
चीनको सिचुआन प्रान्तमा हालै उद्घाटन गरिएको होङची पुल आंशिक रूपमा भत्किएको छ । दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो पुल राष्ट्रिय राजमार्गमा बनाइएको थियो र लगभग ७५८ मिटर लामो छ ।
सोमबार दिउँसो पहाड र पुल वरपरका सडकहरूमा चिराहरू देखा परेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार पहाड चिप्लन थालेपछि, अधिकारीहरूले सुरक्षा कारण देखाउँदै तुरुन्तै पुल बन्द गरेका थिए । पहाडबाट ठूलो मात्रामा माटो खसेको थियो, जसले गर्दा पुलको एक भाग भत्किएको समाचारमा उललेख छ ।
अहिलेसम्म कुनै घाइते वा मृत्युको रिपोर्ट आएको छैन । भिडियोमा धुलोको बादल उडिरहेको र भाँचिएको पुलको खम्बा चट्टान र तलको नदीमा खसेको देखाइएको छ ।
पुल यस वर्ष पूरा भएको थियो । यो चिनियाँ मैदानहरूलाई तिब्बतसँग जोड्ने राष्ट्रिय राजमार्गमा निर्माण गरिएको थियो र सेप्टेम्बर २८ मा यातायातको लागि खोलिएको थियो । पुल उपत्यकाको भुइँबाट लगभग ६२५ मिटर माथि रहेको रिपोर्ट गरिएको छ ।