
उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–२, ताम्लिछाका कृष्ण पोख्रेलका लागि ‘क्रान्ति’ कुनै नौलो शब्द होइन । कुनै बेला राजनीतिक व्यवस्था बदल्ने सपना बोकेर जनयुद्धमा होमिएका उनै कृष्ण आजभोलि फरक मोर्चामा क्रान्तिको नेतृत्व गरिरहेका छन् ।
उनी अहिले कृषि क्रान्तिको मोर्चामा छन् । उनको हतियार बन्दुक होइन, कुटो र कोदालो बनेको छ । युद्धक्षेत्र राजनीतिक मैदान होइन, आफ्नै बारीको सुन्तला बगान बनेको छ ।
‘राजनीतिक क्रान्तिले अपेक्षाकृत नतिजा निकाल्न नसकेपछि अब कृषि क्रान्तिबाटै केही नतिजा निकालौँ भनेर लागियो,’ कृष्णले आफ्नो बदलिएको यात्राको सार सुनाए ।
२०५३ सालमा तत्कालीन नेकपा (माओवादी)को भातृ संगठनमा जोडिएर कृष्णले राजनीतिक यात्रा शुरू गरेका थिए । २०५६ सालदेखि पूर्णकालीन कार्यकर्ता बनेका उनले जनसरकार प्रमुख, सांस्कृतिक टोलीको कमिसारदेखि पार्टीको इलाका इन्चार्जसम्मको जिम्मेवारी सम्हाले । १५ वर्षसम्म उनको एउटै लक्ष्य थियो– देशमा आमूल परिवर्तन ल्याउने ।
तर, २०६७ सालमा काठमाडौंमा भएको आन्दोलन उनको जीवनको निर्णायक मोड बन्यो । माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्न गरिएको त्यो आन्दोलन असफल भएपछि कृष्णको मनमा गहिरो निराशा छायो । ‘त्यो आन्दोलन असफल भएपछि कम्युनिस्ट आन्दोलन २०० वर्ष पछाडि धकेलियोजस्तो लाग्यो, म जीवनमा धेरै रोएँ,’ उनी त्यो क्षण सम्झिँदै भन्छन्, ‘जुन सपना र ऊर्जा लिएर लागियो, त्यो खेर गएजस्तो लाग्यो ।’
यही मोहभंगले उनलाई गाउँ फर्कायो । तर, चुप लागेर बस्न उनको मनले मानेन । राजनीतिबाट मन भाँचिएपछि उनले आफ्नो ऊर्जा र लगानी माटोमा खन्याउने निर्णय गरे । शुरूमा बाख्रापालनबाट व्यवसायीक यात्रा थालेका कृष्णले विस्तारै सुन्तला खेतीमा भविष्य देखे । उनले ६००–७०० बोट सुन्तला रोपेर अभियानको थालनी गरे ।

तर, यो यात्रा सोचेजस्तो सजिलो थिएन । गाउँमा परम्परागत खेती गरिरहेकाहरूका लागि उनको यो कदम ‘बौलाहापन’जस्तै थियो । ‘भात खाने बारी मासेर यस्तो काम गर्यो भनेर मेरा बुवाआमालाई नै भड्काउनेहरू धेरै थिए,’ शुरूआती संघर्ष सुनाउँदै कृष्णले भने ‘कतिले त उखेलेर फालिदिनुसम्म भने । जीवनभर देब्रेपट्टि जोतेको गोरुलाई बुढेसकालमा दाइने जोत्न खोज्दा त्यसले फर्किन मान्दो रहेनछ । समाजलाई नयाँ बाटोमा मोड्न निकै गाह्रो पर्यो ।’
तर, कृष्णले हरेस खाएनन् । जब उनका बोटमा लटरम्म सुन्तला फल्न थाले र आम्दानी देखिन थाल्यो । पहिला उनलाई ‘बौलाहा’ भन्नेहरू उनकै बाटो पछ्याउन थाले । आज उनको अगुवाइमा ताम्लिछाका ५०–६० घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका छन् । गाउँभरि १५ देखि २० हजार सुन्तलाका बोट हुर्किरहेका छन् । पूरै गाउँलाई ‘सुन्तला जोन’को रूपमा चिनिन थालेको छ ।
गत वर्ष मात्रै कृष्णले आफ्नो बगानबाट ४–५ लाख रुपैयाँको सुन्तला बेचे । गाईघाट, लाहान, जनकपुरदेखि इटहरीसम्म उनको सुन्तला पुग्छ । व्यापारीहरू गाडी लिएर बगानमै आइपुग्छन् ।
उनको अभियानबाट प्रभावित भएर होमनाथ भट्टराईजस्ता युवा ५०–६० हजारको जागिर छाडेर कृषिमा होमिएका छन् । कृष्णको अभियानले नयाँ पुस्तालाई पनि आकर्षित गरिरहेको छ ।

अहिले पार्टीको कोशी प्रदेश कमिटी सदस्य रहेका कृष्ण राजनीतिलाई पार्ट टाइम बनाएर कृषिमा पूर्णकालीन भएका छन् । उनी भन्छन्, ‘देशको समृद्धिको आधार नै कृषि हो, तर राजनीतिले सही बाटो लिन नसक्दा पछि पर्यो ।’
उनले लगाएको सबै बोट फल्न थालेका छैनन् । उनको जीवनले एउटा क्रान्तिबाट अर्को क्रान्तिमा फड्को मारेको छ । तर, एउटा कुरा भने समान छ– संघर्ष । ‘हरेक चिजमा संघर्षबिना उपलब्धि केही रहेनछ,’ उनी मुस्कुराउँदै भन्छन् ।
उनले राजनीतिक युद्धभूमिमा नपाएको सन्तुष्टि आज आफ्नै पौरखले हरियो भएको बगानमा पाइरहेका छन् । उनले सुन्तला खेती गर्नुभन्दा अगाडि बाख्रा पालन पनि गरेका थिए । अहिले भने थोरै मात्रै पालिरहेको उनले बताए ।