
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गरेका छन् ।
पदबहालीपश्चात पत्रकारमाझ उनले सरकारको कार्यअवधि निकै छोटो भए पनि एक दिनलाई एक घण्टाको द्रुत गतिमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री भण्डारीले आफू लामो समय सीआईबीको संस्थापक भएर काम गरेको हुँदा सङ्गठित अपराधका गतिविधिको जालो तोड्न कार्ययोजना बनाउने बताए ।
'प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ,' मन्त्री भण्डारीले भने, 'अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।'
उनका अनुसार जेनजीको पीडा जति छ, नेपाल प्रहरीको पनि उत्तिकै छ । दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवै आवाजलाई मन्त्रिपरिषद्मा लिएर जान सकिने पनि उनले सुनाए ।
प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि उनी मन्त्री बनेका हुन् ।
अवकाश अवधिमा लेख, रचना लेख्ने, पठनपाठनमा सक्रिय उनले अब भने श्रम मन्त्रालयमार्फत जनता र मुलुकको सेवा गर्ने बताए ।