२८ जेठ २०८३, बिहीबार

७४९ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी सेवा

मंसिर ३, २०८२
काठमाडौं
७४९ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा ल्याएको छ ।

हुम्लाको सर्केगड– ३ र सर्केगड– ६ मा 2G तथा 4G सेवा सञ्चालनमा ल्याइएको टेलिकमका ​प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

उनका अनुसार सर्केगाड २, ३, ४ र ६ अन्तर्गत पर्ने गाउँबस्ती आसपासका सेवाग्राहीले पहिलो पटक गुणस्तरीय 2G/4G सेवा लिएका छन् ।​

उनापानी, स्यालटाडी, बराई गाउँ, ठूलाचौर, साधेकाट, रिपा, सर्केदेउलगायतका क्षेत्रमा उक्त सेवा सञ्चालनमा ल्याइएको प्रवक्ता मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै 4G सेवा विस्तार हुने स्थानीय तहको संख्या ७४९ पुगेको छ ।

यसैगरी टेलिकमले हुम्लाको अदानचुली– ६ मा 2G तथा 4G सेवा सञ्चालनमा ल्याएको छ ।

2G तथा 4G सेवा सञ्चालनमा आएसँगै  सर्केगाड गाउँपालिकाको वडा नम्बर २ र अदानचुली गाउँपालिकाका वडा नम्बर २, ३, ४, ५ र ६ अन्तर्गत पर्ने गाउँबस्ती आसपास क्षेत्रका सेवाग्राहीहरू लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरूमा पानचौर, कालिका लगायतका क्षेत्रहरू पर्ने कम्पनीले जनाएको छ ।

साथै, दैलेखको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा 4G सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नम्बर ३, ४ र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्लालगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ अन्तर्गत पर्ने बयलकाँडा लगायतका क्षेत्रहरू, तथा बराहताल वडा नम्बर ९ अन्तर्गत पर्ने लेकगाउँलगायतका भूभागमा सेवाग्राहीहरूले पहिलो पटक  गुणस्तरीय 4G सेवाबाट लाभान्वित भएका छन् ।

यसैगरी नेपाल टेलिकमले जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा 2G तथा 4G सेवा ल्याएको छ ।

2G/4G सेवा सञ्चालनमा आए पश्चात् जुनीचाँदे गाउँपालिकाका विभिन्न वडाहरू वडा नम्बर ७, ८, ९, १० र ११ अन्तर्गत पर्ने गाउँबस्ती आसपासका सेवाग्राहीले पहिलो पटक गुणस्तरीय 2G/4G सेवाबाट लाभान्वित भएका छन् ।

साथै डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।

वडा नम्बर १० को मिदग्ती लेकमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगै सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।

साथै, सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारी लगायतका क्षेत्र पनि सञ्चारको पहुँचमा जोडिएका छन् ।

टेलिकमको 2G/4G सेवा विस्तार भएसँगै यस प्रदेशका दर्जनौं बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।

नेपाल टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रका सेवाग्राहीहरूको सुविधाका लागि सेवा सञ्चालन ल्याएसँगै सो क्षेत्रमा बसोबास गर्ने बासिन्दा सेवाबाट लाभान्वित भएका छन् ।

ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले उक्त क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्