२४ जेठ २०८३, आइतबार

हुम्लाको दुर्गम गाउँ गोप्कामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

मंसिर १५, २०८२
हुम्ला
हुम्लाको दुर्गम गाउँ गोप्कामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ दुर्गम बस्ती गोप्का गाउँका नागरिकलाई स्वास्थ्य सेवा सहजरूपमा प्रदान गर्नका लागि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

गोप्का गाउँका नागरिकले वर्षौंपछि आफ्नै गाउँबाट स्वास्थ्य सेवा सहज पाउनुका साथै उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । विगतका दिनमा गाउँमा स्वास्थ्य संस्था नहुँदा एक घण्टाको पैदल हिँडेर लाली स्वास्थ्य चौकीमा उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय प्रकाश विष्टले बताए ।

सामान्य बिरामी हुँदा पनि गाउँका ज्येष्ठ नागरिकदेखि बालबालिकालाई पिठ्युँमा बोकेर एक घण्टाको पैदल हिँडेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको विष्टको भनाइ छ । अहिले गाउँमै सहज सेवा पाएको उनले बताए ।

यस्तै अर्का स्थानीय महिला जुनकुरा बोहराका अनुसार महिला बालबालिकालाई उपचार गर्न जाँदादेखि औषधि लिन जानुपर्ने कठिनाइ थियो । अहिले गाउँमै राम्रो सुविधा सम्पन्न भवन बन्नुका साथै स्वास्थ्यकर्मी भर्खरै सञ्चालनमा आएको आधारभूत केन्द्रमा खटिएपछि सहज सेवा लिन पाएको बोहराले बताए ।

आइतबार गाउँकै ७९ वर्षीया वृद्ध केरसिंह बुढाको उपचारसँगै औपचारिक रूपमा गोप्का आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । वृद्ध बुढासँगै गोप्का गाउँका अन्य नागरिकले आफ्नो गाउँबाट पहिलो पटक स्वास्थ्य सेवा लिएका छन् । २०० घरधुरीले अब आफ्नै गाउँबाट स्वास्थ्य सेवा पाउने भएका छन् ।

गोप्का आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह, वडा–१ का वडाध्यक्ष जयबहादुर शाही, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक शाही, स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाही, गाउँका जेष्ठ नागरिकलगायत स्थानीयको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्