
बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् ।
जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो ।
‘भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन । नगरपालिका आफैंले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन’, महराले भने, ‘प्रदेश र संघीय सरकारसँग माग गरिरहेका छौं ।’
स्थानीय तहको १० लाख र संघीय सरकारको ५० लाख रूपैयाँ गरी जम्मा ६० लाख रूपैयाँ संयुक्त लगानीमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको हो । २०७९ सालमा भवन निर्माण भएको थियो ।
‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ ओटा ‘बेडसिट’ ट्रमा सेन्टरमा छन् ।
एक वर्षअघि खानेपानी र विद्युत् जडान भइसकेको छ । एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सके सञ्चालनमा ल्याउन सकिने स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ ।