
लिम्बू संस्कृति र सामाजिक सन्देश बोकेका दुई नेपाली चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मनविनाको धन’ आजदेखि एकसाथ प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले दर्शकलाई सांस्कृतिक उत्सव र जीवनका गहिरा कथाहरूको विकल्प प्रदान गर्दै विविधतालाई समृद्ध बनाउने अपेक्षा गरिएको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी २ : सङ अफ च्याब्रुङ’ यसअघि २०८० सालमा प्रदर्शन भएको ‘जारी’को दोस्रो भाग हो ।
लिम्बू समुदायको च्याब्रुङ नृत्य र सांस्कृतिक पहिचानलाई केन्द्रित गरेको चलचित्रले माओवादी द्वन्द्वकालमा एक दम्पतीको जीवनमा आउने उतारचढावको कथालाई चित्रण गरेको छ ।
'मैले ‘जारी’ लाई शृङ्खलाबद्ध रूपमा अगाडि नबढाउन चाहेको हो, तर च्याब्रुङ गीतको कथा आएपछि निरन्तरता दिएँ । साथीहरूसँग सल्लाह माग्दा पनि दोस्रो भाग बनाउँदा राम्रै हुन्छ भन्ने सल्लाह पाएँ । म आफ्नै अडानबाट पछि हटेँ । तर, हामीले संस्कृतिसँगै समाज र परिवेशलाई पनि जोड्ने कोसिस गरेका छौं,' उनले भने ।
उक्त चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सद्वारा निर्माण गरिएको चलचित्रले पहिलो दिन नेपालभर दुई सय ६९ भन्दा बढी शो पाएको निर्माण पक्षले जानकारी दिएको छ ।
यस्तै, आजदेखि नै प्रदर्शन भएको दोस्रो चलचित्र ‘मनबिनाको धन’ बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर तयार गरिएको छ ।
गायक दर्जीलाई सडकबाट उद्धार गरेर गायनसम्ममा साथ दिएका सङ्गीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गरेको उक्त चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै गायक दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।
'सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उहाँकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रूपमा तयार गरेका छौं तर मूलभूत घटनाक्रम उहाँकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरञ्जन पनि दिन्छ,' निर्देशक बुढाथोकीले भने ।
गायक दर्जी हाल कक्षा ९ मा अध्ययनरत रहेकाले चलचित्रका रूपमा यो उमेरका लागि यही पहिलो र अन्तिम हुने उनले बताए ।
उक्त चलचित्रमा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारले अभिनय गरेका छन् ।
उक्त चलचित्रले नेपालभर पहिलो दिन ९५ बढी शो पाएको निर्माण पक्षले जानकारी दिएका छन् ।