
बुटवलका बाबुराम श्रेष्ठ सानैदेखि पशुप्रेमी थिए। जंगली जनावर र पंक्षी पालनका शौखिन उनले विद्यालय पढ्दै गर्दा घरमा सुगा, बाँदर, स्याल र चितुवासम्म पालेका थिए। ठूलो भएपछि वैदेशिक रोजगारीका लागि बाबुराम युरोप (इटाली) पुगे। त्यहाँ झन्डै दुई दशक काम गर्दा व्यावसायिक वनकुखुरा पालन गरेको फार्म देखे।
इटालियन साथीको काकाले गरेको वनकुखुरा पालनमा पुगेका उनलाई नेपालमा लगेर आफूले पनि यस्तो पाल्न पाए कस्तो हुन्थ्यो होला भन्ने सोच आयो। उनले साथीलाई तिम्रो काकालाई कालिज पाल्नेबारे सिकाउन भनिदिन लामो प्रयत्न गरेपछि अवसर पाए। ९ महिना इटालियन वनकुखुरा फार्ममा पालन सिकाइको लागि बिना तलब काम गरे।
तालिम त लिए तर, नेपाल लैजान कसरी? त्यहीँ फार्ममा अण्डा, चल्ला, ठूलो कुखुरा दिन भने तर, फार्म सञ्चालकले आफूले पनि वनकुखुराका चल्ला फ्रान्सबाट ल्याउने गरेको बताएपछि उनी फेरि अप्ठ्यारोमा परे। इटालीबाट त्यहीँ फार्म सञ्चालकसँग कुराकानी र फोन सम्पर्कबाट फ्रान्स पुगे। त्यहाँ पुग्दा उनलाई चल्लाभन्दा अण्डा लैजान सजिलो हुने सुझाइयो । तर, फेरि अण्डा कसरी 'ह्याचरी' गर्ने अर्को झन्झट उनलाई थपियो। त्यहाँ उनले पुनः अण्डाबाट चल्ला उत्पादन गर्नेबारे तीन महिना 'ट्रेनिङ' गरे।
लामो संघर्षपछि नेपालमा वनकुखुरा पालन गर्ने सपनासहित १ हजार अण्डा बोकेर उनी आफ्नै जन्मभूमि नेपाल आए। स्वदेशमा आएर वनकुखुरा पालन गर्ने प्रक्रिया थाल्दा कानूनी झन्झटले गर्दा मान्यता पाउन नसकेपछि उनको सपना सपनामै सीमित भयो र उनी पुनः रोजगारीको लागि दश वर्षअघि इटाली फर्किए।
त्यहाँ उनको प्रवासमा बसेर राजनीति गर्ने एकजना नेपाली साथीसँग भेट भयो। उनले बाबुरामलाई कानूनी अप्ठ्यारो फुकाउन सहयोग गर्ने आश्वासन र पहल गर्ने ढाडस दिए। कानूनी इजाजत मिलाइदिने, तर वनकुखुरा पालन काठमाडौंमा हुनुपर्ने र उनीहरूलाई पनि साझेदारी (पार्टनरशिप) दिनुपर्ने भनेपछि बाबुराम राजी भए। उनको सोच बुटवलमा कुखुरा पाल्ने भए पनि बाध्यताले काठमाडौंमा गर्न तयार भए।
'त्यहाँका ६ जना साथीहरूसहित काठमाडौंको दक्षिणकालीमा एभरेस्ट वाइल्डलाइफ एग्रो एन्ड रिसर्च सेन्टर स्थापना गरियो,' बाबुराम भन्छन्, 'फ्रान्सबाट १० हजार २७५ वटा वनकुखुराका अण्डा बोकेर काठमाडौं आएँ। अण्डा 'ह्याचरी' गरी काठमाडौंमा एकसाथ पहिलो र ठूलो बनकुखुरा पालन शुरू भयो।'
दुई वर्ष काठमाडौंमा साझेदारीमा कुखुरा पालन गरेपछि त्यहाँ साथीहरूलाई सबै सिकाएर अब आफ्नै खाली रहेको जग्गामा यसलाई विस्तार गर्नुपर्छ भनेर उनी बुटवल झरे। कोरोना महामारीको दोस्रो लहरको बेला आफ्नो घर नजिकै आफ्नै जग्गामा बुटवल उपमहानगरपालिका–१८, मोतिपुरको हरिहरपुरमा वनकुखुराका लागि फार्म बनाए।
काठमाडौंबाट कालिज झारेर फार्ममा हालें। तर, काठमाडौंभन्दा बुटवलमा गर्मी बढी हुँदा कुखुरालाई केही असर भयो। 'कुखुराले अण्डा दिने सिजन चैत/वैशाखमा बढी गर्मी हुँदा फूल घामले सेकिँदा भित्रका भ्रूण मर्ने रहेछन्,' बाबुराम भन्छन्, 'कुखुरालेरूखमुनि गएर फुल पार्दा शीतलता हुन्छ भन्ने सोचसहित जिल्ला वन कार्यालयसँग समन्वय गरी फार्मभित्रै शीतलता प्रदानका लागि रूख रोपेँ। कुखुराले रूख बढ्न नदिने हुँदा तारबार गरी रूखहरू हुर्काए/बढाए। अहिले बाबुरामको फार्मका कुखुरालाई जंगलकै जस्तो वातावरण बनाइएको छ।'
पहिलेका कुखुरा बिक्री गरेर सकिए। त्यसपछि वास्तविक वनकुखुराको दुई जोडी उनलाई कतैबाट हात पर्यो। तर, उनले अण्डा खाएनन्, कुखुराले अण्डा बढाउँदै जाँदा चल्ला थपिँदै गए। 'कुखुराको बानी व्यवहार र सजिलोपन देखेर उनी खानका लागि दिएका अण्डा पनि खाएनन्,' उनी भन्छन्, 'नखाएर बढाउँदै गएँ। दुई वर्षमा ठूलो रूपमा विस्तार भयो। अनि बजार हेर्न थालें। अहिले हाम्रो फार्म कुखुरा पुर्याउन सकिँदैन।'
उनको कुखुरा फार्ममा अहिले अण्डा र चल्ला दुवै उत्पादन हुन्छन्। तर, उनले वनकुखुराको जोडी ठूला–ठूला बनाएर बिक्री गर्दै आइरहेका छन्। 'अण्डा र चल्ला बिक्री गर्नुभन्दा ठूला बनाएर बिक्री गर्दा राम्रो हुन्छ,' श्रेष्ठ भन्छन्, '४ हजार ५०० मा बासेको भाले र अण्डा पार्ने पोथी बिक्री गर्छु।' केही पालनको लागि पनि लैजान्छन्। मासुको लागि धेरैले भाले खोज्छन्। भालेको 'डिमान्ड' धेरै भएकोले अहिले पुर्याउन सकेको छैन। अहिले बाबुरामले वनकुखुराको मासु हङकङ र दुबई पनि पठाउने तयारीमा छन्।
उनको एकल फार्ममा अहिले १ करोड ५० लाख रुपैयाँ लगानी पुगेको छ। वनकुखुरा बिक्रीबाट अहिले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी कमाइ गर्ने गर्छन्। उनको कुखुराको खपत बुटवलभन्दा बाहिर बढी छ।
अहिलेसम्म कसैले पनि व्यावसायिक रूपमा वनकुखुरा पालन गरेको नदेखिएकाले आफ्नो कर्म पहिलो रहेको बाबुराम दाबी गर्छन्। उनको फार्ममा १ हजार ५०० वनकुखुराको लागि वन बनाएका छन्। त्यसको लागि २ बिघा क्षेत्रलाई जंगलको रूपमा विकास गरिएको छ। चरन क्षेत्रका साथै खाली बस्न रूख र ओथारो बस्न घाँसे मैदान पनि बनाएका छन्।
'नेपाली वनकुखुरा पाल्न अलि चुनौतीपूर्ण छ। वर्षमा एकपटक मात्र उत्पादन दिन्छ। एक वर्षमा दश वटा चल्ला निकालेर गर्न सकिँदैन। त्यसैले मेरोमा भएको भियतनामी वनकुखुरा हो। अहिले जापानी, भियतनामी, नेपाली र इन्डियन वनकुखुरा छन्, उनी भन्छन् ।'
बाबुराम आफ्नो रहरले वनकुखुरा पालनमा जोडिएको बताउँछन् । 'म पहिलो र नयाँ बन्ने रहरले यो क्षेत्रमा लागेको हुँ,' उनी भन्छन्, 'त्यति धेरै उथलपुथल पनि केही छैन। नयाँ र फरक गरेको छु। आफ्नै देशमा गर्नुपर्छ भन्ने सोच बनाएर युरोप छाडेर आएको हुँ। तर, यहाँको केही माहोल हेर्दा किन फर्केर आएछु भन्ने पनि कहिलेकाहीँ मनले सोच्छ। कृषि पेशामा कहिल्यै फुर्सदिलो भइँदैन। यो दुःखी पेशा पनि हो। केही व्यक्ति कृषिबाट पलायन भएको देख्दा नैराश्यता पनि लाग्छ ।'
'वन कुखुरो एक आकर्षक जंगली चरा हो। यो कुखुराकै एक प्रजाति हो,' अगाडि उनी थप्छन्, 'जंगलमा रहने भएका कारण नेपाली भाषामा यसलाई वन कुखुरो भन्ने गरिन्छ। देशअनुसार यसलाई फरक/फरक नामले समेत चिनिन्छ। विश्वका हजारौँ चरा प्रजातिमध्ये यो एक अनौठो महत्त्वपूर्ण चरो हो। यसलाई हरेक मानव समुदायले मन पराउँछन्। यो घरेलु कुखुराको पूर्वज हो।'
यो कुखुरा नेपाल, भारत र दक्षिण–पूर्व एसियामा पाइन्छ। यो चम्किलो रातो, सुन्तले, सेतो र हरियो मेटालिक रङ मिश्रित शरीर भएको, हल्का उडेर रूखमै सुत्ने अत्यन्तै चञ्चल हुन्छ। यो अति उड्ने भएकोले जाली बनाएर पाल्नुपर्ने उनको भनाइ छ । यिनले किरा, साना कीरा, घाँस, बुट्यान, मकै, गहुँ, मेलवार्म खाने बाबुराम बताउँछन्।
कालिज र वबनकुखुरामा धेरै फरक रहेको बाबुरामको भनाइ छ। 'कालिज वन कुखुराभन्दा बिल्कुलै फरक प्रजाति हो । व्यवहार र शरीर संरचनामा पनि ठूलो भिन्नता छ। धेरैले कालिज र वनकुखुरा एउटै हो भन्ने बुझ्छन्, त्यो होइन,' उनी भन्छन्। कालिज फिजेन्ट र कुखुरा ग्यालस (Gallus) प्रजातिमा पर्छ। कालिज भनेको पाटो (Parto) अलह हो। कालिज र वनकुखुराको पाटो धेरै फरक हो।'
बाबुरामको लुम्बिनी एभियान (Avian) इकोलोजी एन्ड रिसर्च सेन्टरमा जीवनसङ्गिनी कविता श्रेष्ठले साथ दिएकी छन्। सरकारले झोले नभई वास्तविक किसानसम्बन्धी अनुदान दिनुपर्छ भन्ने उनको माग छ। मासुजन्य वस्तुको अवैध आयात रोक्न सीमा क्षेत्रमा सरकारको कडाइ आवश्यक रहेको बाबुराम बताउँछन् ।
बाबुरामले गरेको मेहेनत र क्षमतालाई अहिले धेरैले पहिचान गरेका छन्। आफ्नो गाउँठाउँ मात्र होइन, लुम्बिनी प्रदेशमा वनकुखुरा पाल्ने किसानमा उनी दरिएका छन्। धेरै हन्डर ठक्कर खाएर व्यावसायिक कृषिकर्ममा उनले लिएको उचाइ अरू थुप्रैका लागि प्रेरक बन्न सक्छ ।