
चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले आफ्नो लिथियम आइरन फस्फेट ब्याट्री प्रविधिलाई निरन्तरता दिने भएको छ ।
विश्व बजारमा लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीको बढ्दो विश्वसनियता र टिकाउपनले गर्दा भविष्यमा पनि यही प्रविधिलाई निरन्तरता दिनेतर्फ कम्पनी अगाडि बढेको हो ।
सन् २०२५ को टोकियो मोटर शोमा बोल्दै बीवाईडीका ब्रान्ड तथा जनसम्पर्क महाप्रबन्धक ‘ली युनफेइ’ले पनि कम्पनीको लिथियम आइरन फस्फेट (एलएफपी)ब्याट्री प्रविधिप्रतिको निरन्तर प्रतिबद्धता रहने कुरा प्रस्ट पारेका हुन् ।
पछिल्लो समय सोलिड–स्टेट ब्याट्रीको चर्चा चलिरहे पनि हालको ब्याट्री प्रविधि नै परिपक्व रहेको र यसले चिसो मौसममा पनि राम्रो प्रदर्शन गरिरहेको ‘आईटी–होम’ले उल्लेख गरेको छ । महाप्रबन्धक लीले चीन विद्युतीय सवारीको ब्याट्रीका लागि सबैभन्दा तीव्र गतिमा बढिरहेको र स्रोतसाधनले सम्पन्न बजार भइसकेको बताएका छन् ।
सुरक्षाको विषयलाई सम्बोधन गर्दै लीले अन्य प्रकारका ब्याट्री भएका सवारीमा आगलागीका घटनाहरूले ईभी असुरक्षित हुन्छन् भन्ने गलत धारणा विकास भएको बताए ।
‘उपभोक्ताले प्राय: एलएफपी र ट्रिर्नरी लिथियम ब्याट्री बीचको फरक छुट्याउँदैनन् । तर बीवाईडीको स्पष्ट अडान छ । हाम्रा वर्तमान र भविष्यका सबै मोडलहरूमा एलएफपी ब्याट्री नै मापदण्डका रूपमा रहनेछन्,' लीले भनेका छन् ।
लीले चीनमा विगत १५ वर्षदेखि सार्वजनिक बसहरूमा भइरहेको विद्युतीकरणलाई एलएफपी ब्याट्रीको विश्वसनीयताको प्रमाणका रूपमा प्रस्तुत गरेका छन् ।
दर्जनौं यात्रु बोक्ने बसहरूमा एलएफपी ब्याट्रीको प्रयोगले गम्भीर आगलागीका घटनाहरू रोकेको र यसले निजी सवारी साधनका लागि पनि सुरक्षाको मापदण्ड तय गरेको उनले बताएका छन् ।
केही ब्रान्डहरूले धेरै रेन्ज (माइलेज) दिने होडमा अझै पनि टर्नरी लिथियम प्रयोग गरिरहेको प्रति सचेत गराउँदै उद्योगलाई सुरक्षालाई नै पहिलो प्राथमिकता दिन आग्रह समेत गरेका छन् ।
तथ्यांक हेर्दा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्म एलएफपी ब्याट्रीको जडान ४९३.९ गिगावाट आवर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२.५ प्रतिशतले बढी हो । यसले चिनियाँ बजारको ८० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ । ईभीका लागि यो ब्याट्री नै प्रमुख रोजाइ भएको कुरालाई समर्थन गरेको छ ।
टर्नरी लिथियम ब्याट्रीको क्षमता करिब २ हजार चार्ज साइकलपछि घट्छ भने एलएफपी ब्याट्रीले ३ हजार ५०० भन्दा बढी साइकल सम्म यसको क्षमतालाई यथावत् राख्दछ ।
यस ब्याट्रीका सेलहरूमा उच्च थर्मल स्थिरता हुने कम्पनीले जनाएको छ । जसले गर्दा टर्नरी लिथियम ३०० डिग्री सेल्सियसभन्दा कममा पग्लिन सक्छ भने एलएफपी ब्याट्री ५०० डिग्री सेल्सियसभन्दा माथि पनि स्थिर रहन्छ ।
बीवाईडीले अत्याधुनिक र प्रतिस्पर्धी बजारमा आफ्नो ब्याट्रीको क्वालेटीमा सम्झौता नगर्ने जनाएको छ ।