०२ असार २०८३, मंगलबार
५० वर्षे औद्योगिक यात्रा

बुटवलमा औद्योगिक आधारशीला तयार गर्ने राजेन्द्र

कात्तिक २२, २०८२
बुटवल
बुटवलमा औद्योगिक आधारशीला तयार गर्ने राजेन्द्र

सरकारले ५० वर्षअघि अर्थात् २०३२ सालमा बुटवल औद्योगिक क्षेत्र स्थापना गर्‍यो। देशमा औद्योगिक विकासको यात्रामा पहिलो उद्योग स्थापना गर्ने उद्योगी हुन् बुटवलका इन्जिनियर राजेन्द्र गुरुङ। लमजुङमा जन्मिएर काठमाडौं, हेटौंडा हुँदै बुटवल आइपुगेका राजेन्द्रले २०३५ सालमा उद्योगको जग राखेर पहिलो पाइला चालेका थिए।

विसं २०२५ मा भारतबाट इन्जिनियरिङको पढाइ सकेर केही समय सडक विभागमा सरकारी जागिर खाए पनि त्यसलाई त्यागेर दूरगामी सोचका साथ जोखिम मोलेरै गुरुङले शुरू गरेको 'औद्योगिक' यात्रा अहिलेसम्म जारी छ। इमान र निष्ठाका साथ उद्योगमा लागेका उनको इन्टर टेक ग्रुप इन्डष्ट्रिजले अहिले नेपालको औद्योगिक क्षेत्रमा ठूलो हिस्सा लिएको छ।

औद्योगिक र व्यापारिक नगरी बुटवलमा त्यो बेला इन्जिनियर गुरुङले शुरू गरेको उद्यमको यात्राले राष्ट्रमा औद्योगिक विकासको आधारशिला बनेको चर्चा अहिले पनि हुन्छ। आफूसँगै भारतमा इन्जिनियर पढेका साथी रतनलाल अग्रवाल र राजेन्द्र मिलेर तीसको दशकमा इन्टरटेक प्रालिमार्फत् फलामजन्य सामान उत्पादन गरी बजारमा पठाउन शुरू गरेका थिए।

विसं २००२ मा जन्मिएर पाँच दशकदेखि उद्योग क्षेत्रमा सक्रिय ८० वर्षीय राजेन्द्र भन्छन्, 'इन्टर टेक औद्योगिक क्षेत्रको पहिलो र रूपन्देहीको प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भएको उद्योग हो।'

सानो क्षेत्रबाट प्रालिले हाइड्रो पावरको टर्बाइन, सोलर ड्रायर र सोलर वाटर हिटर उत्पादन शुरू गरेको थियो। उद्योगले देशका अधिकांश जिल्लामा झोलुङ्गे पुलका (लठ्ठा) बाहेकका पार्टस्, ठूला ट्याङ्की, टावर, ट्रसलगायत इन्जिनियरिङ, कन्सल्टेन्सी र सबै प्रकारका स्टील फेब्रिकेशनको काम गर्दै अघि बढेको थियो।

'म बुटवल झर्दा पारि बुटवललाई खासमा बटौली भनिन्थ्यो। तिनाउ नदीवारि अहिले बजार भएको क्षेत्रमा दुई चार वटा घर मात्र थिए,' उनी सम्झिन्छन्, 'बुटवल टेक्निकल इन्ष्टिच्यूट (बीटीआई) थियो। त्यहाँ एउटा प्लाइउड फ्याक्ट्री थियो। औद्योगिक क्षेत्र भर्खरै 'स्थापित' हुँदै थियो त्यो बेला। म आउँदा श्रीबहादुर कार्की औद्योगिक क्षेत्रमा प्रबन्धक थिए। उनी मेरो हितैषी साथी थिए।'

उनी उद्योगको क्षेत्रमा आउँदाका अप्ठ्याराहरूलाई सहजै सामना गरे। उद्योगसम्बन्धी वस्तुनिष्ठ ज्ञान, सीप, दर्शन र सिद्धान्तमा उनले पकड बलियो बनाए। देशभर बजारमा बलियो लिंक, नवीनतम् सोच र चुस्त कामले उनले पचासको दशकदेखि उद्योगमा आफ्नो सञ्जाल विस्तार गर्न सफल भए। 'देशका पहाडी क्षेत्रलाई जोडेर सुगमता बनाउने १ हजारभन्दा बढी झोलुङ्गे पुलका पार्टस् हाम्रो उद्योगका उत्पादन हुन्। त्यस्तै आयल निगमका ठूला ट्याङ्कीहरू, पेट्रोल पम्पका धेरै ट्याङ्कीहरू पनि इन्टरटेकका उत्पादन छन्,' उनी भन्छन्।

राजेन्द्रको यात्रा साधारण परिवारबाट शुरू भएको हो। उनी बाल्यकालमै प्राविधिक विषयप्रति आकर्षित थिए। भारतबाट पढाइ पूरा गरेपछि सरकारी जागिर खोज्न शुरू गरे पनि त्यसलाई छाडेर उद्योग गर्नुपर्छ भन्ने सोच त्यही बेला आएको उनलाई सम्झना छ। 'उद्योग सञ्चालनमा आए पनि शुरूवाती दिन सहज थिएनन्,' उनी सम्झिन्छन्, '६० हजार पूँजी र १ लाख ऋणमा उद्योग शुरू गरिएको हो। भवन बनाउन सिमेन्ट पाउनसमेत अभाव थियो। विस्तारै उद्योगले राम्रो मार्केट लिँदै गयो। अहिले दर्जनौंलाई रोजगारी दिने र देशका सबै क्षेत्रदेखि विदेशमा समेत हाम्रो उत्पादन पुल बनाउन जाने गरेका छन्।'

इन्टरटेक समूहले प्लाष्टिकको क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै अघि बढ्यो। इन्टर टेक प्याकेजिङअन्तर्गत पोलिभिन, ननओभन जुटका खाद्यान्न प्याक गर्ने झोला तथा शपिङ झोलाहरू उत्पादन गर्दै आइरहेको छ। सँगै प्लास्टिकका त्रिपाल, पीपीआर, एचडीपीई र यूपीभीसीका पाइप र फिटिङका उत्पादन गर्दै अहिले बजार विस्तार गरिरहेको छ।

नयाँ प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादन प्रतिस्पर्धी मूल्यमा र समयमा आफ्ना ग्राहकहरूसमक्ष पुर्‍याउन इन्टरटेक लागिरहेको छ। आईटीपीएफ ब्राण्डका ३ लेयर पीपीआर पाइप र फिटिङ्गस् बजारमा सहजै रूपमा उपलब्ध गराउँछ। यो ब्राण्ड ५० वर्षभन्दा बढी टिकाउ हुने उनी बताउँछन्। उद्योग सञ्चालन गर्दा अनेक अल्झन आए। कहिले बिजुलीको अभाव, कहिले कच्चा पदार्थको अभाव, कहिले सरकारी नीति–नियमको अस्थिरताका कारण विभिन्न समस्याहरू झेल्नुपरेको उनी सुनाउँछन्।

उनको सपना अझै पनि पूरा भएको छैन। बुटवलमा केवलकारको अवधारणा पनि उनैले ल्याएका हुन्। बुटवलमा अहिले लुम्बिनी र सिद्धार्थ गरी दुई वटा केबलकार सञ्चालनमा छन्। सिद्धार्थ केबलकारको अध्यक्षसमेत रहेका राजेन्द्र भन्छन्, 'बुटवलबाट माथि डाँडा नुवाकोटमा केबलकार बनाएर यस क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्न सकिन्छ भन्ने दश वर्षअघिको सोच अहिले पूरा भएको छ।'

दुई वर्ष अघिदेखि सिद्धार्थ केवलकार सञ्चालनमा छ। उनले अहिले पनि सबैलाई उद्यममा लाग्नुपर्छ भन्ने हौसला प्रदान गर्छन्। बाबाको प्रेरणाले राजेन्द्रका तीन जना छोरीहरू सृष्टि, सोनाली र शिल्पी उद्योग क्षेत्रमा क्रियाशील छन्। कंक्रिटको विकल्पमा घर निर्माणमा तीन दिदीबहिनीले ‘लाइट गेज’ प्रयोग गरेका छन्। अहिले इन्टर टेक ग्रुप दिदीबहिनीले पनि हेर्दै आएका छन्। नेपाल औद्योगिक क्षेत्रमा ठूलो सम्भावना भएको मुलुक हो। नेपालमा जस्तोसुकै उद्योगधन्दा र कलकारखाना खोले पनि चल्न सक्छ।

नेपालजस्तो अवसर भएको मुलुक अरू देशमा भएजस्तो आफूलाई नलाग्ने राजेन्द्रको बुझाइ छ। तर, उद्योगीलाई कहिल्यै पनि खुलेर काम र लगानी गर्ने वातावरण देशमा बन्न नसकेको उनको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्