
नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई गैरकानूनी रूपमा चिकित्सकीय अभ्यास गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन ए.एम. (पौडेल) रहेकी छन् ।
नेपाल मेडिकल काउन्सिल, बाँसबारीले नियमित अनुगमनका क्रममा चेतनले आफूले नपाएको चिकित्सकको उपाधि प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) नलिई बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिअनुसार परीक्षण तथा उपचार गरिरहेको फेला पारेको थियो ।
अनुगमनका क्रममा बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसमेत भेटिएको जनाइएको छ ।
मेडिकल काउन्सिलको छानबिन प्रतिवेदनसहितको उजुरीपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक अनुसन्धान थालेको थियो ।
त्यसपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले उनलाई मंगलबार चन्द्रागिरिबाट पक्राउ गरेको हो ।
पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत इलाजसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।