
मोरङको लेटाङ–२, बुधबारेस्थित गौतम परिवारको सानो घरमाथि शोकको कालो बादल मडारिएको छ । घरको हरेक कुनामा नि:शब्दता र पीडा भरिएको छ, जहाँ १३ वर्षीया अंशु गौतमको हाँसो गुञ्जिन्थ्यो । ‘अहिले हाम्रो हाँसो हरायो, हरबखत आँसु बगिरहेको छ,’ ७० कटेका हजुरबुबा श्रीविलास भन्छन् ।
उनकी नातिनिको विभत्स हत्या भएको झन्डै एक महिना बितिसक्दा पनि न्याय नपाएको पीडाले यो परिवारलाई हरेक पल पोलिरहेको छ । विसं. २०३४ सालमा ताप्लेजुङको हरियाली काख छाडेर मोरङ झरेको यो परिवारले कहिल्यै सुखको सास फेर्न पाएन । यसअघि चिस्याङ खोलाले जग्गा बगाएपछि गौतम परिवार सुकुम्वासी बनेको थियो । जीवनभर दु:ख र सङ्घर्षसँग जुध्दै आएका श्रीविलासका लागि नातिनि अंशुको हत्या जीवनकै सबैभन्दा ठूलो र असह्य बज्रपात बनेको हो ।
घर नजिकैको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने अंशु हँसिली स्वाभावकी थिइन् । असोज २१ गते दिउँसो पनि उनी खेल्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन् ।
हजुरबुबा श्रीविलास त्यो क्षण सम्झँदै भन्छन्, ‘म जान्छु है बुबा भनेकी थिई । मैले नजा, सानै छस्, यताउता नहिँड् भनेको थिएँ । तर एकैछिनमा ऊ गइहाली ।’ त्यो नै उनको परिवारसँगको अन्तिम संवाद बन्यो ।
साँझसम्म पनि अंशु घर नफर्केपछि परिवार आत्तियो । रात बित्यो, दिन बित्यो, तर अंशुको कुनै खबर आएन । उनको पर्खाइमा परिवारको निद्रा र भोक सबै हरायो ।
हराएको १८ दिनपछि, कार्तिक ७ गते, घरबाट करिब साढे चार किलोमिटर टाढाको जङ्गलमा अंशुको शव क्षतविक्षत अवस्थामा फेला पर्यो । त्यो दर्दनाक क्षण सम्झँदा हजुरबुबाको मुटु अझै काँप्छ । ‘कसैले फोन गरेर लास छ भन्यो । म दौडेर गएँ,’ उनी भन्छन्, ‘एउटा चप्पल एकातिर, अर्को अलि पर थियो । नातिनीको चप्पल देख्नेबित्तिकै उसकी आमा बेहोस भइन् । त्यो दृश्य म कसरी वर्णन गरुँ ? शरीरका अंगहरू छुट्टिएका थिए, टाउको कुहिएको थियो । छालासहितको कपाल छुट्टिएको थियो । त्यो दृश्य देखेपछि म पनि बेहोस् जस्तै भएँ ।’
अहिले अंशुका बुबा नवीन र आमा विनालगायत परिवारका सबैको अवस्था विक्षिप्त छ । छोरीको हत्याको पीडाले उनीहरू अर्धचेत अवस्थामा छन् । हजुरआमा दिनभर नातिनी पढ्ने स्कुल हेरेर टोलाउँछिन् । गौतम परिवारको काठको दुईतले घर छ । घरको बरण्डामा बसेर नातिनि पढ्ने विद्यालय हेर्ने गर्छिन् । घर र विद्यालय नजिकै पर्छ ।
घरमा कोही मान्छे पुग्नेवितिकै हजुरआमाले नयाँ खबर केही ल्याउनु भयो कि भनेर सोध्ने गर्छिन् । यो परिवारले एउटै मात्र माग राखेको छ– न्याय । हत्यारा पक्राउ नपरेसम्म र उसलाई कानूनी कठघरामा नउभ्याएसम्म अंशुको शव नबुझ्ने र दाहसंस्कार नगर्ने उनीहरूको अडान छ । अंशुको शव हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । ‘प्रहरीले अनुसन्धान पूरा गरेर छोरीको हत्यामा संलग्न दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरू बताउँछन् ।
मोरङ प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले अनुसन्धान भइरहेको बताइन् ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार बलात्कारपछि उनको हत्या भएको आशंका गरिएको छ । ‘घट्नाको अवस्था हेर्दा बलात्कारपछि हत्या गरिएजस्तो देखिन्छ,’ ती प्रहरी अधिकृतले भने ‘हाम्रो अनुसन्धानले पनि त्यस्तै देखाउँछ । अनुसन्धान पनि साँघुरिँदै गएको छ ।’
प्रहरी नायब उपरीक्षक चुडालका अनुसार अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि प्रदेश प्रहरीका विशेष टोली र विज्ञहरूको समेत सहयोग लिइएको छ ।
प्रहरीले अनुसन्धान साँघुरिँदै गएको र छिट्टै अपराधीलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएको छ । तर, प्रहरीको यो आश्वासनले मात्र गौतम परिवारको मनमा लागेको घाउमा मलम लगाउन सकेको छैन ।
हजुरबुबा श्रीविलास भन्छन्, ‘अपराधी पत्ता लागेपछि केही सन्तोष हुन्थ्यो कि ! जे हुनु भइगयो, अब कराएर, रोएर मेरी नातिनि फर्केर आउँदिन । तर, यस्तो गर्नेलाई कडाभन्दा कडा सजाय हुनैपर्छ ।’
गौतम परिवारको यो पीडा शब्दमा वर्णन गर्न सकिँदैन । उनीहरूको आँखामा आँसु मात्र होइन, आक्रोश र न्यायको भोक पनि छ । अंशुको आत्माले शान्ति पाउँदैन र उनको हत्याराले सजाय पाउँदैन, तबसम्म यो परिवारको आँगनमा खुसी फर्किने छैन ।