०२ असार २०८३, मंगलबार
कालिज क्रान्ति

जागिर छाडेर गाउँ फर्किएका गौरव : कालिज पालेर वार्षिक ५० लाखसम्म आम्दानी !

मंसिर २०, २०८२
धनगढी
जागिर छाडेर गाउँ फर्किएका गौरव : कालिज पालेर वार्षिक ५० लाखसम्म आम्दानी !

के नेपालकै पहाडी गाउँमा कुनै काम गरेर मासिक २ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सम्भव छ? धेरैलाई यो कल्पना मात्र लाग्न सक्छ। तर, अछामको चौरपाटी गाउँपालिका-४ का गौरव जोशीले असम्भवलाई सम्भव बनाएका छन्।

जागिरको मोह र समाजका नकारात्मक टिप्पणीहरूलाई पन्छाउँदै उनले बाँझो जमिनलाई कालिज पालेर उर्वर भूमि बनाएका छन् । उनले पाँच वर्ष बैंकमा जागिर गरेका थिए।

तीन वर्षअघि उनले शुरू गरेको कालिज पालन यात्रा आज एक व्यवसाय मात्र छैन, यो त गाउँ फर्किएर केही गर्न चाहने हरेक युवाका लागि एउटा जीवन्त पाठ बनेको छ, जसले मासिक लाखौँको आम्दानीको बाटो समेत कोरेको छ। आज उनी केवल एक कृषक मात्र होइनन्, बाँझो पाखोलाई उत्पादनशील बनाउने अभियानका अगुवा बनेका छन्।

जागिरे जीवनको मोहलाई त्यागेर गौरव कृषि व्यवसायमा होमिए। उनी भन्छन्, 'जिन्दगीमा अर्काका लागि काम गरिरहनुभन्दा आफ्नो सानो व्यवसाय भए पनि शुरू गर्नुपर्छ।' यही दृढताले उनलाई तीन वर्षअघि व्यावसायिक कालिज पालन शुरू गर्न प्रेरित गर्‍यो। उनी अछाममा पहिलोपटक व्यावसायिक कालिज पालन गर्ने किसान हुन्, जसले यो क्षेत्रमा नयाँ क्षितिज खोलिदिएका छन्।

कालिज फार्ममै जीवन
गौरवको दैनिकी बिहानको चार बजेबाट शुरू हुन्छ र राति अबेरसम्म कालिज फार्ममै बित्छ। १ हजार २ सयभन्दा बढी कालिज भएको उनको फार्ममा सिजनअनुसार सङ्ख्या घटबढ भइरहन्छ। एउटा कालिजको मूल्य न्यूनतम दुई हजार पाँच सयभन्दा माथि छ।

सानैदेखि गाउँको माटो, डाँडापाखा र प्रकृतिलाई साथी बनाएर हुर्किएका गौरव घरबाट टाढा गएर जीवनमा भोगेका अनेक सङ्घर्षहरू सम्झन्छन्। खाली जमिनलाई सदुपयोग गर्दै आत्मनिर्भर बन्नु उनको जीवनको मूल लक्ष्य बन्यो। उनले सामाजिक सञ्जाल (फेसबुक र युट्युब) मा कृषि सम्बन्धी जानकारीहरू बटुलेर आफ्नो मार्गचित्र कोरे।

null

आर्थिक अभावका कारण केही वर्ष पर्खिए पनि, तीन वर्षअघि अवसर मिल्नेबित्तिकै उनले सर-सापटी मागेर हिम्मतका साथ व्यवसाय शुरू गरे। व्यावसायिक किसानहरूसँगको सल्लाह र आफ्नो अटूट आत्मविश्वासले उनलाई यो काम गर्न बल दियो। 'हाम्रो पहाडी भूभागको जमिन धेरैजसो बाँझो छ। बाँझो जमिनलाई सदुपयोग गरेर यसमाथि फस्टाउने व्यवसाय कसरी गर्ने भन्नेबारे अध्ययन गर्दागर्दै कालिज पालन गर्न उपयुक्त ठानेँ,' उनले भने।

धैर्य नै सफलताको मूल मन्त्र
शुरूआती दिनहरू सजिला थिएनन्। बजारको अनिश्चितता, दानाको उच्च लागत र सरसफाइका चुनौतीहरूले उनलाई घेरेका थिए। तर, उनी हतास भएनन्। उनी भन्छन्, 'धैर्य गर्नु कृषि व्यवसायको मूल मन्त्र हो।'

उनको गुणस्तरीय उत्पादनले गर्दा बजारको अभाव हुन पाएन। उनका कालिज मासुका लागि स्थानीय स्तरमै लोकप्रिय बन्न थाले। गत वर्ष १ सय ६२ र यो वर्ष २ सय वटा कालिज काटेर ग्राहकलाई खुवाइसकेका उनले मुख्य बजारहरू मङ्गलसेन, साँफेबगर र कहिलेकाहीँ धनगढीसम्म पुर्‍याएर बिक्री गर्छन्।

प्राकृतिक आहारामा आधारित कालिज पालन
गौरवले गाउँपालिकाको वडा नम्बर १ मा आफ्नो पुर्ख्यौली जमिनमा कालिज पालेका छन्। १० रोपनी क्षेत्रफलमा फैलिएको फार्ममध्ये ८ रोपनीमा कालिजका लागि जाली लगाइएको छ र २ रोपनीमा मासु प्रशोधन, भान्सा तथा निवासका लागि संरचना खडा गरिएको छ। 'हाम्रो पहाडमा बाँझो जमिन छ, तर मेहनत गर्ने हो भने त्यसलाई उत्पादनशील बनाउन सकिन्छ,' जोशीले भने।

उनको फार्मको सबैभन्दा ठूलो विशेषता हो ८० प्रतिशत प्राकृतिक आहारा (ऐसेलु, घाँसपात, घघारू, किरा, फट्याङ्ग्रा आदि) मा आधारित पालन विधि। बाँकी २० प्रतिशत मात्र दाना खुवाइन्छ। यसले कालिजको मासुलाई प्राकृतिक र गुणस्तरीय बनाउँछ। जोशीको यो भनाइ आज उनको सफलताको प्रमाण बनेको छ।

२ देखि ५ लाखसम्म मासिक आम्दानी
आज उनको मासिक आम्दानी २ देखि ५ लाख रुपैयाँसम्म हुने गरेको उनले बताए । अहिलेसम्म उनको फार्ममा ४० लाखभन्दा बढी लगानी पुगेको छ। आम्दानी भएको पैसा उनले फार्म विस्तार र सापटी तिर्नमा खर्च गरिरहेका छन्।

शुरूमा बजारको अभावजस्तो देखिए पनि गुणस्तरीय उत्पादनका कारण उनका कालिज मासुका लागि स्थानीय स्तरमै लोकप्रिय बन्न थाले। गत वर्ष उनले १ सय ६२ कालिज काटेर ग्राहकलाई खुवाएका थिए भने यो वर्ष अहिलेसम्म दुई सय वटा कालिज काटिसकेका छन्। उनी बजारका लागि धेरै भौँतारिनु परेको छैन।

null

कृषिमा होमस्टे जोड्ने योजना
उनी कालिज पालनमा मात्र सीमित छैनन्। कृषिलाई होमस्टेसँग जोड्ने उनको वृहत् सपना छ। 'यहाँको सुन्दरतासँगै पर्यटकहरूलाई कृषि अनुभव प्रदान गर्न सकिन्छ। म कृषिसँग होमस्टे जोड्न चाहन्छु,' उनले सुनाए।

बाँझो जमिनमा कृषि व्यवसायको सम्भावना अनगिन्ती रहेको बताउने गौरव गाउँको वडा नम्बर ४ स्थित आफ्नो गाउँमा ५ हजार बोट टिमुर पनि लगाइसकेका छन् र दालचिनी खेतीको परीक्षण पनि गर्दै छन्।

व्यवसाय विस्तारका लागि उनले सरकारी अनुदानको आशा नराखेका होइनन्। तर, त्यस्तो अनुदान वास्तविक किसानभन्दा कागजी किसानहरूलाई नै दिने परिपाटी देखेर उनी निराश भएका छन्। 'कागजमा मात्रै किसान देखाउनेहरूले अनुदान पाउँछन्। वास्तविक किसान भने पछि पारिन्छ,' उनले सरकारी नीतिप्रति गुनासो गर्दै भने।

सही समय र पद्धतिमा अनुदान दिए किसानहरूको स्थिति सुधार्न सकिने उनको भनाइ छ। अनुदानमा अनावश्यक जटिलता र ढिलाइले किसानको उधारो बढाइदिने उनले बताए।

सरकारी अनुदान प्रणालीबाट निराश हुँदै उनले गुनासो गरे, 'कागजमा मात्रै किसान देखाउनेहरूले अनुदान पाउँछन्। वास्तविक किसान भने पछि पारिन्छ।' तर, यो निराशाले उनलाई रोक्न सकेन।

सपना पूरा गर्न विदेश जानै पर्दैन
समाजका कतिपय मानिसले उनलाई 'डुब्यो, सकियो' भनेर टिप्पणीसमेत गर्थे। तर, उनले नकारात्मकतालाई पन्छाउँदै भने, 'अरू के भन्छन् भनेर चिन्ता गर्नुको साटो आफ्नो काममा निरन्तर लागिरहनुपर्छ। एक न एक दिन सफलता पाइन्छ।' आफूले विश्वास गरेको काममा निरन्तर लागिपरे सफलता प्राप्त हुने गौरवको भनाइ छ। उनले भने, 'सफलता भनेको मेहनत र समयको कुरा हो। मेरो फार्मको सफलताले अर्को किसानलाई प्रेरणा दिन सक्छ।'

अहिले फार्ममा प्रायः उनी एक्लै काम गर्छन्। आवश्यकताअनुसार कहिलेकाहीँ उनले अस्थायी रूपमा स्थानीयलाई रोजगारी पनि दिन्छन्। उनी युवाहरूलाई प्रेरणा दिँदै भन्छन्, 'देशमा काम छैन भन्ने होइन, मानिसहरू मेहनत गर्न चाहँदैनन्। आफैँ केही गर्ने हो भने धैर्य गर्नुपर्छ। कृषि व्यवसायीले लगानीको प्रतिफल पाउन पाँच वर्ष पर्खिनुपर्छ।' गौरवको सफलताले गाउँका अन्य युवालाई कृषि कर्म गर्न प्रोत्साहन मिलिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्