ।

उक्त घटनापछि ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका बाबजुद सीजीको नेपालप्रतिको प्रतिबद्धतामा कमि नआउने र नेपालको आर्थिक विकासका लागि नयाँ सोंचका साथ  अगाडि बढ्ने संकल्प सार्वजनिक गरेका थिए । उक्त घटनाको करिब डेढ महिना बितिरहँदा चौधरीले ग्रुपले नेपालमा बहुराष्ट्रिय कम्पनीलाई भित्र्याएको हो ।

बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत् भुजिया, नमकीन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्सको उत्पादन गरिनेछ । यो साझेदारी नेपालको खाद्य उद्योगलाई नयाँ गतिमा अघि बढाउने, आयातमा निर्भरता घटाउने र नेपाली बजारका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास दुवै कम्पनीले लिएका छन् ।

null

यस प्लान्टमा पहिलो चरणमा करिब ५० करोड रूपैयाँ लगानी हुनेछ भने करिब चार सय रोजगारी सिर्जना हुनेछ ।

शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, ‘नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको समयमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौं । यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिबद्धतालाई व्यवहारमा पुन: पुष्टि गर्दछ ।’

निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा यस लगानीले नयाँ आशाको सञ्चार गर्ने उनको विश्वास छ । उक्त प्लान्टको स्थापनाले स्थानीय रोजगारीमा नयाँ अवसर सिर्जना हुनेछन् । प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै, स्थानीय किसान र आपूर्तिकर्तालाई लाभ पुर्‍याउने र नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्ने पनि चौधरीले बताए ।

चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्स नेपालको अग्रणी फुड उत्पादक कम्पनी हो ।  सीजी फुड्सका उत्पादन ६३ देशमा फैलिएका छन् । विश्वभर चर्चित ‘वाइ वाइ’ ब्रान्डको निर्माता सीजी फुड्सले अब नयाँ–नयाँ उत्पादन वर्गमा विस्तार गर्दै नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगिकीकरणलाई बल पुर्‍याइरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्