१९ असार २०८३, शुक्रबार

सेबोनले खोल्यो रिलायन्सको अवरुद्ध आईपीओ प्रक्रिया

मंसिर १६, २०८२
काठमाडौं
सेबोनले खोल्यो रिलायन्सको अवरुद्ध आईपीओ प्रक्रिया

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई अवरुद्ध रहेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया शुरू गर्न अनुमति दिएको छ । 

बोर्डले मंगलबार उच्च अदालत पाटनको परमादेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्काशनको प्रक्रिया शुरू गर्न अनुमति दिएको हो ।

धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकासा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडि बढाउनुहुन जानकारी गराइन्छ ।’


स्वीकृतिसँगै अब रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने प्रक्रिया शुरू भएको छ । 

रिलायन्सले एक वर्ष अघि नै प्रतिकत्ता ८२०.८० रूपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया शुरू गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रूपैयाँका दरले आईपीओ किनिसकेका छन् ।

नेपाल धितोपत्र बोर्डले २०८०  पुसमै रिलायन्सलाई बुक बिल्डिङ पद्दतिबाट आईपीओ निष्कासन गर्नको लागि अनुमति दिएको थियो । 

रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपको अभिन्न अंग हो । २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ ।

कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रूपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रूपैयाँ थियो ।

वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रूपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रूपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको जनाएको छ । 

उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्त्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी)बाट सम्मान गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्