
महाधिवेशनको एजेन्डा प्रस्तुत गर्ने स्थिति नबनेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा केन्द्रीय समितिको बैठकमा अनुपस्थित भएका छन् ।
दुई हप्ता रोकेपछि बिहीबारदेखि शुरू भएको केन्द्रीय समितिको बैठकमा थापाले महाधिवेशनको कार्यतालिकामा सहमति गर्ने र एजेन्डा प्रस्तुत गर्ने तयारी गरेका थिए । तर, फागुन २१ गतेको चुनावअघि महाधिवेशन गर्ने विषयमा संस्थापन तयार भएन । त्यसैले थापा केन्द्रीय समिति बैठकमै अनुपस्थित भएका हुन् ।
‘यसअघि विशेष महाधिवेशन पनि नगर्ने तर नियमित महाधिवेशन गरेरै जाने विषयमा कार्यवाहक सभापतिसँग सैद्धान्तिक सहमति भएको थियो । यसै सैद्धान्तिक सहमतिपछि बिहीबार महाधिवेशनको प्रक्रियामा जाने गरी एजेन्डा प्रस्तुत हुने तयारी पनि थियो,’ महामन्त्री थापा निकट स्रोतले भन्यो, ‘तर बैठकअघि एजेन्डा प्रस्तुत गर्ने गरी सहमति जुटेन । अनि एजेन्डा राख्न नपाएपछि उहाँ बैठकमा अनुपस्थित हुनुभएको हो ।’
आधिकारिक एजेन्डा महामन्त्रीले पेस गर्नुपर्नेमा सहमति नभएपछि अरूको एजेन्डामा थापा छलफल गर्न तयार नभएको स्रोत बताउँछ ।
‘कार्यवाहक सभापतिसँग बिहीबार एकचरण छलफल पनि भयो । तर सहमति हुने स्थिति बनेन,’ थापा निकट स्रोतले भन्यो, ‘यसैले बैठकमा जाने स्थिति नबनेको हो ।’
बैठकअघि कार्यवाहक सभापति खड्का र महामन्त्री थापाबीच भेटवार्ता भएको थियो । भेटमा खड्काले आजको बैठकमा महाधिवेशनको एजेन्डा प्रस्तुत नगर्न गगनलाई आग्रह गरेका थिए । त्यसपछि गगन उठेर हिँडेका थिए ।
‘कार्यवाहक सभापतिले आजको बैठकमा महाधिवेशनको एजेन्डा प्रस्तुत नगर्नुस् भनेर महामन्त्रीलाई भन्नुभयो । तर महामन्त्रीले एजेन्डै पेस गर्न नपाउने हो भने म किन बैठकमा जाने भन्दै झोक्किएर हिँड्नुभो’, स्रोतले भन्यो ।
एक नेताका अनुसार केन्द्रीय समितिको बैठक चलिरहेका बेला पनि खड्का गगनसँग फोनमै भए पनि संवाद गर्नका लागि तीन/चार पटक बैठक हलबाट बाहिर निस्किएका थिए ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनभन्दा चुनावमा जानुपर्ने मत बलियो रूपमा उठेको बताए ।
‘बैठकमा साथीहरूले चुनावलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सम्भव छ भने छिट्टै महाधिवेशनमा जानुपर्छ भन्ने मत पनि आएका छन् । तर महाधिवेशनले बोल्नेले १५ औं तयारी गर्नुपर्छ तर धेरैको चुनावमा जाऔं अनि महाधिवेशनमा जाने भन्ने कुरा आयो ।’
यद्यपि राष्ट्रिय निर्वाचन अघि कि पछि महाधिवेशन भन्नेमा मतभिन्नता रहेको उनी बताउँछन् ।
बिहीबारको बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना र विद्यादेवी तिमिल्सिनाले बोलेका थिए ।
त्यस्तै, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी)ले पनि धारणा राखेका थिए ।
लुम्बिनी प्रदेश सभापति पुनले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेलाई बेवास्ता नगर्न आग्रह गरे ।
‘विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने साथीहरूसँग सरसल्लाह गर्नु भएको छ छैन ? उनीहरू पनि पार्टीका साथी हुन् । समयमा अधिवेशन होस्, नभए विशेष होस् भनेर पेस गरिएको हस्ताक्षर हो,’ कार्यवाहक सभापति पूर्णबहादुर खड्काको ध्यानाकर्षण गराउँदै पुनले भने, ‘हस्ताक्षर अभियान चलाउने अगुवासँग छलफल गरेर निष्कर्षमा पुग्ने काम गरियोस् । २४८७ महाधिवेशन प्रतिनिधि केही होइनन् भन्ने गरिए ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।’
विशेष महाधिवेशनको माग गर्नेले पार्टी फुटाउने, अरूले जुटाउने भन्ने भाष्यलाई चिर्नुपर्ने उनको भनाइ छ । ‘विशेष माग गरेकै आधारमा पार्टी फुट्ने र अरूले पार्टी जुटाउने भाष्य नै गलत छ । विधानको आ–आफ्नो व्याख्या गर्ने अधिकार छैन । विधानको व्यवस्था जे हो त्यही गरौं । पार्टीलाई एकताबद्ध बनाऔं । अन्यथा आगामी चुनावमा कमजोर हुन्छ,’ पुनले भने, ‘यस्तै खिचातानीका बीच चुनावमा भाग लिए ठूलो पार्टी बनौंला भन्ने कल्पना नगरौं ।’
लुम्बिनीका अधिकांश जिल्लामा सदस्यता टुंग्याउन अप्ठेरो नभएको भन्दै पार्टीले चाहे नियमित अधिवेशन गर्न सकिने उनले बताए ।
‘माओवादी र एमालेले मंसिरमा अधिवेशन गर्ने भनेर तयारीमा लागिसके । हामी सदस्यतामा अल्झिएका छौं । केन्द्रीय समितिले निर्णय गरेर प्रतिनिधि पठाए, प्रदेशबाट प्रतिनिधि खटाएर हामी छिट्टै सदस्यता टुंग्याउने र अधिवेशनमा जुट्न सक्छौं,’ पुनले भने, ‘यस्तोमा छिट्टै अधिवेशन गर्न समस्या छैन ।’
बैठकमा केन्द्रीय सदस्य राजन पौडेलले पार्टी सत्तामा बस्दा भएका विकृतिले आजको दिन आएको बताए ।
‘भोलि को सभापति हुने, उम्मेदवार हुने तपशीलका विषय हुन् । हिजो दुई तिहाइ भएको पार्टी हाम्रो कारणले कमजोर बन्यो । जनताले कसरी मूल्यांकन गरेका छन् । शासन सञ्चालन चित्त नबुझेको हो कि । न्यायाधीश, सीडीओ, सचिव, संवैधानिक निकायका भागबन्डा, इन्स्पेक्टर, हवल्दारको भागबन्डामा समेत लाग्यौं । ३४ वर्षमा हामीले संस्थालाई कहाँ पुर्यायौं ?,’ पौडेलले भने, ‘मन्त्री को हुने भन्दा राष्ट्रपतिको, सभापतिको, उपसभापतिको, गगनको, लेखकको भनेर गुटगत आधारमा राख्ने काम भयो । यसैले यस्ता कुराको समीक्षा गर्नुपर्छ ।’
बैठकपछि नेता प्रदीप पौडेलले म्याद थप्दा केन्द्रीय सदस्यको मात्रै नभइ महाधिवेशन प्रतिनिधिको पनि थपिने बताए ।
‘अहिले विशेष महाधिवेशन नगरी म्याद थप्ने कुरा गर्ने पनि छन् । तर यसरी म्याद थप्दा केन्द्रीय सदस्यको मात्रै थपिँदैन । महाधिवेशन प्रतिनिधिको पनि थपिन्छ,’ पौडेलले भने, ‘५४ प्रतिशत साथीले विशेष महाधिवेशन दर्ता गरेको विधान बमोजिम हो । नियमित अधिवेशन गर्ने हो । विशेष महाधिवेशन गर्न पर्दैन । तर म्याद थपिएपछि विशेष महाधिवेशनको माग स्वतः उब्जिन्छ ।’
आफूहरू नियमित महाधिवेशनकै पक्षमा रहेको भन्दै उनले कार्यसमितिको म्याद थपिए विशेष महाधिवेशनको माग स्वतः उठ्ने बताउँछन् ।
विश्वप्रकाशका ४ विकल्प
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति खड्कासमक्ष महाधिवेशनका लागि ४ वटा विकल्प सुझाएका थिए । महाधिवेशनको विषयमा निर्णय लिन दबाब परेका बेला शर्माले बिहीबार बिहान भेट गर्दै चारवटा विकल्प सुझाएका हुन् ।
नियमित या विशेष महाधिवेशनबारे निर्णय गर्न दबाब परिरहेका बेला शर्माले विकल्प सुझाएका हुन् । तर, बैठक अघि नै उनका विकल्पमा पार्टी नेतृत्व छलफल गर्न तयार भएन ।

उनले पहिलो विकल्पका रूपमा कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्न माग गरेका थिए ।
मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गए अर्को विकल्पमा जान सकिने उनको प्रस्तावमा उल्लेख छ ।
दोस्रो विकल्पमा मंसिरभित्रै विशेष महाधिवेशन गर्न सुझाएका छन् । विधानको १७ (२) बमोजिम ‘केन्द्रीय समितिले चाहेमा’ भनेर उल्लिखित दफा रहेकाले यो विकल्पमा जान सकिने उनको भनाइ छ ।
तेस्रो विकल्पमा विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै विशेष महाधिवेशन गर्न सकिने उनको प्रस्ताव छ ।
यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै समय लिएर पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न सकिने उनको प्रस्ताव छ ।
पुस १६ जननायक बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिन भएको भन्दै उनले यी विकल्प सुझाएका हुन् ।
अर्का महामन्त्री थापाले यसअघि मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी कार्यसम्पादन समितिका लागि तयार गरेको प्रस्तावलाई नै शर्माले पनि अगाडि सारेका हुन् । तर, संस्थापन फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने विषयमा इच्छुक देखिँदैन ।
केन्द्रीय समितिअघि बसेको संस्थापन समूहको बैठकमा चुनावअघि महाधिवेशन गर्न नहुनेमा निष्कर्ष निकालिएको थियो । यसैले कार्यवाहक सभापति खड्काले महाधिवेशन गर्ने विषयलाई बैठकको एजेन्डा नबनाएको नेताहरू बताउँछन् ।
सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि बैठक शुक्रबार १ बजे बस्नेगरि फेरि बोलाइएको छ ।