
भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले अफगानिस्तानका उद्योग तथा वाणिज्य मन्त्री अलहाज नुरुद्दिन अजीजीसँग भेट गरी आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे विस्तृत छलफल गरेका छन्। गोयलले सामाजिक सञ्जाल एक्समा भेटवार्ताका तस्वीर शेयर गर्दै अजीजीसँग द्विपक्षीय व्यापारलाई अझ प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जानकारी दिए।
गोयलका अनुसार दुवै देशबीच व्यापार तथा लगानी प्रवाह सहज बनाउने, वस्तु आवागमनलाई सुगम पार्ने र आपसी हितका साझेदारीलाई मजबुत बनाउने विषयमा सहमति भएको छ। उनले भारत–अफगानिस्तानबीचको जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेको बताए।
पाँच दिने भारत भ्रमणमा रहेका अजीजीले सोमबार भारतीय उद्योग तथा वाणिज्य महासंघ (ASSOCHAM) का प्रतिनिधिसँग पनि छलफल गरेका थिए। उनले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ गहिरो बनाउन र आर्थिक सहकार्यमा नयाँ अवसरहरू पहिचान गर्न भारत आएको बताए।
त्यसपछि आयोजित पत्रकार सम्मेलनमा अजीजीले काबुल भारतसँगको आर्थिक संलग्नता विस्तार गर्न इच्छुक रहेको उल्लेख गरे।
'भारत र अफगानिस्तान पुनः नजिकिँदै गरेको देखेर खुशी लागेको छ। केवल व्यापार होइन, हाम्रो राजनीतिक सम्बन्ध पनि सुदृढ छ। अहिले हामी राजनीति, व्यापार र लगानीका विभिन्न सम्भावनाहरू खोजिरहेका छौं,' उनले भने। उनका अनुसार दुवै देशका परराष्ट्र मन्त्रालयहरूले भ्रमणलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
अफगान मन्त्रीले खानी, कृषि, स्वास्थ्य र लगानी जस्ता क्षेत्रमा व्यापक सम्भावना रहेको उल्लेख गर्दै दुवै देशले द्विपक्षीय व्यापारलाई करिब एक अर्ब अमेरिकी डलरसम्म पुर्याउने लक्ष्य राखेको बताए। 'स्रोत र क्षमता दुवैतर्फ छ। निजी क्षेत्र पनि सहकार्यका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन इच्छुक छ,' उनले जोड दिए।
अजीजीले भिसासम्बन्धी केही चुनौती, एयर कर्पिडोर शुल्कलगायतका साना विषयहरू छलफलका क्रममा उठाइएका र समाधानतर्फ अघि बढेको जानकारी दिए। उनका अनुसार यी पहलहरूले आगामी महिनाहरूमा व्यापार, लगानी र ट्रान्जिट प्रवाहलाई उल्लेख्य रूपमा अघि बढाउनेछ।