
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत कोलकाता बन्दरगाहबाट विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार पहिलो चरणमा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर) को रेलमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा ४० फिटका कन्टेनर विराटनगर पठाइएको छ।
यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटकमा ४५ वटासम्म ४० फिटका कन्टेनर सिधै विराटनगर पठाउन सकिनेछ। कोलकाताबाट छुटेको रेल करिब २४ घन्टामा विराटनगर पुग्ने जनाइएको छ।
यसअघि वीरगञ्जमा मात्र उपलब्ध रहेको रेल कार्गो सुविधा अब विराटनगरमा पनि विस्तार भएसँगै ढुवानी लागत घट्ने, व्यापार सहजीकरण हुने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ।