२२ जेठ २०८३, शुक्रबार
भदौ २४ को विध्वंश

लहैलहैमा प्रहरी वृत्त जलाउन जाँदा फसाद– फोहोर टिप्नेले कहाँबाट तिर्ने २४ लाख ?

मंसिर १२, २०८२
काठमाडौं
लहैलहैमा प्रहरी वृत्त जलाउन जाँदा फसाद– फोहोर टिप्नेले कहाँबाट तिर्ने २४ लाख ?

काठमाडौंको नयाँबजार र ढल्कु क्षेत्रमा फोहोर संकलन गरेर बञ्चरेडाँडातर्फ पठाउँदै आएका होमबहादुर खड्का भन्ने विक्रम भुजेल र दीपक भुजेल अरूको लहलहैमा लाग्दा कारागार पुगेका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रहरी वृत्त लैनचौरमा आगजनी र लुटपाटको घटनामा जोडिएपछि उनीहरू अनुसन्धानको दायरामा आएका थिए ।

सँधाझैँ विक्रम र दीपक भदौ २४ मा पनि फोहोर संकलन गरेर बसिरहेका थिए । प्रहरी बिट ढल्कु अगाडि मानिसहरू थुप्रिएर नारा लगाइरहेको देखे । भदौ २३ मा प्रहरीको गोली लागेर तत्काल १९ जनाको मृत्यु भएको थियो ।

त्यसैको आवेगमा जेनजीका नाममा आन्दोलनकारीले प्रहरीको ढल्कु बिटमा तोडफोड र आगजनी गरेका थिए । विक्रम र दीपक पनि त्यहाँ पुगे । केहीले ‘अब सोह्रखुट्टे चौकी जानुपर्छ’ भनेपछि उनीहरू पनि नाराजुलुस लगाउँदै पकनाजोल कालधाराको बाटो हुँदै प्रहरी वृत्त लैनचौरतर्फ लागे ।

लैनचौर वृत्त पुग्नै लाग्दा एक अञ्जान व्यक्तिले मिनरल वाटरको बोतलमा पेट्रोल बोकेको देखेका थिए । ती व्यक्तिसँग विक्रम र दीपकले पेट्रोल भरेको बोतल मागे, अनि ‘हामी जलाउँछौँ चौकी’ भन्दै अगाडि बढे । उनीहरू प्रहरी वृत्त लैनचौर पुग्दा कार्यालयको शिशा तोडफोड भइसकेको थियो ।

प्रहरीहरू ज्यान जोगाउन भागिरहेका थिए । विक्रम र दीपकसहितले पार्किङमा राखेको सरकारी गाडीलाई धकेलेर चोकमा ल्याए । अनि आफूहरूले बोेकेको पेट्रोल गाडीभित्र छर्केर आगो लगाए । त्यहाँ पुगेका आन्दोलनकारीहरूले धमाधम प्रहरी वृत्तमा पार्किङ गरेर राखिएका मोटरसाइकल, स्कूटरहरूमा पेट्रोल छर्केर आगो लगाइदिए ।

बिक्रम र दीपककै बयानबाट प्रहरीले काठमाडौं चौमती बस्ने देवा हमाल भन्ने जितेन्द्र हमाल, रामेछापका सागर थापा मगर, नुवाकोटका समीर श्रेष्ठ र पेम्बा भन्ने कार्लोस शेर्पालाई पनि पक्राउ गरेको छ ।

लैनचौर वृत्त जलाउने, तोडफोड गर्ने र लुटपाट गर्ने कार्यमा उनीहरूको संलग्नता रहेको प्रहरीको दाबी छ । पक्राउ परेकामध्ये कार्लोसबाहेक अरूले तोडफोड र आगजनी गरेको स्वीकार गरे पनि लुटपाट गरेको आरोप अस्वीकार गरेका छन् ।

null

प्रहरीले शुरूमा विक्रम र दीपकलाई कात्तिक १४ गते पक्राउ गर्‍यो । सीसीटीभी फुटेज र उनीहरूको बयानका आधारमा प्रहरीले कात्तिक २१ मा जीतेन्द्रलाई पक्राउ गरेको थियो ।

प्रहरी प्रतिवेदनअनुसार लैनचौर वृत्तका प्रहरी सहायक निरीक्षक (असई) दिनेश परियारको बुलेट बाइकमा समेत आन्दोलनकारीले आगो लगाइदिएका थिए ।

परियारले बुलेट बनाउँदा लागेको ७३ हजार ९१३ रुपैयाँ खर्च भराई पाऊँ भनेर जाहेरीमा उल्लेख गरेका छन् ।

वृत्तकै असई लक्ष्मीकुमारी तिवारीले स्कुटर पूर्ण रूपमा आन्दोलनकारीले जलाइदिएपछि क्षतिपूर्तिबापत एक लाख ५० हजारको माग दाबी गरेकी छिन् ।

कार्यालयतर्फ प्रहरी वृत्तले कूल क्षति १८ लाख ८२ हजार ७०० रुपैयाँ भएको भन्दै क्षतिपूर्तिको माग दाबी गरेको छ । ट्राफिक प्रहरी वृत्त सोह्रखुट्टेले तीन लाख ८७ हजार २ सय ४५ रुपैयाँ क्षतिपूर्ति माग गरेको छ ।

आन्दोलनकारीले वृत्तका थुनुवाहरूको सामग्री समेत लुटेर लगेको पाइएको छ । प्रहरीले थुनुवाहरूबाट बुझेको समान लकरमा सुरक्षित राखे पनि आन्दोलनकारीले लकर समेत तोडफोड गरेर सुनको औँठी, बाला, मुन्द्रा, सिक्री, घडी, मोबाइल लगायत सामग्रीहरू लगेको भन्दै वृत्तले पक्राउ परेकाबाट यी समानहरूको क्षतिपूर्ति माग गरेको छ । आन्दोलनकारीले जलाएका तीनवटा भ्यानको पनि क्षतिपूर्ति दाबी गरिएको छ ।

प्रहरी वृत्त लैनचौरले कार्यालयको, स्टाफको र थुनुवाहरूको भौतिकतर्फ कूल क्षति २४ लाख ९३ हजार ८५८ रुपैयाँ  भएको र हाल पक्राउ परेकाहरूबाटै भराउनुपर्ने माग दाबी लिएको छ । पक्राउ परेकामध्ये समीर र कार्लोसले थुनुवाको सामान राखेको लकर फोरेर चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार सीसीटीभी फूटेज र पक्राउ परेकाहरूको बयानबाटै लैनचौर वृत्त तोडफोड, आगजनी र लुटपाटमा दीपक तथा विक्रमलगायतको संलग्नता पुष्टि भएको छ ।

‘वृत्तले आफ्नो क्षतिको विवरण संकलन गरेर २४ लाख बढी क्षतिपूर्तिको माग दाबी गरेको छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘गत मंगलबार मात्रै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो । थुनछेक बहसपछि सबैजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।’

उनले सरकारी सम्पत्ति आगजनी र तोडफोड गर्ने अन्य घटनामा संलग्नलाई कानूनी दायरामा मात्रै होइन, क्षतिपूर्ति समेत उनीहरूबाटै उठाउने गरी प्रहरीले सरकारी वकिलमार्फत अदालतमा माग दाबी गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्