३० जेठ २०८३, शनिबार

पूर्वराष्ट्रपति यादवसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता

कात्तिक १९, २०८२
काठमाडौं
पूर्वराष्ट्रपति यादवसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन् । 

त्यसक्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखे । 

उनले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सराहना पनि गरे । 

‘राजनीतिक दलहरू चुनावमा जानैपर्छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो । तपाईंहरूले चुनावका लागि गर्नुभएको तयारी र सबै पक्षसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ’, पूर्वराष्ट्रपति यादवले भने, निर्वाचन आयोगलाई बजेट दिनुभएको छ । बन्दोबस्तीका सामग्रीको व्यवस्थापन भइरहेको छ । यो राम्रो कुरा हो । अब नागरिक समाजसँग पनि कुरा गर्नुहोस् । नागरिक समाजले पनि दलहरूलाई चुनावमा जान प्रेरित गर्नुपर्छ ।'

उनले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयमा आफ्नो अनुभव पनि सुनाए । त्यतिखेरको सुरक्षा अवस्था र भूराजनीतिक परिवेशका सम्बन्धमा यादवले चर्चा गरे । 

भेटमा अर्थमन्त्री रामेश्वर खनाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो । मंगलबार मात्रै गृहमन्त्री ‌ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । 

सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षसँग संवाद तीव्र रूपमा अघि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्