
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । कम्पनीले स्थापनाको २५ औं वार्षिकोत्सव मनाइरहेका बेला उक्त उपलब्धि हासिल गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले असार १६ गते मंगलबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाललाई संयुक्त रूपमा उक्त अवार्ड प्रदान गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मान तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्यांकन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।
अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताए । उनले यसले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउने थप जिम्मेवारी दिएको उल्लेख गर्दै सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।
कम्पनीका अनुसार चैत मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ । कम्पनीले २ खर्ब ६७ अर्ब रूपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको तथा हालसम्म १ खर्ब १३ अर्ब रूपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ ।
त्यसैगरी, कम्पनीले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रूपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको जनाएको छ । साथै, इक्रा नेपालबाट ‘एए माइनस (AA-)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको दाबी पनि गरेको छ ।
हाल नेपाल लाइफका देशभर १९७ वटा कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा पनि वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय सेवामार्फत ग्राहकलाई आर्थिक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।