२५ जेठ २०८३, सोमबार
जेनजी आन्दोलन

भदौ २४ को विध्वंश– केही भिडियो केलाउँदा भेटिए, केही अर्कै अपराधका क्रममा

३१ हतियार र ५४६ गोली बरामद, २९ जनामाथि अनुसन्धान
कात्तिक २६, २०८२
काठमाडौं
भदौ २४ को विध्वंश– केही भिडियो केलाउँदा भेटिए, केही अर्कै अपराधका क्रममा

जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज वृत्त जलाउने, तोडफोड गर्ने र प्रहरीलाई नै कुटीकुटी मार्नेको खोजी गरिरहेका बेला एक व्यक्ति गत शनिबार सामाखुसीमा भेटिए । उनी हुन्, ईन्द्रबहादुर राई । राजावादी समूहको प्रदर्शनमा राईले कजारिया लेखिएको टिसर्ट लगाएर गएका थिए ।

प्रहरीले गत भदौ २४ गते महाराजगञ्ज वृत्तनजिक खिचिएका भिडियो केलाइरहेका बेला यिनै राई कजारिया टिसर्ट लगाएरै आन्दोनलमा गएको भेटिए । त्यहाँ उनले प्रहरीलाई कुटेको पनि देखिन्छ ।

शनिबार पक्राउ परेका राईलाई प्रहरीले भडियो देखाउँदै सोध्यो, ‘यो व्यक्ति तिमी नै होइन ?’ राईले ‘हो’ भनेर जवाफ दिए । अनि अनुसन्धान शुरू भयो । राईको मोबाइल खोसियो । मोबाइलमा आन्दोलनका भिडियोहरू थिए ।

भोजपुरस्थित दोभान गाउँपालिका – २ घर भएर काठमाडौं महानगरपालिकाको पवित्रनगरमा डेरा गरी बस्दै आएका राईलाई उनकै कोठामा लिएर प्रहरी पुग्यो । राईले कोठा सार्न भनेर सामानहरू पोका पारेर राखेका थिए ।

प्रहरीले शंका लागेर पोका खोतल्दा पेस्तोल, म्यागजिनमा लोड गरिएको ७ राउन्ड गोली, आन्दोलनको दिन लगाएको जुत्ता लगायतका सामग्री फेला परे ।

प्रहरीलाई कुटेर मार्ने अनि हतियार पनि लुटेर लैजाने ? भन्दै प्रहरीले सोध्दा राईले भने, ‘त्यो दिन अरू आन्दोलनकारीले पनि हतियार लगेका थिए, प्रहरीलाई कुटेका थिए, मैले पनि आवेशमा आएर गरेँ ।’

प्रहरीले उनलाई अर्को प्रश्न गर्‍यो,‘ तिमीलाई प्रहरीले खोजिरहेको भन्ने थाहा थिएन ?’ राईले जवाफ दिए, ‘मेरो भिडियो अरूले खिचेका होलान् भन्ने पत्तो थिएन, म त आनन्दले हिँडिरहेको थिएँ, अब पक्राउ गर्दैन होला भनेर त्यतातर्फ ख्यालै गरिनँ ।’ राईले मासु पसलमा ‘बुचर’को काम गर्दै आएका थिए ।

***

गत आइतबार कालिमाटी वृत्त प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो । टेकुमा डेरा गरी बस्दै आएका सुजन श्रेष्ठ र अमर शाही लागूऔषध खैरो हेरोइनको कारोबारी भएको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

शंका लागेर प्रहरीले उनीहरूको मोबाइल जाँच गर्दा हतियारको जस्तो फोटो फेला पर्‍यो । प्रहरीले फोटो देखाउँदै श्रेष्ठलाई हतियार खै ? भनेर सोध्यो । उनले शुरूमा उक्त फोटो आफूले सामाजिक सञ्जालबाट लिएको बताए । प्रहरीले अलि बढी केरकार गरेपछि कोठामा लुकाएर राखेको बयान दिए । प्रहरीले कोठामा गएर हेर्दा दराजमुनि एउटा रिभल्बर र दुई राउन्ड गोली बरामद भयो । शाहीसँग पनि हतियार भएको आशंकापछि प्रहरीले डेरामा लगेर खानतलासी गर्दा डेरा अगाडि रहेको इनारको चेपमा रिभल्बर, त्यसमा लाग्ने एक राउन्ड गोली र एसएलआरमा लाग्ने तीन राउन्ड गोली बरामद गर्‍यो ।

प्रहरी बयानमा उनीहरूले यी हतियारहरू आफूलाई अर्का एक व्यक्तिले दिएको बताएका छन् । प्रहरीले ती व्यक्तिको खोजी गरिरहेको छ ।

श्रेष्ठ र शाही २०/३० हजार पाए उक्त हतियार बिक्री गर्ने योजनामा थिए । उनीहरूबाट बरामद हतियार पनि प्रहरीकै हुनसक्ने आशंका छ । कालिमाटी वृत्तले अभिलेख भिडाउन हतियार नम्बर प्रहरी प्रधान कार्यालयमा पठाएको छ । राई र शाहीबाट हतियारसँगै ०.९२ ग्राम खैरो हेरोइन र ३२ हजार रुपैयाँ समेत बरामद गरेको थियो ।

बानेश्वर वृत्तका प्रहरीलाई बर्दी खोल्न लगाएर आतंक सिर्जना गर्ने सिराहाका २२ वर्षीय शेख सिद्धिकी पनि अहिले प्रहरी हिरासतमा छन् ।

भदौ २४ गते उनीसहितका आन्दोलनकारीले प्रहरी वृत्त बानेश्वरमा पुगेर प्रहरीलाई बर्दी खोल्न लगाई उनीहरूले बोक्ने हतियार लुटपाट र कार्यालय आगजनी गरेको भिडियोका आधारमा पक्राउ गरिएको हो ।

***

काठमाडौं महानगरपालिका –३१ आलोकनगर बस्ने सिद्धिकी आन्दोलनपछि चाडबाड मान्न सिराहा पुगे । उनी छठ सकिएपछि काठमाडौं फर्किएका थिए ।

प्रहरीले उनको खोजी गरिरहेको थियो । गत आइतबार प्रहरीले उनलाई नियन्त्रणमा लिएर डेरा सर्च गर्दा ग्यास गनमा लाग्ने दुईवटा सेल बरामद गरेको थियो ।

सिद्धिकीको बयान उद्धृत गर्दै प्रहरीले भन्यो, ‘त्यो दिन खै के भयो के, आफ्नै उमेर समूहका पनि थुप्रै आन्दोलनमा गएका थिए, २३ गते प्रहरीले गोली हानेर भटाभट प्रदर्शनकारी मारेपछि मन थाम्न सकिनँ, अनि प्रहरीसँग रिस उठ्यो भन्ने उसको कुरा छ ।’ प्रहरी कार्यालयबाट भटाभट अरू साथीहरूले पनि हतियार लगेपछि आफूले पनि लगेको बयान सिद्धिकीले दिएका छन् ।

***

बानेश्वर वृत्तकै प्रहरीको पोशाक र ह्वील लक लुटेको आरोपमा धनुषाको बटेश्वर गाउँपालिका– ५ का १८ वर्षीय शिवम चौधरी प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

उनले भदौ २३ र २४ मा संसद भवनमा गएर प्रहरीमाथि ढुंगामुडा र गाडी जलाउने काम गरेका थिए । संसद् भवनबाटै उनी प्रहरी वृत्त बानेश्वरमा पुगेर प्रहरीकै पोशाक र ट्राफिकले प्रयोग गर्ने ह्वील लक लुटेर भागेका थिए । आन्दोलनको रापताप सकिएपछि चौधरी घर गए । छठ मनाएर फर्किएका चौधरीलाई उनी बस्ने डेरा ललितपुर महालक्ष्मीस्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

राई, श्रेष्ठ, शाही, सिद्धिकी र चौधरी जस्तै प्रहरीका हतियार लुटेको, प्रहरी कार्यालय आगजनी एवं तोडफोड गरेको आरोपमा अहिले काठमाडौं प्रहरीको हिरासतमा २९ जना छन् ।

हिक्मत बुढा, तपेन्द्र बुढा, भावना बुढा, शर्मिला बुढा, हिराबहादुर मगर, नविन केसी, जीवेश सापकोटा, आवास चन्द, समीर खड्का, हिमाल आचार्य, रोहित राउत, निरोज कार्की, विजय तामाङ, रिपक केसी, लक्ष्मण श्रेष्ठ, उत्तम भुजेल, राजन भुजेल, कुमार पाख्रिन, शिवकुमार बिक, एलेक्स नेपाली, प्रभात मल्ल, कृष्ण गुरुङ, राजन देउला, अकबर खान, सुनिल शाक्य, शिव धमला र वान्सु लामा परिसरको हिरासतमा छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी युनिटको सहयोगमा पक्राउ गरिएका उनीहरूलाई काठमाडौं परिसरले मुद्दा चलाएको छ ।

उनीहरूबाट प्रहरीले २३ वटा पेस्तोल, २० वटा म्यागजिन, पेस्तोलमा लाग्ने ५१३ वटा गोली बरामद गरेको छ ।

त्यस्तै, दुईवटा रिभल्वर, दुईवटा सर्ट गन, एउटा इन्सास राइफल (म्यागजिनसहित), दुईवटा ग्यास गन, एसएलआरमा लाग्ने ३३ वटा गोली र एउटा हत्कडी प्रहरीले बरामद गरेको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार पक्राउ परेकामध्ये अधिकांश विगतमा पनि अपराधमा संलग्न देखिन्छन् ।

‘पक्राउ परेका झण्डै ७० प्रतिशत विगतमा पनि अपराधमा संलग्न भएको देखिन्छ,’ एसपी भट्टराईले लोकान्तरसँग भने, ‘हामी अझै पनि भिडियो हेर्दै तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजी कार्य गरिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्