
चलचित्र मास्टर्नीको प्रचारात्मक गीतलाई लिएर विवाद बढिरहेका बेला गायक तथा सर्जक दुर्गेश थापाले पनि सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले माफी मागेको केही समयपछि थापाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै शिक्षक समुदाय र दर्शकको भावनामा ठेस पुगेकोप्रति दुःख व्यक्त गरेका हुन्।
थापाले चलचित्रको प्रचारका लागि तयार पारिएको उक्त गीतप्रति दर्शक, श्रोता तथा शुभचिन्तकबाट प्राप्त माया, समीक्षा, आलोचना र सुझावलाई खुलेर स्वीकार गरेको बताएका छन्। गीतको उद्देश्य कुनै पनि पेसा, व्यक्तित्व वा कसैको सम्मान र भावनामा चोट पुर्याउने नरहेको उनको भनाइ छ।
उनले उक्त गीत विशुद्ध रूपमा चलचित्रको प्रचार–प्रसारलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको उल्लेख गर्दै केही शब्द र प्रस्तुतीकरणका कारण शिक्षक–शिक्षिका तथा गुरुजनको भावनामा ठेस पुगेको महसुस भएको बताएका छन्। त्यसप्रति आफू र सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गरेको उनले उल्लेख गरेका छन्।
थापाले शिक्षकहरू समाजका मार्गदर्शक, ज्ञानका दीप तथा सम्मानका पात्र भएको भन्दै उनीहरूप्रति आफ्नो सम्मान सधैं अटल रहने बताएका छन्।
विवादपछि प्राप्त सुझावलाई सम्मान गर्दै ‘मास्टर्नी’ गीत आफ्नो युट्युब च्यानल र अन्य सबै सामाजिक सञ्जालबाट आधिकारिक रूपमा हटाइएको जानकारी पनि उनले दिएका छन्।
दर्शकलाई ‘भगवान’ मान्ने उल्लेख गर्दै थापाले उनीहरूबाट प्राप्त हरेक सुझाव आफ्नो लागि अमूल्य रहेको बताएका छन्। आगामी दिनमा ती सुझावलाई आत्मसात् गर्दै अझ जिम्मेवार, उत्कृष्ट र दर्शकको मन जित्ने सिर्जना प्रस्तुत गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।