०२ असार २०८३, मंगलबार
प्रदेशसभामा पासवान

नीलम पासवानलाई सांसद बन्न जुरेको अवसर

कात्तिक १५, २०८२
बुटवल
नीलम पासवानलाई सांसद बन्न जुरेको अवसर

लुम्बिनी प्रदेशसभामा कार्यकालको आधा समयपछि जनमत पार्टीबाट ‘भाग्य’ले नीलम पासवान सांसद बनेकी छिन् । जनमतबाट समानुपातिक सांसद रहेकी गीता गुरुङले पारिवारिक कारण देखाउँदै राजीनामा दिएपछि दलित महिला नीलमलाई संसद् प्रवेशको ढोका खुलेको हो । शुक्रबार प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष शपथ ग्रहण गरेकी पासवानलाई आधा कार्यकालपछि अहिले आएर सांसद बन्छु भन्नेसम्म पनि लागेको थिएन ।

सीके राउत नेतृत्वको जनमत पार्टीले सांसद गुरुङ प्रदेशसभा बैठकमा उपस्थित नभई विदेश पलायन भएपछि रिक्त उक्त ठाउँमा पासवानलाई पठाएको हो ।

समानुपातिक सूचीमा पासवानको नाम चार नम्बरमा थियो । घरायसी कामकाजका साथै पासवान लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छिन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–३ पडरिया निवासी ३२ वर्षिया सांसद पासवान पार्टी स्थापनाकाल (६ वर्षअघि)देखि जनमतमा आबद्ध थिइन् । ‘पार्टीको समानुपातिक कलस्टरमा मेरो चौथो नम्बरका नाम थियो,’ उनी भन्छिन्, ‘तेस्रो नम्बर रहनुभएकी जनजाति महिला गीता गुरुङ सांसद बन्नुभयो, म बन्न पाइँन । उहाँले राजीनामा गरेपछि मैले अवसर पाएँ । यो बेला सांसद बन्छु भन्ने सोचेको थिइँन । भाग्य भनौं या संयोग सांसद बन्ने अवसर मिल्यो । यो मेरा लागि अवसरसँगै जिम्मेवारी पनि हो ।’

तराईका दलित महिलाहरूलाई नेतृत्व तहमा ल्याउन प्रदेशसभामा आवाज उठाउने उनको योजना छ ।

युवा सांसद पासवानलाई केही गर्छु भन्ने उत्साह पनि छ । ‘राजनीतिमा कुन बेला अवसर जुर्ने रहेछ भन्ने थाहा नपाइने रहेछ, देशमा हरेक वर्षमा युवाले नेतृत्व गर्नुपर्ने आवश्यक छ,’ उनले लोकान्तरसँग भनिन्, ‘मलाई पनि यस्तो बेलामा अवसर आएको छ । जनताको सेवामा काम गर्न संसद्‌मा युवाका आवाज उठाउने सोचेकी छु ।’

तराईका दलित महिलाहरूलाई नेतृत्व तहमा ल्याउन प्रदेशसभामा आवाज उठाउने उनको योजना छ ।  'तराई मधेशमा महिला, त्यसमा पनि दलित महिला धेरै पछाडि परेका छन्, उनीहरूलाई नेतृत्व तहमा ल्याउन सदनमा आवाज उठाउनुपर्ने आवश्यकता छ,' उनले भनिन् ।

संसद्‌मा पहिलो अनुभव लिएर काम गर्दै अघि बढ्ने उनले सुनाइन् ।

जनताको सेवा, तराई क्षेत्रका महिलाको सशक्तीकरण, शिक्षा र सामाजिक विकासको क्षेत्रका काम गर्ने सोच बनाएको उनले बताइन् ।

पार्टीमा उनले इमानदार, निष्ठावान, मेहनती नेतृको रूपमा पहिचान बनाएको पार्टी प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमन्त्री सीके गुप्ताले बताए । ‘शिक्षित व्यक्ति पनि हो, उहाँ र उहाँको श्रीमान् विनोदकुमार पासवान शुरूआतदेखि नै पार्टीमा सक्रिय र क्रियाशील हुनुहुन्छ । यो बेला मान्यज्यूले राजीनामा दिएपछि उहाँलाई सांसद बन्ने संयोग मिल्यो,’ सांसद गुप्ताले लोकान्तरसँग भने ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा जनमत पार्टीबाट ३ जना सांसदको प्रतिनिधित्व छ । जसमध्ये १ जना प्रत्यक्ष निर्वाचित र दुई जना समानुपातिक हुन् ।

salt training

कमेन्ट गर्नुहोस्