१६ असार २०८३, मंगलबार

मानव तस्करी- रोमानिया गएका नेपालीलाई प्रलोभनमा पारेर ग्रिस पुर्‍याउने पाकिस्तानी गिरोह सक्रिय

मंसिर १९, २०८२
काठमाडौं
मानव तस्करी- रोमानिया गएका नेपालीलाई प्रलोभनमा पारेर ग्रिस पुर्‍याउने पाकिस्तानी गिरोह सक्रिय
नेपालीहरूलाई राखिएको कोठा र कृषि फार्म

गएको असोज २३ (अक्टोबर ९) गते प्रहरीले ग्रीसमा कृषि श्रमका लागि नेपाली युवालाई शोषण गर्ने उद्देश्यले तस्करीमा संलग्न एक आपराधिक समूहलाई पक्राउ गर्‍यो ।

ग्रीक प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २५ जना नेपाली पुरुषलाई अस्वस्थ र अमानवीय अवस्थामा राखिएको स्थानबाट उद्धार गरिएको थियो ।

व्यापक रूपमा सञ्चालन गरिएको यो उद्धार अभियान असोज २१ (अक्टोबर ७) मा देशभर सञ्चालन गरिएको थियो।

अभियानका क्रममा पाकिस्तानका १० नागरिक पक्राउ परे, जसमा समूहका एक प्रमुख सदस्य पनि रहेका प्रहरीले जनाएको छ।

उनीहरूलाई आपराधिक संगठनमा संलग्नता, मानव तस्करी, श्रम शोषण, आव्रजन ऐन उल्लंघन र लागुऔषधसम्बन्धी मुद्दामा कारबाही गरिएको छ।

सो अभियानमा कानूनी कागजात नबोकेका १०० जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको थियो ।

यो समूह सन् २०२४ को नोभेम्बरदेखि सक्रिय रहेको खुलासा भएको छ। सामाजिक सञ्जालमार्फत २९ वर्षीया एक नेपाली महिलाको सहकार्यमा बाल्कन देशहरू विशेष गरी रोमानियामा वैधानिक रूपमा काम गरिरहेका नेपाली पुरुषलाई ग्रीसमा बढी तलब पाइने प्रलोभन देखाएर लोभ्याइने गरिएको प्रहरीको भनाइ छ।

इच्छुकहरू हवाईमार्ग वा उत्तरी म्यासेडोनियामार्फत स्थलमार्ग हुँदै ग्रीस पुर्‍याइन्थे। यात्रा खर्च संगठनले बेहोर्थ्यो, जसलाई काममार्फत बिस्तारै तिर्नुपर्छ भन्दै आर्थिक निर्भरता र ऋणको जालो बनाइन्थ्यो।

कामदारहरूका कागजात खोसिन्थे। कसैलाई जबरजस्ती रकम तिर्न बाध्य पारिन्थ्यो, कसैलाई धम्की वा शारीरिक हिंसा गरिन्थ्यो।

कतिपयलाई त अपहरण गरी गैरकानूनीरूपमा बन्धक बनाएर पीडकलाई पैसा तिर्न बाध्य पारिएको समेत प्रहरीले जनाएको छ।

उनीहरूलाई मुख्यतया पेलोपोनीज क्षेत्रका आर्गोलिस, इलिया, अर्काडिया, लकनिया र मेसिनिया जिल्ला तथा  थेसाली क्षेत्रका लारिस्सा र बोइटियामा कृषि श्रममा लगाइन्थ्यो। 

कामदारलाई अस्थायी टहरा वा गोदाममा राखिन्थ्यो। अत्यधिक कडा श्रम, थकाइ र आरामको समय नहुने अवस्था उनीहरूको दैनिकी थियो।

समूहले ऋण तिर्नुपर्ने नाममा थोरै वा कुनै पारिश्रमिक नै नदिने गरेको प्रहरीको दाबी छ। प्रतिवाद गर्नेहरूलाई धम्की, त्रास वा कुटपिट गर्ने गरिएको थियो।

ग्रीक प्रहरीले यस्तै प्रकृतिको अर्को समूहलाई सन् २०२४ को जुलाइमा पनि पक्राउ गरेको थियो।

सो समूहले रोमानियाबाट हवाईमार्ग हुँदै सर्बिया र त्यहाँबाट उत्तरी म्यासेडोनियामार्फत अवैध रूपमा ग्रीस पुर्‍याएर नेपाली कामदारलाई कृषि श्रममा लगाउँदै आएको थियो।

salt training

कमेन्ट गर्नुहोस्