२९ जेठ २०८३, शुक्रबार

नोभेम्बरमा भारतको व्यापार घाटा पाँच महिनाकै न्यून बिन्दुमा, अमेरिकातर्फको निर्यात बढ्यो

पुस २, २०८२
काठमाडौं
नोभेम्बरमा भारतको व्यापार घाटा पाँच महिनाकै न्यून बिन्दुमा, अमेरिकातर्फको निर्यात बढ्यो

भारतको वस्तु व्यापार घाटा नोभेम्बर महिनामा घटेर पाँच महिनाकै न्यून बिन्दुमा पुगेको छ ।

सरकारी निर्यात–आयात तथ्यांकअनुसार नोभेम्बरमा भारतको व्यापार घाटा २४.५३ अर्ब अमेरिकी डलरमा सीमित भएको हो ।

सुन, तेल र कोइला आयातमा आएको कमी तथा अमेरिकातर्फको निर्यात बढ्नु यसको प्रमुख कारण बनेको छ ।

यसअघि अर्थशास्त्रीहरूले नोभेम्बरको व्यापार घाटा करिब ३२ अर्ब डलर रहने अनुमान गरेका थिए । अक्टोबरमा भने भारतले ४१.६८ अर्ब डलरको ऐतिहासिक उच्च व्यापार घाटा व्यहोरेको थियो ।

सरकारी तथ्यांकअनुसार नोभेम्बरमा भारतबाट अमेरिकातर्फको वस्तु निर्यात अघिल्लो महिनाको तुलनामा करिब १० प्रतिशतले बढ्दै ६.९२ अर्ब डलर पुगेको छ ।

वार्षिक आधारमा हेर्दा अमेरिकातर्फको निर्यात २१ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिएको छ । गत वर्षको सोही महिनामा भारतको अमेरिकातर्फको निर्यात ५.७१ अर्ब डलर थियो ।

वाणिज्य सचिव राजेश अग्रवालले अमेरिकी भन्सार शुल्कका बाबजुद भारतले अमेरिकातर्फको निर्यात जोगाउन सफल भएको बताएका छन् ।

उनले आयात घट्नुको मुख्य कारण सुन, तेल र कोइलाको आयातमा आएको कमी रहेको स्पष्ट पारे ।

समग्रमा नोभेम्बरमा भारतको वस्तु निर्यात बढेर ३८.१३ अर्ब डलर पुगेको छ, जुन अक्टोबरमा ३४.३८ अर्ब डलर थियो ।

यस अवधिमा आयात भने उल्लेखनीय रूपमा घटेर ६२.६६ अर्ब डलरमा झरेको छ । अक्टोबरमा आयात ७६.०६ अर्ब डलर रहेको थियो ।

सरकारले अमेरिकी उच्च भन्सार शुल्कको असर न्यूनीकरण गर्न उपभोक्ता कर कटौती, निर्यात प्रवर्द्धन प्याकेज र श्रम सुधारजस्ता उपायहरू अघि सारेको छ ।

हालै प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन संवादसमेत गरेका थिए । यसअघि अमेरिकी व्यापार प्रतिनिधिमण्डलले भारत भ्रमण गरेको थियो ।

यसैबीच, अमेरिकाले भारतलाई आफ्ना वस्तुहरूमा भन्सार तथा गैर–भन्सार अवरोध घटाउन र सोयाबिन तथा ज्वारलगायत कृषि उत्पादनका लागि भारतीय बजार खुला गर्न दबाब दिइरहेको छ ।

सरकारी तथ्यांकअनुसार नोभेम्बरमा सेवा क्षेत्रको निर्यात ३५.८६ अर्ब डलर र आयात १७.९६ अर्ब डलर अनुमान गरिएको छ ।

यस आधारमा सेवा व्यापारमा भारतले करिब १७.९ अर्ब डलरको अधिशेष हासिल गरेको रोयटर्सले गणना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्