
नेपालको राजनीतिक इतिहासमा पार्टीहरू मिल्ने र टुक्रिने घटना नौला होइनन्। बुधबार (कात्तिक १९ गते) मात्रै १० वर्षे जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादी पार्टीसहित दशवटा वाम घटकबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ।
एकतासँगै नयाँ पार्टीको नाम र चुनाव चिह्नको विषयले चर्चा पाएको छ, अहिले सामाजिक सञ्जाल खुबै तातेको छ। थरिथरिका मौलिक अभिव्यक्तिहरू सुनिएका छन्। सबैले आ-आफ्नो तवरले परिभाषा, व्याख्या-विश्लेषण र संश्लेषण गरेका छन् । लाग्छ कि प्रत्येक मानिस दार्शनिक हो। हरेक वस्तु/घटनालाई बुझ्ने, व्याख्या गर्ने र नतिजामा पुग्ने उसको आफ्नो दृष्टिकोण हुने रहेछ। विशेष गरी पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादी केन्द्रलाई माओवादी नाम र गोलाकार भित्रको हँसिया-हथौडा चिन्ह परित्याग गरेको आरोप लगाइएको छ।
विगतमा एउटै पार्टीमा आबद्ध र लामबद्ध नेता, कार्यकर्ताहरूका विभाजित अभिव्यक्ति देखिएका छन्। एउटा पक्षबाट दशकौँदेखि मन र मस्तिष्कमा रहेको पार्टी, जसको नाममा हजारौँले रगत, पसिना बगाएर जन्माएको विरासत अनि त्याग र बलिदानले कोरेको गौरवपूर्ण इतिहास नामेट हुने चिन्ता छ। कतिपय पार्टीको नाम र चिन्ह परिवर्तन हुँदा भावुक बनेका छन्। उनीहरूका आँखा रसाएका छन्, मनमा बेचैनी र मुटुको धड्कन बढेको छ। अर्को थरिबाट मूल नेतृत्व उहीँ र उसैको अगुवाइमा पार्टीको नाम र चिन्ह परिवर्तनको निर्णय हुँदा अब नेपाली कम्युनिस्ट पार्टीको इतिहासमा फेरि नयाँ अध्यायको शुरूआत हुने अपेक्षा छ । इतिहासलाई सम्मान र बदलिँदो परिस्थितिलाई अङ्गीकार गर्दै नेतृत्वप्रति आशा, भरोसा र विश्वास जागेको उनीहरूको अभिव्यक्तिबाट बुझिन्छ।
एकातिर विगतको उपलब्धिको चिन्ता छ भने अर्कोतिर राजनीतिक अस्थिरता र अन्योलताको अनत्यसँगै विकास र समृद्धिको स्थापनाको भरोसा नेताहरूको अभिव्यक्तिले दिलाएको छ। फुट्ने र जुट्ने दुवैको भनाइ 'यही गति र यही मतिले भएन, नयाँ ढङ्गले अघि बढ्नु पर्छ' भन्ने छ। पार्टीको नाम र चुनाव चिन्ह बदलिँदा केहीमा चिन्ता र दुःख तथा केहीमा उत्साह जागेको देखिन्छ। प्रस्तुत लेखमा नाम पहिचान र चिन्ह सङ्केत मात्र हुन्, रूपान्तरण कामले हुन्छ भन्ने सन्दर्भमा चर्चा छ।
नाम: परिचय र पहिचान हो
नाम भन्ने शब्दले कुनै व्यक्ति, गाउँ, ठाउँ, पहाड, पर्वतलगायत कुनै सङ्घ संस्था, पार्टी सङ्गठन र सजीवदेखि निर्जीव वस्तु, प्राणी जनाउँछ। बृहत् नेपाली शब्दकोशका अनुसार प्राकृत, निर्मित वा कल्पित कुनै पनि वस्तुलाई बुझाउने वा चिनाउने शब्द नाम हो।

बालक जन्मिँदा विभिन्न समाज र समुदायले आफ्ना धर्म, संस्कृति, प्रथा, परम्पराको आधारमा नामाकरण गर्छन्। हिन्दु धर्मअनुसार न्वारान ज्योतिषी पण्डित हेराएर राशि, ग्रह, नक्षत्र र जन्मेको समयको आधारमा गर्छन्। त्यस्तै अन्य धर्म र समाजमा आ-आफ्नो प्रथा परम्परा होलान्। त्यसरी बाल्यकालमा राखिएका नामअनुसार गुण, विशेषता र व्यवहार यौवनकालदेखि जीवनपर्यन्तसम्म नमिल्न पनि सक्छ।
बालक जन्मिँदाको वस्तु, घटना, स्थिति, परिस्थिति, चिन्तन र दृष्टिकोणअनुसार राखिएका नामले कालान्तरमा उसको घरपरिवार, समाज, विद्यालय र साथीभाइबाट पाउने सामाजिक, सांस्कृतिक संस्कार, भौतिक र आध्यात्मिक वातावरण तथा जन्मसँगै बोकेर ल्याएका वंशाणुक्रम गुणहरूको प्रभाव देखिन्छ। फलस्वरूप नामअनुसार व्यवहार हुनसक्दैन वा विरोधाभास भइदिन्छ। शान्ति नामकी महिला गाउँको एक नम्बर झगडालु, क्रान्ति नामकी महिला जसले जे भने पनि, ऊमाथि जति अन्याय भए पनि चुपचाप रहन्छिन्, मुखै नखोल्ने, बोल्दै नबोल्ने, आँसु झारेर चित्त बुझाउने गर्न सक्छिन् । सत्य देवी झूट बोल्दै हिँड्ने। धनलक्ष्मीलाई साहुको ऋणले सताएको छ, धन-सम्पत्ति नहुँदा ज्याला-मजदुरीमा काम गर्नुपर्ने बाध्यता छ। सरस्वतीको शिक्षा भए पनि रुखो बोली छ तर व्यावहारिक ज्ञान छैन। त्यस्तै नाम दयालु, व्यवहारमा निर्दयी। सत्यनारायण झूटको खानी, सात कुरा गर्दासम्म सबै झूट, त्योभन्दा माथि एउटा कुरोसम्म सही हुनसक्ने। राम नाम, गाउँभरी बदनाम। नाम धनिराम र मनिराम, न त धनी छ न मनी छ- गुजाराको लागि रन्थनिनु र फनफनिनु परेको छ । ताल पोखरीमा पानी छैन, आँप-पिपलमा आँप र पिपल दुवै छैनन्, केराघारीमा केरा छैन, पिपलबोटमा पिपल छैन, नराकोटमा कोट छैन, भोटेकोटमा भोटे छैन। आरु बारीमा आरु छैन।
नेताहरूको छलफल र सहमतिमा लक्ष्य र उद्देश्यबमोजिम राखिएका राजनीतिक पार्टीका नाम र चुनाव चिन्हको कुरा गर्दा:
जति सुन्दर नाम भए पनि नामअनुसारका काम नहुँदा ती नाम बदनाम बद्नाम हुन जान्छन्। नामअनुसार नतिजा नआउँदा जस्तोसुकै नाम भए पनि बेकाम नै मानिन्छ। त्यसर्थ नाम चिनारी मात्र हो। शब्दका राम्रा नामले भन्दा सही कामले व्यक्ति, सङ्गठन र पार्टीको पहिचान बन्दछ। काम गर्ने क्रममा उप-नाम र पदहरू थपिँदै गए पनि राष्ट्रिय पहिचानमा कानूनी रूपमा एक व्यक्तिको एक नाम हुने प्रचलन छ। नाम नै परिवर्तन गर्दा समाजमा केही गरेको र भएको व्यक्तिको न्वारान देखिका सबै कागजातहरू ठ्याक्कै सच्याउन असम्भव भए पनि 'हलानो फलानो नाम भनेनि उहीँ व्यक्ति' भनेर स्थानीय प्रशासनद्वारा प्रमाणितसम्म गर्न सकिन्छ। तर सामूहिक छलफल र सहमतिमा राख्न र बदल्न पाउने कानुनी प्रावधानअनुसार त्यस सङ्घ-संस्था वा पार्टीबाट यसअघि भए/गरेका सबै काम र कुराहरू, कमाइएका चल-अचल सम्पत्तिहरू अब उपरान्त यस (नाम परिवर्तित) सङ्घ-संस्था वा पार्टीको नाममा हुने छन् भनेर अख्तियार प्राप्त समूहहरूले निर्णय गर्दा प्रचलित कानूनले पनि मान्यता दिन्छ। त्यसकारण कुनै पार्टी/सङ्गठनका नाम र चिन्ह परिवर्तनको चिन्ताले पिरोलिनुभन्दा कामको चिन्ता लिनु उत्तम हुन्छ।

चिन्ह: विचार र सङ्केतको प्रतीक हो
सङ्केत र लोगो कुनै विचार, दर्शन वा मूल्यको प्रतीक हुन्छन्। राजनीतिक दलका झन्डा, रङ र लोगोले उनीहरूको आदर्श र दृष्टिकोण त जनाउँछन्। तर चुनावमा मात्र प्रयोग गरिने चिन्ह भोट हाल्न सम्झाउने र इसारा गर्ने प्रयोजनको लागि हुन्छ। लोकतान्त्रिक राज्य-व्यवस्थामा राजनीतिक पार्टीको सिफारिसमा चुनाव चिन्ह निर्वाचन कार्यालयले सो पार्टीलाई प्रदान गरेको हुन्छ। खासमा जनताले आफूलाई मन पर्ने पार्टी र सङ्गठनको नेतृत्व छान्न आफ्नो अमूल्य मत साङ्केतिक चुनाव चिन्हमा दान गरी देश विकासको आशा राख्दछन्। लक्षित वर्गको न्याय र मुक्तिको लागि उनीहरूको प्रतिनिधित्व गर्ने उद्देश्यले जनताका दैनिक कामकाजमा प्रयोग हुने र अतिआवश्यक वस्तुहरूलाई चुनाव चिन्ह र पार्टीको झन्डामा प्रयोग गरिएको हुन्छ। जसले वर्गप्रेम र वर्गीय पक्षधरता जगाओस्, उनीहरूका भोट झुकिएर अन्तै नजाओस्। भोटरले आफ्नो उम्मेदवारलाई भोट हाल्न सजिलो होस् भन्ने उद्देश्य राखिएको हुन्छ।
तर विडम्बना के छ भने अझै पनि सामाजिक र सांस्कृतिक रूपमा पूर्ण रूपान्तरण भई नसकेका विकासोन्मुख मुलुकका गाउँबस्तीमा विचार, दृष्टिकोण, राजनीतिक चिन्तन र चेत कम भएका मतदाताहरू सजिलै भ्रममा पारिन्छन्। आर्थिकलगायत अरू कुनै प्रलोभनमा नपर्ने व्यक्तिहरूमा चुनाव चिन्हको गलत प्रचार-शैलीले मतदाता झुक्याउने, चुनाव चिन्हलाई भोट थुपार्ने अस्त्र बनाउने विकृत संस्कार पनि कायमै छ।
क्षणिक काम र दामको लालच देखाउने, शक्ति र साधन स्रोतको दुरुपयोग गर्दै भोट थुपार्ने प्रचलन बढेको छ। वास्तवमा ती सङ्केत र चिन्ह एक दिनको चुनावको लागि मात्र हुन्। वस्तुका चित्रात्मक आकृतिलाई जनजीविकाका श्रम र काम तथा धर्म, कर्म, संस्कृति, संस्कार आदिमा प्रयोग हुने साधन र वस्तुसँग जोड्ने भ्रमबाट सामाजिक परिवर्तन सम्भव हुँदैन। चिन्हको साँचो अर्थ तब प्रकट हुन्छ जब त्यसमा खसालिएको भोटबाट जितेको जनप्रतिनिधिले जनतालाई श्रम, रोजगार, उत्पादन र आय-आर्जनमा जोड्दछ। स्वास्थ्य, शिक्षा, रोजगार, यातायातलगायत सूचना प्रविधिको सुविधा दिलाउँछ। जनताले जीवनमा सुधार र रूपान्तरण पाउँछन्। सङ्केतहरू स्मरणका माध्यम हुन सक्छन् तर तिनले कर्मलाई प्रतिस्थापन गर्न सक्दैनन्।
काम: समाज रूपान्तरणको आधार हो
चर्को भाषण र कुराले आकाशका तारा झार्ने, तर कामले माखो नमार्नेहरू धेरै छन्। समाजको व्याख्या सबैले गर्छन्, मूल कुरो बदल्नु हो। समाज बदल्ने नायकहरू इतिहासमा थोरै र विरलै भेटिन्छन्। गुलिया बोलिका मिठा क्याप्सुलले छोटो समयमा मान्छेहरूलाई मख्ख र लट्ठ पारे पनि झूटोको खेती धेरै दिन टिक्दैन। व्यक्ति, सङ्गठन र पार्टीलाई जीवन्त बनाउने र जनताको जीवनस्तर रूपान्तरण गर्ने मुख्य कुरो काम हो। कम कुरा गर्ने, बढी काम गर्ने र नतिजा दिनेलाई समाजले प्रोत्साहन दिनु पर्छ। कामले मात्रै नाम र सङ्केतलाई अर्थ दिन्छ। राम्रा कामलाई मात्र खादा, अबिर र फूलमालाले सम्मान मिल्छ। भ्रष्टाचार, अव्यवहार (या बेविचार) जस्ता खराब कामले अपमानित हुनुपर्छ। जब सकारात्मक सोचले असल दृष्टिकोण निर्माण हुन्छ, त्यसले मनमा सुविचार र ऊर्जा उत्पन्न गराउँछ। त्यो व्यवहारमा लागू गरिँदा वचन कार्यमा बदलिन्छ, अनि मात्र समाजमा सकारात्मक परिवर्तन र रूपान्तरणको अनुभूति हुन्छ।
अस्पतालमा डाक्टरको काम, विद्यालयमा शिक्षकको काम, राजनीतिमा जनप्रतिनिधिको काम र हरेक नागरिकको जिम्मेवार कर्म नै समाज रूपान्तरणको साँचो माध्यम हो। नाम र सङ्केतले प्रेरणा दिन सक्छन् तर रूपान्तरण कामले मात्र सम्भव हुन्छ।
नेपालको राजनीतिक इतिहासमा पार्टीहरू मिल्ने र फुट्ने घटना सामान्य भए पनि वास्तविक रूपान्तरण भने नाम र चिन्हले होइन, कामले सम्भव हुन्छ। हालै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका कम्युनिस्ट दलहरूको एकीकरणपछि नाम र चुनाव चिन्हको विषयमा ठूलो बहस चलेको छ। नाम र चिन्ह प्रतीक मात्र हुन् जसले अस्थायी पहिचान दिन सक्छन् तर समाज रूपान्तरणका लागि पर्याप्त हुँदैनन्।
व्यक्ति, संस्था, सङ्घ, सङ्गठन र पार्टीको शाब्दिक राम्रा नामभन्दा पनि सच्चा मन र निस्वार्थ व्यावहारिक कामले तिनीहरूको मूल्य र सम्मान निर्धारण गर्छ। कार्यहरूको निरन्तरताको शृङ्खलाले देश र जनताको भाग्य रेखा कोरिँदै जाँदा भविष्य उज्ज्वल हुन पुग्छ। पार्टीका चिन्ह, लोगो र झण्डा विचार र दर्शनका प्रतीक होलान् तर तिनले जनताको जीवनमा सुधार ल्याउन सक्दैनन्। वास्तविक परिवर्तन तब मात्र सम्भव हुन्छ जब नेताहरूले व्यक्तिगत स्वार्थबाट माथि उठी राष्ट्र र जनहितमा समाजलाई केन्द्रमा राखी सच्चा मनले ईमानका साथ जनमुखी काम र सेवा प्रदान गर्छन्। समाजमा रूपान्तरण ल्याउने शक्ति चर्का भाषण र राम्रा नाम होइनन्, काम र जिम्मेवारीमा हुन्छन्।
तस्वीरहरू: प्रचण्डको सचिवालय