
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा शुरू गरेको छ ।
मन्त्रालयले भाइबर, इमो र ह्वाटसएपमार्फत मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्श २४ सै घण्टा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मिर्गौला रोगसम्बन्धी सेवाका लागि नम्बर ००९७७ ९७६३४९०९०० मा भाइबर, इमो वा ह्वाटसएपमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मिर्गौलासम्बन्धी रोगको परामर्श शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अन्य स्वास्थ्य सेवासम्बन्धी परामर्श सेवा वीर अस्पतालबाट २४सै घण्टा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
अन्य स्वास्थ्य सेवाका लागि ००९७७ ९८५१३४५७०१ र ००९७७ ९८५१३४५७०२ नम्बरको भाइबर र ह्वाटसएपमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीले विदेशमा धेरै नेपाली बिरामी हुँदा समस्या पर्ने भएकाले परामर्श सेवा शुरू गरिएको जानकारी दिए ।
उनका अनुसार विदेश जाने क्रममा श्रमिकलाई आवश्यक स्वास्थ्यसम्बन्धी जानकारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न स्थानहरूमा सचेतनामूलक सन्देश राखिएको छ ।