०९ असार २०८३, मंगलबार

अर्काको मोटरसाइकलमा लागूऔषध राखेको आरोपमा ४ जना पक्राउ

पुस २, २०८२
काठमाडौं
अर्काको मोटरसाइकलमा लागूऔषध राखेको आरोपमा ४ जना पक्राउ

व्यक्तिगत रिसिइबीका कारण अर्काको मोटरसाइकलमा सुटुक्क लागूऔषध (ब्राउनसुगर) राखेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले धनपालथान गाउँपालिकाका चन्द्र शेखर मण्डल र उनका ज्वाइँ राजीव चौधरीलाई फसाउन खोज्ने मुख्य योजनाकारसहित चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार गत मंसिर २७ गते गोप्य सूचनाको आधारमा धनपालथान–४ मा जाँच गर्दा राजीव चौधरीको मोटरसाइकलको इन्डिकेटरभित्र १३.३१० ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो । 

मंसिर २० गते पनि त्यस्तै सूचनाका आधारमा जाँच गर्दा धनपालथान–२ का ४५ वर्षीय चन्द्र शेखर मण्डलको मोटरसाइकलको इन्डिकेटरमा पनि सोही प्रकृतिको पदार्थ फेला परेको थियो ।

ससुरा र ज्वाइँको मोटरसाइकलको एउटै ठाउँ (इन्डिकेटर)मा लागूऔषध भेटिएपछि प्रहरीले गम्भीर अनुसन्धान शुरू गरेको थियो ।

अनुसन्धानका क्रममा धनपालथान–७ का २२ वर्षीय विशाल कुमार सिंहको मण्डल परिवारसँग व्यक्तिगत रिसइबी रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङकी सूचना अधिकारी, डीएसपी कोपिला चुडालले बताइन् ।

सिंहले नै आफ्ना साथीहरूसँग मिलेर मण्डल र उनका ज्वाइँलाई फसाउने योजना बनाएको प्रहरीले जनाएको छ । विशालले विराटनगर–९ का राजा धोबी, रोशन मण्डल र पारस मण्डलसँग मिलेर चन्द्र शेखर र राजीवको मोटरसाइकलको इन्डिकेटरभित्र लागूऔषध राखिदिएका थिए । उनीहरूले नै प्रहरीलाई ‘गोप्य सूचना’ दिएका थिए ।

घटनाको सत्यतथ्य खुलेपछि प्रहरीले विराटनगरका २७ वर्षीय राजा धोबी, धनपालथान–७ का २२ वर्षीय विशाल कुमार सिंह, सोही ठाउँका २७ वर्षीय रोशन मण्डल र धनपालथान–१ का २८ वर्षीय पारस मण्डललाई पक्राउ गरेको छ । 

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी चुडालले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्