०३ असार २०८३, बुधबार
फरक मोर्चाबाट समृद्धिको सपना

युद्ध छोडेर कृषि क्रान्ति गरिरहेका कृष्ण

कात्तिक २९, २०८२
विराटनगर
युद्ध छोडेर कृषि क्रान्ति गरिरहेका कृष्ण

उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–२, ताम्लिछाका कृष्ण पोख्रेलका लागि ‘क्रान्ति’ कुनै नौलो शब्द होइन । कुनै बेला राजनीतिक व्यवस्था बदल्ने सपना बोकेर जनयुद्धमा होमिएका उनै कृष्ण आजभोलि फरक मोर्चामा क्रान्तिको नेतृत्व गरिरहेका छन् ।

उनी अहिले कृषि क्रान्तिको मोर्चामा छन् । उनको हतियार बन्दुक होइन, कुटो र कोदालो बनेको छ । युद्धक्षेत्र राजनीतिक मैदान होइन, आफ्नै बारीको सुन्तला बगान बनेको छ ।

‘राजनीतिक क्रान्तिले अपेक्षाकृत नतिजा निकाल्न नसकेपछि अब कृषि क्रान्तिबाटै केही नतिजा निकालौँ भनेर लागियो,’ कृष्णले आफ्नो बदलिएको यात्राको सार सुनाए ।

२०५३ सालमा तत्कालीन नेकपा (माओवादी)को भातृ संगठनमा जोडिएर कृष्णले राजनीतिक यात्रा शुरू गरेका थिए । २०५६ सालदेखि पूर्णकालीन कार्यकर्ता बनेका उनले जनसरकार प्रमुख, सांस्कृतिक टोलीको कमिसारदेखि पार्टीको इलाका इन्चार्जसम्मको जिम्मेवारी सम्हाले । १५ वर्षसम्म उनको एउटै लक्ष्य थियो– देशमा आमूल परिवर्तन ल्याउने ।

तर, २०६७ सालमा काठमाडौंमा भएको आन्दोलन उनको जीवनको निर्णायक मोड बन्यो । माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्न गरिएको त्यो आन्दोलन असफल भएपछि कृष्णको मनमा गहिरो निराशा छायो । ‘त्यो आन्दोलन असफल भएपछि कम्युनिस्ट आन्दोलन २०० वर्ष पछाडि धकेलियोजस्तो लाग्यो, म जीवनमा धेरै रोएँ,’ उनी त्यो क्षण सम्झिँदै भन्छन्, ‘जुन सपना र ऊर्जा लिएर लागियो, त्यो खेर गएजस्तो लाग्यो ।’

यही मोहभंगले उनलाई गाउँ फर्कायो । तर, चुप लागेर बस्न उनको मनले मानेन । राजनीतिबाट मन भाँचिएपछि उनले आफ्नो ऊर्जा र लगानी माटोमा खन्याउने निर्णय गरे । शुरूमा बाख्रापालनबाट व्यवसायीक यात्रा थालेका कृष्णले विस्तारै सुन्तला खेतीमा भविष्य देखे । उनले ६००–७०० बोट सुन्तला रोपेर अभियानको थालनी गरे ।

null

कुनै बेला राजनीतिक व्यवस्था बदल्न जनयुद्धमा होमिएका कृष्ण आजभोलि फरक मोर्चामा छन् । अहिले कृषि क्रान्तिको मोर्चा सम्हालिरहेका कृष्णको हतियार पनि बदलिएको छ । बन्दुक छोडेर उनले कुटो–कोदालो बोकेका छन् र आफ्नै बारीको सुन्तला बगानलाई युद्धक्षेत्र बनाएका छन् । अवस्था बदल्न संघर्ष भने जारी नै छ ।

तर, यो यात्रा सोचेजस्तो सजिलो थिएन । गाउँमा परम्परागत खेती गरिरहेकाहरूका लागि उनको यो कदम ‘बौलाहापन’जस्तै थियो । ‘भात खाने बारी मासेर यस्तो काम गर्‍यो भनेर मेरा बुवाआमालाई नै भड्काउनेहरू धेरै थिए,’ शुरूआती संघर्ष सुनाउँदै कृष्णले भने ‘कतिले त उखेलेर फालिदिनुसम्म भने । जीवनभर देब्रेपट्टि जोतेको गोरुलाई बुढेसकालमा दाइने जोत्न खोज्दा त्यसले फर्किन मान्दो रहेनछ । समाजलाई नयाँ बाटोमा मोड्न निकै गाह्रो पर्‍यो ।’

तर, कृष्णले हरेस खाएनन् । जब उनका बोटमा लटरम्म सुन्तला फल्न थाले र आम्दानी देखिन थाल्यो । पहिला उनलाई ‘बौलाहा’ भन्नेहरू उनकै बाटो पछ्याउन थाले । आज उनको अगुवाइमा ताम्लिछाका ५०–६० घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका छन् । गाउँभरि १५ देखि २० हजार सुन्तलाका बोट हुर्किरहेका छन् । पूरै गाउँलाई ‘सुन्तला जोन’को रूपमा चिनिन थालेको छ ।

गत वर्ष मात्रै कृष्णले आफ्नो बगानबाट ४–५ लाख रुपैयाँको सुन्तला बेचे । गाईघाट, लाहान, जनकपुरदेखि इटहरीसम्म उनको सुन्तला पुग्छ । व्यापारीहरू गाडी लिएर बगानमै आइपुग्छन् ।

उनको अभियानबाट प्रभावित भएर होमनाथ भट्टराईजस्ता युवा ५०–६० हजारको जागिर छाडेर कृषिमा होमिएका छन् । कृष्णको अभियानले नयाँ पुस्तालाई पनि आकर्षित गरिरहेको छ ।

null

अहिले पार्टीको कोशी प्रदेश कमिटी सदस्य रहेका कृष्ण राजनीतिलाई पार्ट टाइम बनाएर कृषिमा पूर्णकालीन भएका छन् । उनी भन्छन्, ‘देशको समृद्धिको आधार नै कृषि हो, तर राजनीतिले सही बाटो लिन नसक्दा पछि पर्‍यो ।’

उनले लगाएको सबै बोट फल्न थालेका छैनन् । उनको जीवनले एउटा क्रान्तिबाट अर्को क्रान्तिमा फड्को मारेको छ । तर, एउटा कुरा भने समान छ– संघर्ष । ‘हरेक चिजमा संघर्षबिना उपलब्धि केही रहेनछ,’ उनी मुस्कुराउँदै भन्छन् ।

उनले राजनीतिक युद्धभूमिमा नपाएको सन्तुष्टि आज आफ्नै पौरखले हरियो भएको बगानमा पाइरहेका छन् । उनले सुन्तला खेती गर्नुभन्दा अगाडि बाख्रा पालन पनि गरेका थिए । अहिले भने थोरै मात्रै पालिरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्