
गीतकार नारायण खतिवडाको शब्दमा नेपाली समाजको विद्यमान अवस्थाको चिरफार गर्दै प्रतिकात्मक साहित्यको झल्को दिने नयाँ गीत ‘पिएँ पिएँ भन्छ्यौ तिमी’ सार्वजनिक भएको छ ।
नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको यस गीतमा संगीत तथा गायन मनोज साङ्सोन राईको रहेको छ । गायनमा उनलाई गायिका सारिका घिमिरेले साथ दिएकी छन् ।
गीतमा गहिरो सन्देश पनि समेटिएको छ । आजको भागदौडपूर्ण समाजमा मानिस खुसी र सुख खोज्दै भौतारिरहेको देखिन्छ, तर वास्तविक खुसी र सुख त आफैंभित्र हुन्छ भन्ने मूल भाव गीतले व्यक्त गर्दछ ।
‘खुसी हुन्छ आफैंभित्र, खोज्छौ बाहिर–बाहिर, कस्तुरीले खोजेजस्तै सुगन्ध बाहिरतिर’ भन्ने पंक्तिमार्फत् गीतले सशक्त सन्देश दिएको छ ।
नेपाली समाजमा आजभोलि नकारात्मक सोच र मनोवृत्ति बढ्दै गइरहेको देखिन्छ । मानिसहरू अरूको कुरा काट्नमै आफ्नो अमूल्य समय खर्च गरिरहेका छन् ।
अरूमा खोट देखाउने तर सहयोग गर्नुपर्दा अनेक बहाना बनाएर पन्छिने प्रवृत्ति बढ्दो छ । दिनप्रतिदिन मानिस स्वार्थी बन्दै गएको यथार्थलाई गीतले प्रतीकात्मक रूपमा प्रस्तुत गरेको खतिवडा बताउँछन् ।
यिनै सामाजिक यथार्थलाई साहित्यिक गहिराइका साथ गीतमा उजागर गरिएको उनको भनाइ छ ।
सुन्नुहोस् गीत :