
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूबाट फागुन २१ मा चुनाव नभए देश विघटन हुनेदेखि जेनजीको प्रतिकार गर्नुपर्नेसम्मका कुरा उठेका छन् ।
केही दिनदेखि चलिरहेको बैठक अन्तर्गत बिहीबार संस्थापन निकटका केन्द्रीय सदस्यले महाधिवेशनभन्दा चुनावले देशलाई निकास दिने कुरा उठाएका हुन् ।
बैठकमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले फागुन २१ गते निर्वाचन नभए देश नै विघटन हुने बताए । ‘फागुन २१ गते चुनाव भएन भने देश नै विघटन हुन्छ । त्यसैले तत्काल कांग्रेसको आवश्यकता महाधिवेशनभन्दा चुनाव हो,’ ढुंगानाले भने, ‘अर्कोतिर, विशेष महाधिवेशनले पनि पार्टीको समस्या समाधान गर्दैन । तर, महामन्त्रीहरू मानिरहनुभएको छैन ।’
बैठकमा केन्द्रीय सदस्य अजयकुमार चौरसियाले जेनजीको महिमा गाउनुको सट्टा प्रतिकार गर्नुपर्ने बताए । ‘जेनजीको महिमा गाउन छोडौं । महिमा गाउने हो भने सबैले जेनजीललाई छाडदिए हुन्छ । अन्तर्राष्ट्रिय शक्तिले जेनजीको नाममा आन्दोलन भड्काउँदा सरकारी सम्पत्तिदेखि नेताका घरमा आगजनी र विध्वंश भएको हो । यसैले जेनजीविरुद्ध प्रतिकार गर्नुपर्छ, लड्नुपर्छ ।’
संविधान बचाएकोमा राष्ट्रपतिलाई धन्यवाद भन्नेहरूले पार्टीमा राजा फर्काउने भनेर कुरा उठाएकोप्रति उनले आपत्ति जनाए । पार्टी संस्थापनका नेता रहेको चौरसियाले निर्वाचनपछि मात्रै महाधिवेशनमा जानुपर्ने बताए ।
केन्द्रीय सदस्य नागिना यादवले महामन्त्री गगन थापाभन्दा सहमहामन्त्री महेन्द्र यादवले प्रस्ताव गरेको महाधिवेशनको कार्यतालिका विधान अनुसारको भएको जिकिर गरिन् ।
‘महाधिवेशनको कार्यतालिका महामन्त्रीको भन्दा सहमहामन्त्रीको विधानबमोजिम छ,’ यावदले भने, ‘चुनावमा नजाने हो भने मात्रै अगाडि महाधिवेशन हुने हो । नत्र चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव सहमहामन्त्रीको ठीक छ ।’
पार्टीले अडान नलिए आफूहरू प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दा लिएर अदालत जाने पनि उनले बताइन् । पार्टी नेतृत्वका कारण विद्रोह भएको समेत उनको भनाइ थियो ।
अर्की नेतृ रूपा वि.क.ले चुनावपछि महाधिवेशनमा जानुपर्ने बताइन् । संस्थापन निकटकी केन्द्रीय सदस्य धना खतिवडाले निर्वाचनअघि महाधिवेशन गर्न प्रस्ताव गरिन् ।
‘महाधिवेशन हुने विश्वास महामन्त्रीहरूले दिलाउनुभएको छ,’ उनले भनिन्, ‘यसैले महाधिवेशन गरेर चुनावमा जाँदा कांग्रेसलाई फाइदा हुन्छ ।’
सदस्य अनिलकुमार रुँगटाले भ्याउने स्थिति भए चुनावअघि महाधिवेशन गर्न सकिने बताए । तर, समयको चाप भएकाले चुनावपछि मात्रै महाधिवेशन गर्नु उचित हुने उनको तर्क थियो ।
यस्तै, प्रदीपकुमार सुनुवारले चुनाव र महाधिवेशनको लडाइँमा नअल्झी एउटा निर्णयमा पुग्नुपर्ने बताए ।
नेता एनपी साउदले फागुनको चुनावलाई हेरेर महाधिवेशनमा जानुपर्ने बताए ।
‘अहिले महाधिवेशनको मिति निर्वाचन पछाडि तोक्दा फागुनको निर्वाचन पछाडि सरेको खण्डमा महाधिवेशन अझ पछाडि सार्नुपर्ने बाध्यता छ । त्यसकारण महाधिवेशनलाई निर्वाचनको सापेक्षतामा हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिश्चित भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ ।’
बिहीबारको बैठकमा अर्जुननरसिंह के.सी., एन.पी. साउद, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी र उर्मिला नेपाल के.सीले पनि धारणा राखेका थिए ।
केन्द्रीय सदस्य अमृत अर्यालले जेनजी आन्दोलनपछि अहिलेकै पार्टीको नीति र नेतृत्व लिएर चुनावमा जान नसकिने बताए ।
‘नियमित महाधिवेशन वा विशेष महाधिवेशन, जे गरे पनि समयमा गर्नुस् । निर्वाचनअघि नै गर्नुको विकल्प छैन । कृष्णप्रसाद सिटौलालाई व्यक्तिगत रूपले आलोचना गरिएको होइन । पहिले माओवादीसँग मिल्दा पराजित हुनुभयो । पराजित भएपछि राष्ट्रिय सभामा आउनुभयो । यो सबैले देखेको विषय हो,’ उनले भने, ‘उहाँ नै विशेष महाधिवेशन गलत हो, महाधिवेशन भयो भने चुनाव हुन सक्दैन भन्नुहुन्छ । अनि निर्वाचनमा जानुपर्छ पनि भन्नुहुन्छ । पछिल्लो आन्दोलनपछि नीति र नेतृत्व नसुधारिकन के भनेर जनताको माझमा जाने ? परिवर्तनलाई नमानी जनताको बीचमा जान सकिँदैन ।’

७३ जनाले बोल्न बाँकी भएकाले बैठक शुक्रबारका लागि पनि बोलाइएको छ ।
केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ जोश र युवाका अनुहारलाई अगाडि नसारे चुनावमा जान नसकिने बताए ।
‘युवाको मनमा निराशा छाएको छ । विदेशबाट फोनको आधारमा भोट खस्छ, हाम्रो भाषणको आधारमा होइन । हाम्रो प्रतिस्पर्धा कोसँग हो ? निराश मानसिकतासँग हो । निराशालाई आशा बदल्नुपर्छ,’ चौधरीले भने, ‘हामी ठूलो पार्टी हौं, तर के निकास खोज्न सक्दैनौं ? नयाँ ढंगले अगाडि बढ्न सकेनौं भने हामी झन् कमजोर हुन्छौं । पार्टीभित्रका नयाँ अनुहार, नयाँ ऊर्जा र जोश–जाँगर देखाउने कि नदेखाउने ? टेक्निकल कुरामा अल्झेर बस्ने ? जोसँग प्रतिस्पर्धा गर्ने हो उनीहरू अगाडि बढ्दैछन् । तर, हामी नयाँ पुस्तालाई जोड्दैनौं, बेवास्ता गर्छौं भने आन्तरिक चुनावमा जुनसुकै पक्षले जिते पनि पार्टी कमजोर हुन्छ ।’
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नयाँ नेतृत्वविना चुनावमा गए पार्टीले क्षति व्यहोर्नुपर्ने बताए ।
‘पार्टी केन्द्रीय कार्यसमितिमा महामन्त्रीबाट आगामी पुस १६–१९ का लागि र सहमहामन्त्रीबाट निर्वाचनपछि वैशाख २७–३० को प्रस्ताव प्रस्तुत भएको छ । आजको वस्तुगत परिस्थितिलाई आग्रह–पूर्वाग्रहविहीन भएर सोचौं,’ केसीले भने, ‘यथास्थितिमा निर्वाचनको कुरा गर्नु घातक हुन्छ । आमजनता र कार्यकर्ता साथीहरूको भावनालाई लत्याउने काम नगरौं ।’
११ औं महाधिवेशन ४० दिनको तयारीमा गरेकाले यसपटक बहाना बनाउन नहुने उनको भनाइ छ ।
‘कांग्रेसको नियमित अधिवेशन नै हामी सबैको माग हो । एघारौं महाधिवेशन मात्र ४० दिनको तयारीमा सम्पन्न भएको हामीकहाँ उदाहरण छ भने असाधारण परिस्थितिमा महाधिवेशन हुन सक्दैन भन्ने बहाना निरर्थक छ,’ केसीले भने, ‘एकातिर राजाको प्रत्यक्ष शासनको दबदबा, अर्कातिर माओवादी सशस्त्र द्वन्द्वको चरम उत्कर्षको अवस्थामा समेत ४० दिनको तयारीमा हामीले महाधिवेशन सम्पन्न गरेका थियौं ।’
नैनसिंह महरले पनि चुनाव र महाधिवेशनको चक्करमा मात्रै समय खर्चिन नहुने बताए ।
संस्थापन निकटको छुट्टै भेला
संस्थापक निकटका केही नेताहरूले छुट्टै भेला गरेर नियमित र विशेष महाधिवेशनको मागले पार्टी कमजोर हुने भन्दै चुनावलाई प्राथमिकता दिन माग गरेका छन् ।
कोशी प्रदेशका सभापति उद्धव थापा, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापासहितका नेताहरू भेलामा सहभागी थिए ।
मुख्यगरी, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशनका लागि दबाब बढाइरहेका बेला उनीहरूले काउन्टरमा भेला गरेका हुन् ।