
पाँचथरको हिलिहाङ गाउँपालिकामा बुवाको हत्या गरेको आरोपमा उनकै कान्छा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–१ फेदापाका ३१ वर्षीय सन्देश राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ६९ वर्षीय युवराज राईको हत्या गरेको आरोपमा उनकै कान्छा छोरा सन्देशलाई पक्राउ गरिएको हो ।
युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए ।
युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बुवाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।
प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।
युवराजको शव कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ ।