
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका-६ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका-५ स्थित तिनधारेमा डेरा गरेर बस्ने २८ वर्षीय राज लामा, उदयपुरको ताप्ले गाउँपालिका-४ घर भइ भक्तपुर बस्ने २० वर्षीय विशाल भन्ने दुर्ग बहादुर मगर, रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ घर भइ भक्तपुर, चाँगुनारायण नगरपालिका-२ सल्लाघारीमा लक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर बिक रहेका छन् ।
यसैगरी, बागलुङको गल्कोट नगरपालिका-२ घर भइ काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ सरस्वती नगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका-७ घर भइ जिल्ला काठमाडौं महानगरपालिका-२२ स्थित रहेको मनु जेम्स एण्ड ज्वेलर्सका सञ्चालक सन्तोष सुनारको छोरा २२ वर्षीय दिपेश रसाइली पनि पक्राउ परेका छन् ।
यसमध्ये लामा सिक्री तान्दा मोटरसाइकल चलाउने व्यक्ति, मगर मोटरसाइकलको पछाडि बसी सिक्री तान्ने, बिक लुटिएको सिक्री बिक्री गरिदिने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए । यसैगरी, सुनार र रसाइली लुटिएको समान किन्ने व्यक्ति हुन् ।
प्रहरीका अनुसार यो गिरोहले असोज ८ गते ललितपुर नख्खुडोलबाट १.५ तोलाको सिक्री चुडालेर लगेको थियो । यस्तै, असोज २३ गते नागार्जुन नगरपालिका-३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको आधा सिक्री चुडालेर लगेको, २६ गते ललितपुरको बुद्दचोकबाट ३ तोलाको सिक्री चुडालेर लगेको, कार्तिक १ गते काठमाडौंको नागार्जुन नगरपालिका-१ राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री आधा चुडालेर लगेको प्रहरीले जनाएको छ ।
१ गते नै रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री आधा चुडालेर लगेको, सोही दिन नागार्जुन नगरपालिका-५ थापाचोक नजिकबाट झोला र सामसङ कम्पनीको मोबाइल थान १ लुटपाट गरेको, तार्केश्वर नगरपालिका बालाजु नेपालटारबाट २ तोलाको सिक्री चुडालेर लगेको पाइएको एसपी भट्टराईले बताए ।
प्रहरीले राज लामा र विशाल भन्ने दुर्गबहादुर मगरको कोठाबाट सामसङ कम्पनीको मोबाइल ४ थान, रेड्मी कम्पनीको मोबाइल २ थान, आईफोना एक थान, इन्फिनिक्स डमी मोबाइल एक थान बरामद गरेको छ।
यसैगरी, नेपाल टेलिकमको सिम कार्ड ३० थान, एनसेलको सिम ३७ थान, आईटेलको सिम कार्ड ३ थान, मेमोरी कार्ड ३ थान, मोटरसाइकल चोरी गर्न प्रयोग गर्ने सामग्री दुई थान, ना ६२ प २७८४ नम्बरको बिल बुक एक थान, विल मगरको नाममा ७.३ लाल लेखिएको लक्ष्मी ज्वेलर्सको सुनको बिल एक थान बरामद भएको छ ।
यसैगरी, को १५ प ४२०८ नम्बरको मोटरसाइकल १ थान, दुर्गाबहादुर मगर र राज लामाको कारागारबाट थुना मुक्तका लागि आदेश भएको अदालतको फाइल १/१ थान,
बा. प्र. ०२-०३७ प ७३१९ नम्बरको २२० सीसीको मोटरसाइकल एक थान र बा. प्र. ०२-०५१ प ६६३० नम्बरको सुन्तला रङको २०० सीसीको मोटरसाइकल एक थान बरामद भएको छ ।
विभिन्न व्यक्तिहरूको सवारी चालक अनुमति पत्र २ थान, राज लामा नामको अदालत तारेख पर्चा एक थान र लुटपाट गर्दा प्रयोग भएका विभिन्न लत्ताकपडा पनि उनीहरूको साथबाट बरामद भएको एसपी भट्टराईले बताए ।
यसैगरी, दिलबहादुर बिकको सल्लाघारीस्थित लक्ष्मी ज्वेलर्सबाट सिक्री बिक्री गरी ल्याएको नगद तीन लाख अठासी हजार पाँच सय, दिपेश रसाइलीको कुलेश्वरस्थित कोठाबाट ६४ लाल तौल भएको सुनको ढिक्का ४ थान बरामद भएको छ ।
यस्तै, गोविन्द सुनारको कपनस्थित बाग्लुङ कालिका ज्वेलर्सबाट ९५ लालको सुनको ढिक्का एक थान, १ तोला ६४ लालको सुनको ढिक्का एक थान, १ तोला ५८ लालको सुनको सानो सानो ढिक्का ५ थान, ८३ लालको सुनको ढिक्का एक थान, ३९ लालको सुनको ढिक्का एक थान, २ तोला १४ लालको सुनको सिक्री एक थान र नगद एक लाख ६६ हजार बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा ८ दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो ।