२४ असार २०८३, बुधबार
नेपाल प्रिमियर लिग

रोसिङ्टन र निसमको अर्धशतकसँगै पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य

मंसिर १३, २०८२
काठमाडौं
रोसिङ्टन र निसमको अर्धशतकसँगै पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि एक सय ५१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ५० रन बनाएको हो ।

पोखराका लागि विकेटकिपर ब्याट्सम्यान एडम रोसिङ्टनले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ८१ रनको योगदान गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका ओपनर ब्याट्सम्यान रोसिङ्टनले टोली अप्ठ्यारो स्थितिमा रहँदा केवल ६३ बलको सामना गरी पाँच छक्का र सात चौका पनि हिर्काए ।

रोसिङ्टन १९औं ओभरको दोस्रो बलसम्म क्रिजमा टिकेका थिए । उनले अर्धशतक भने ५२ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले पूरा गरेका थिए ।

रोसिङ्टनको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको १८औं अर्धशतक हो । उनले छैटौं नम्बरका ब्याट्सम्यान जेम्स निसमसँग ९२ रनको साझेदारी गरे ।

जेम्स निसमले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनले अविजित ५१ रनको योगदान गरे । अनुभवी खेलाडी निसमले केवल ३२ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए ।

निसमले अन्तिम ओभरको अन्तिम ओभरको अन्तिम बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको १९औं अर्धशतक हो ।

अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । पोखरा एभेन्जर्सले ३३ रनको कुल स्कोरमै चार प्रभावशाली विकेट गुमाइसकेको थियो ।

ओपनर दिनेश खरेल ११ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए । कप्तान कुशल भुर्तेल र सुमित बर्माले त खातासम्म खोल्न सकेनन् ।

तृतराज दास पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । किरण ठगुन्ना एक रनमा अविजित रहे । पोखराले अतिरिक्त रूपमा पनि नौ रन पायो ।

लुम्बिनी लायन्सका बलर शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए । गुलबदिन नाइबले पनि एक विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्