
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सको अपराजित यात्रामा चितवन राइनोजको ब्रेक लगाएको छ ।
बुधबार भएको खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो । विराटनगर २२ बल बाँकी छँदै १२६ रनमा अलआउट भयो।
विराटनगरले यसअघि लगातार तीन खेल जितेको थियो ।
यो चितवनको दोस्रो जित हो । यसअघि खेलेका खुई खेलमा चितवनले एकमा मात्र जित हात पारेको थियो ।
विराटनगरका लागि मार्चेनट डे लाङ्गेले ३९ रनको योगदान गरे । प्रतिश जिसीले ३० र साम हेजलेटले २२ रन थप्दा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
चितवनका लागि रञ्जित कुमारले पाँच विकेट, कमलसिंह ऐरीले दुई, सोहेल तनविर र सैफ जैबले एक–एक विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । चितवनका लागि ब्याटिङमा रवि बोपारा चम्किँदा बलिङमा रञ्जित कुमार चम्किए ।
रञ्जितले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिए । चितवनका लागि अनुभवी ब्याट्सम्यान रवी बोपराले उत्कृष्ट अर्धशतकीय पाली खेले । बोपराले टोलीका लागि ६५ रनको योगदान गरे ।
पाँचौं नम्बरमा क्रिज समाल्न आएका बोपराले केवल ३८ बलमा चार छक्का र तीन चौका हिर्काए । उनले जारी सिजनको एनपीएलमा बनाएको यो तेस्रो अर्धशतक हो ।
बोपराले यसअघि कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । त्यसपछि लुम्बिनी लायन्सविरुद्धको खेलमा पनि उनले ६६ रन बनाएका थिए ।

दुवै ओपनरलाई सस्तैमा गुमाएको चितवनका लागि सेफ जेबले पनि ३२ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ३० बलमा एक छक्का र एक चौका प्रहार गरे ।
देव खनालले पनि टोलीको खातामा २८ रन थपे । तेस्रो नम्बरका ब्याट्सम्यान देवले २२ बलमा एक छक्का र तीन चौका हिर्काए ।
कप्तान कुशल मल्लले पनि १४ बलमा एक छक्का र एक चौकाको मद्दतले अविजित २० रन बनाए । ओपनर दीपक बोहरा पाँच र डेभिड मलान १७ रनमा आउट भएका थिए । अमर रौतेला तीन रनमा अविजित रहे ।
विराटनगरका बलर सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले दुई–दुई विकेट लिए । शुभम रन्जनेले पनि एक विकेट हात पारे । चितवनले अतिरिक्त रूपमा चार रन पायो ।