
रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्तीभण्डारमा गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले सेवा लिएका छन् ।
यही मंसिर २२ देखि २५ गतेसम्म आयोजना गरिएको नि:शुल्क दन्त तथा स्त्रीरोग विशेषज्ञ शिविरमा ६ सय १९ जनाले सेवा लिएका शिविर संयोजक अमृमजङ्ग बस्नेतले जानकारी दिए ।
शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकबाट परीक्षण, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
यसैगरी दाँत तथा मुख स्वास्थ्य शिविरमा ६ जना दन्त चिकित्सकबाट दाँत तथा मुख स्वास्थ्य परीक्षण, दाँत निकाल्ने, स्केलिङ गर्ने, दाँतको एक्स-रे गर्ने तथा दाँत भर्ने लगायतका सेवा प्रदान गरिएको थियो ।

यसका साथै दन्त शिविरमा आवश्यक औषधिका साथै ओरल तथा डेन्टल हाइजिन प्याकेजअन्तर्गत उच्च गुणस्तरीय मन्जन, ब्रस, गिजा स्वस्थ राख्ने मलमलगायतका सामग्री निःशुल्क वितरण गरिएको संयोजक बस्नेतले जानकारी दिए ।
सगरमाथा हेल्थ फाउण्डेशन- हेल्थ केयर नेपाल तथा कप्तान भारतसिं बस्नेत सम्झना गुठीको संयुक्त आयोजनामा भएको शिविरमा उमाकुण्ड गाउँपालिका वडा नम्बर २ को समन्वय रहेको थियो ।

आम्दा नेपाल, जोरपाटीको प्राविधिक सहयोग तथा स्थानीय रुद्रजंग बस्नेत (भगीरथ)को समन्वयमा शिविरको आयोजना गरिएको संयोजक बस्नेतले जानकारी दिए ।
उक्त शिविरमा डा. प्रतिसरा मानन्धर, दीपकराज जोशी, प्रदीप आचार्य, कल्पना जोशी, डा. दृष्टिराज जोशी, डा सञ्जुकुमारी साह, डा. यशोदा पुन मगर, डा. अर्पणा कार्की, डा. जेनिसा भट्टराई र विश्वपराक्रम श्रेष्ठले विशिष्ट सेवा प्रदान गरेका थिए ।

साथै स्वास्थ्य चौकी प्रमुख निलम कार्की तथा कर्मचारी, वडा अध्यक्ष खम्बध्वज बस्नेत (छुकु), समाजसेवी अनन्त खड्का, उमाकुण्ड गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक अभिजित सुनुवार, डा. रुवी मण्डल, सिद्धेश्वर माविका प्रधानाध्यापक निर्मलप्रसाद त्रिपाठीका साथै शिक्षकहरू सुनिल बस्नेत, प्रेम बस्नेत, होटल व्यवसायी अश्विन बस्नेतलगायतको सहयोगी भूमिका रहेको संयोजक बस्नेतले जानकारी दिए ।
साथै शिविर सञ्चालनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोगी भूमिका निर्वाह गर्ने सबैप्रति उनले आभार व्यक्त गरे ।





