
अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको सोमबार बसेको आपतकालीन बैठकले राष्ट्रिय लिग आयोजनादेखि सटल बस खरिद गर्नेसम्मको निर्णय गरेको छ ।
एन्फाद्वारा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार, राष्ट्रिय लिग फुटबल प्रतियोगिता आगामी पुस २५ गतेदेखि आयोजना गरिने छ ।
राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिन आयोजना गरिने छ । साफ महिला यू–१९ प्रतियोगिता आगामी फागुनमा पोखरामा आयोजना हुनेछ ।
यसैगरी, एन्फाले महिला फ्रेन्चाइज प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता भने उदयपुरमा आयोजना गरिने एन्फाले जनाएको छ ।
यसैगरी, एन्फा बैठकले फिफा फरवार्ड कार्यक्रम अन्तर्गत धनगढी र धुलिखेलमा नयाँ घाँसे मैदान निर्माण गर्ने निर्णय पनि गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न इडेन ग्रासलाई छनोट गर्ने गरी विश्व फुटबल महासंघ (फिफा)समक्ष प्रस्ताव पठाउने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव गर्ने निर्णय पनि एन्फा बैठकले गरेको बताइएको छ ।
यसैगरी, सिन्धुपाल्चोकको मैदानमा खेलाडी ड्रेसिङ रुम, शौचालय, अफिस र प्यारापिट निर्माण गर्न जगदम्बा मोक्तान जेबीलाई एक करोड २६ लाख रूपैयाँमा ठेक्का दिइने भएको छ ।
यसैगरी, एन्फाको आपतकालीन बैठकले खेलाडीका लागि सटल बस र लगेज भ्यान खरिद गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, एन्फाले डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा आयोजना हुने ‘वात्सल्य साफ महिला क्लब च्याम्पियनसिप’को तयारी तीब्र रूपमा भइरहेको पनि जनाएको छ ।
उक्त प्रतियोगितामा पाँच राष्ट्रका क्लबको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुन विदेशी क्लब डिसेम्बर ३ तारिखमा नेपाल आउने पनि एन्फाले जनाएको छ ।
‘वात्सल्य साफ महिला क्लब च्याम्पियनसिप’को विजेता टोलीले १० हजार र उपविजेता टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउने एन्फाले जनाएको छ ।